भारतका ओडिशा राज्यको बलांगिर जिल्लास्थित पाटनगडमा विवाहपछि भएको रिसेप्शन पार्टीमा प्रदान गरिएको पार्सल गिफ्ट विष्फोट हुँदा बेहुला र उनकी दिदीको मृत्यु भएको छ । बेहुली गम्भीर घाइते भएकी छन् ।
बैंलोरमा सफ्टवेर इञ्जिनियर रहेका सौम्य शेखरको १८ फेब्रअरीमा सोनपुर नजिकको एक इलाकामा रीमासँग विवाह भएको थियो । त्यहीँ पाटनगडमा २० तारिखमा रिसेप्शन पार्टी राखिएको थियो ।
पार्टीपछि गिफ्टहरु खोल्ने क्रममा विष्फोट भएको थियो, जसमा बम राखिएको थियो । विष्फोटबाट शेखरसहित उनकी दिदीको मृत्यु भयो ।
बेहुली रीमा पनि गम्भीर छन् । उनको संबलपुरको बुर्ला मेडिकल कलेजमा उपचार भइरहेको छ ।
रायपुरबाट आएको थियो पार्सल
घटनाको अनुसन्धानमा प्रहरी टोली परिचालित भएको छ । प्रहरी उपरीक्षक शिवा सुब्रमनीले बीबीसीलाई भनेका छन्, ‘क्षेत्रीय फोरेन्सिक ल्याबोटरीको टोलीले विष्फोटको जाँच गरिरहेको छ ।’
सुब्रमनीका अनुसार दुई विशेष अनुसन्धान टोली छत्तिसगढ र बैंलोर पनि पुगेको छ । यद्यपि, उक्त पार्सल रायपुरबाट आएको प्रहरीलाई सुराकी मिलेको छ ।
पुलिसले कुरियर कम्पनीको माध्यमबाट छत्तिसगढमा अपराधीसम्म पुग्नका लागि कोशिश गरिरहेको छ । अर्कोतर्फ प्रहरीले बैंलोरमा पनि एक टोली पठाएको छ, जहाँ शेखर काम गर्थें ।
यस घटनालाई लिएर स्थानीय पनि आक्रोशित छन् । उनीहरु शनिबार शेखरको मृत शरीरलाई सडकमा राखेर धर्नामा बसेका थिए ।