प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले किसानको नाममा आएको अनुदान रकम दुरुपयोगमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गरेको छ । काँग्रेसद्वारा गठित कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले विहीबार विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कानूनी कारवाहीको जोडदार माग गरेका हुन् ।
उनले विश्व बैंकमार्फत किसानको नाममा आएको ठूलो अनुदान रकम दुरुपयोग भएको प्रमाणित हुँदा पनि त्यसमा संलग्न व्यक्तिहरुलाई कारवाही नभएकोप्रति गम्भीर ध्यानाकर्षण बताए । विज्ञप्तिमा भनिएको छ, ‘विश्व बैंकको सहयोगमा सञ्चालित व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको व्यापक अनियमितताको विश्व बंैकले आफै छानविन गरी दोषीलाई कारवाही गर्न नेपाल सरकारका अर्थ मन्त्रीलाई पठाएको पत्रले देशको गरिमामा नै आँच आएको छ ।’
किसानको नाममा आएको ठूलो अनुदान रकम राजनीति पुहँचको आधारमा आफ्ना निकट व्यक्तिहरुलाई वितरण गरिएको र नक्कली कृषि फर्म देखाएर लाभ लिने जस्ता घृणित कार्यको विश्व बैंकको अनुसन्धानले पुष्टि गरेको उनको भनाइ छ ।
तर सरकारले यस विषयमा छानविन गरेर दोषीलाई दण्डित गर्ने अग्रसरता नदेखाउनु सरकार दोषीलाई बचाउनेतर्फ लागि परेको प्रष्ट उनले देखिएको बताए ।
‘स्वयं विश्व बैकले कृषि क्षेत्रमा गरेको सहयोगमा भएको व्यापक अनियमितता तथा भ्रष्टचार गर्ने पदाधिकारीहरुको नाम समेत किटानी गरी कारवाहीको लागि नेपाल सरकारको ध्यान आकृष्ट गर्दा पनि हालसम्म पनि दोषीहरुलाई कारवाही गर्न नसक्नु सरकारको निकम्बापन हो,’ विज्ञप्तिमा भनिएको छ, ‘एकातिर किसानहरुलाई सयममै आवश्यक मलखाद, वीउ विजनहरु उपलब्ध गराउनु नसक्नु, अर्कोतिर भ्रष्टचारमा लिप्त हुनु, सरकारको यस किसिमको गैरजिम्मेवार र लज्जास्पद कार्यको घोर भत्र्सना गर्दछौं ।’
दातृ नियकाबाट प्राप्त हुने अनुदानलाई सही रुपमा सदुपयोग गर्न र भ्रष्टचार तथा अनियमिततालाई नियन्त्रण गर्न सरकारलाई काँग्रेसले सचेत गराएको छ ।