तेह्रथुम – चर्चामा रहेको तेह्रथुम छथर गाउँपालिका सुदापमा रहेको चाङलुङ गुफाको संरक्षण र अनुसन्धान नहुँदा ओझेलमा परेको छ । गुफैगुफा भएको चाङलुङ गुफाको संरक्षण र अनुसन्धान हुन सके प्राकृतिक सम्पतिको संरक्षणसँगै सरकारको दिगो आर्थिक स्रोतको रूपमा विकास हुने देखिन्छ । संरक्षणको काम शुरू गरिएपनि पर्याप्त बजेटको अभावले नियमितता पाउन सकेको छैन ।प्राकृतिक रूपमा अनौठो देखिने तेह्रथुम छथर गाउँपालिका ६ सुदापमा रहेको गुफैगुफा भएको चाङलुङ गुफा संरक्षण र अनुसन्धानको पर्खाइमा रहेको छ । साविक सुदाप गाउँ विकास समिति वडा नम्बर ९ मा रहेको गुफा क्षेत्रले करिब ३६ रोपनी बढी क्षेत्रफल ओगटेमा पनि सीमाना कायम गर्न सकेको छैन, स्थानीय तुलसी पौडेलले भने ‘संरक्षण र प्रचार प्रसार गर्न सके स्थानीय सरकारको आर्थिक स्रोतको माध्यम बन्न सक्छ ।’
गुफा भित्रबाट निस्कने प्राकृतिका ग्यासको अनुसन्धान हुन सकेको छैन । गुफाभित्र विभिन्न गुफा देखिन्छन् अध्ययन हुन सकेको छैन । गुफा भित्रको गुफा र यसको बारेमा अध्ययन गरी वास्तविकता पत्ता लगाउन तालिम प्राप्त अनुसन्धानकर्ता आवश्यक छ, गुफा अबलोकन गर्न पुगेका इलाम पासर राई भने प्राकृतिक सम्पतिको रूपमा विकास गर्न सकिन्छ ।’
गाउँको बीचमा रहेको गुफा क्षेत्रको बनोट आश्चार्य लाग्दो आर्कषक देखिन्छ । गुफाको माथिल्लो भागमा ढुङ्गाको चाङ लागेर आफै बनेको भ्यूटावरलाई थप मर्मत गरेर गुफा आसपासको क्षेत्र हेर्न टावरको निर्माण थालिएको छ । टावरसम्म पुग्न केही ठाउँमा फलामे भर्याङ राखिएपनि भर पर्दो देखिदैन । अवलोकनकर्ताको सुरक्षाको लागि घेरबारा र आवश्यक भर्याङको निर्माण हुन सकेको छैन । सुरक्षाको अभावले चाहेर पनि अवलोककर्ताले गुफाको सबै क्षेत्र घुम्न सकिने अवस्था नभएको गुफा संरक्षण समितिको भनाई छ ।
गाउँपालिकाले ७ लाख लगानीमा गुफा क्षेत्रको संरक्षणको काम थालेपनि बजेट पर्याप्त नहुँदा पूर्वाधारको निर्माण भई सकेको छैन । अवलोकनकर्ता घुम्ने बाटो, बस्ने ठाउँ र गुफा भित्र बक्तिको व्यवस्थापन थालिएपनि आवश्यक बजेट अभावले काम पुरा हुन नसकेको गाउँपालिका अध्यक्ष सन्तबीर लिम्बुले बताए । उनले गुफा संरक्षण र विकास गर्न आवश्यक स्रोतको खोजी गरेर काम गर्ने जनाए ।
अहिले गुफा क्षेत्रसम्म पुग्न सकिने कच्ची बाटो निर्माण भएको छ । हिउँदको समयमा भने साना ठूला दुबै खालको सवारी साधनमा गुफासम्म पुग्न सकिन्छ । यसका लागि दूईवटा बाटा छन् । जिल्ला सदरमुकाम म्याङलुङदेखि करिब ५ घण्टा पैदल हिडेर पनि पुग्न सकिन्छ । यस्तै म्याङलुङ धनुकटाको सिधुवादेखि छथर गाउँपालिकाको केन्द्र छथर शुक्रबारे बजारहुँदै पुग्न सकिन्छ ।