धर्म निरपेक्षताकोे शाब्दिक अर्थ धर्म प्रति सापेक्ष नरहनु भन्ने नै हो । अर्थात धर्मसँग सम्बन्ध तोड्नु भन्ने हो । संसारको मानव चरित्रलाई हेर्दा अधिकांक्ष मानिसले कुनै न कुनै धर्मलाई अंगालेको हुन्छ । मानवता र धार्मिकताको सम्बन्ध अन्योन्याश्रीत रुपमा रहेको हुन्छ । यस अर्थमा हेर्दा केही अपवाद वाहेक मानिस कुनै पनि हालतमा धर्म निरपेक्ष हुन सक्दैन कुनै न कुनै धर्मको सापेक्षतामा मानिसले जीवन चलाइरहेको हुन्छ । धर्म र मानव समाज वा समुदायको बीचमा गहिरो सम्बन्ध रहेको पाइन्छ । नेपालमा अहिले चलेको धर्म निरपेक्षता र सापेक्षतको बहस मानिसले धर्म मान्ने की नमान्ने धर्म र मानिस बीचको सम्बन्ध कस्तो हुने भन्ने बिषय होइन । राज्यको धर्म हुने की नहुने भन्ने बिषय हो । कुनै पनि धर्मलाई राज्यले आफ्नो चरित्र वा राज्यको पहिचानको रुपमा अंगिकार गर्ने की नगर्ने भन्ने नै हो ।
बिश्वमा आइरहेको परिवर्तन र बिकास क्रमलाई हेर्दा राज्यको धर्म हुनु हुदैन भन्ने अभिमत आधुनिक र बिकसित अभिमतको रुपमा आएको देखिन्छ । धर्मको आडमा राज्यले गर्ने र गरेको ज्यादती पाप मोचन पत्र खरिद गरेर मोक्ष प्राप्त गर्ने जस्ता राज्यको आडमा हुने कुरीतीयुक्त धार्मीक सस्कार आदि आदी पुरातन सोचको बिरुद्धमा आधुनिक मान्यताको रुपमा धर्म निरपेक्षताको बिकास भएको देखिन्छ । यस आधारमा भन्ने हो भने धर्म सापेक्षता अतिवादी र पुरातन चिन्तन हो भने धर्म निरपेक्षता आधुनिक र लोकतान्त्रीक चिन्तन हो । धर्म सापेक्षताले एउटा धर्मलाई पृष्ठ पोषण गरी अरु धर्मलाई दोस्रो दर्जामा राख्ने दवाउने मसाउने अभियान संचालन गर्दछ । अफगानिस्थान र पाकिस्थानमा तालिबानले मुस्लिम धर्म सापेक्षताको लागी चलाएको आन्दोलन र इराक र सिरियामा आइ एस ले चलाएको इस्लामीक राज्यको अभियान र नाइजेरीयामा बोको हरामले इस्लामीक धर्म सापेक्ष शासन हुनुपर्छ भनी चलाएको आन्दोलन यसै कोटीमा पर्दछन् ।
धर्म निरपेक्षता आधुकि लोकतान्त्रीक अवधारणा हो । धर्म निरपेक्षताले धर्म प्रति राज्यको लगानी र संरक्षणलाई हटाएर जनताको चाहाना बमोजिम जनताले आ–आफ्नो धर्म सस्कृती मान्ने पाउने राज्यबाट धर्मको नाममा कुनै विभेद नहुने अवस्थाको सिर्जना गर्दछ । त्यसैले धर्म नेपालमा धर्म निरपेक्षता हुनुपर्छ भनी आवाज उठीरहेको छ । नेपालमा हिन्दु, बौद्ध, इश्लाम, क्रिश्चियन, किरात लगायत लगायत दशौं धार्मीक समुदायका मानिसहरुको बसोबास रहेको छ । धर्म निरपेक्षताको माध्यमबाट नै यी सबै धर्म प्रति न्याय गर्न सकिन्छ ।
हाम्रो देशमा धर्म निरपेक्षता हुनु हुदैन ८० प्रतिशत हिन्दुहरुको बसोबास भएको नाताले नेपाल हिन्दु धर्म सापेक्ष हुनुपर्छ भन्ने मत र देशको धर्म हुनु हुदैन । धर्म त जनताले मान्ने हो त्यसैले धर्म निरपेक्ष हुनुपर्छ भन्ने मतको बिचमा चर्को र पेचिलो बहस चलिरहेको छ । असत्यको बिरुद्धमा अन्त्यमा आखिरमा सत्यको जित हुन्छ हुन्छ । यसै मेसोबाट बिश्लेषण गरिहेर्दा निश्चय नै सत्यको जित हुने नै छ, धर्म निरपेक्षताको जित हुने नै छ ।
हिन्दु धर्मलाई राज्यको धर्म बनाइनु पर्छ भन्ने मत र बनाइनु हुन्न भन्ने मत चलिरहेको अवस्थामा हाम्रो देश हिन्दु धर्म सापेक्ष कहिलेबाट भयो भन्ने बिषयमा थाहा पाउनु र कस्तो परिस्थितीमा देशलाई धर्म सापेक्ष बनाइयो भन्ने थाहा पाउनु जरुरी हुन्छ । नेपालको कानूनी इतिहास हेर्दा राम शाहले बाँधेको थीति त्यसपछि बि.सं.१९१० मा जंगबहादुर राणाले जारी गरेको मुलकी ऐनको मुलभुत आधार हिन्दु धर्म नै थियो । धर्मको आडमा जात बिभाजन गरी जातीय आधारमा एउटै अपराधमा हुने फरक फरक सजायको ब्यवस्थाले राम शाहको तीथी र जंगबहादुरको मुलुकी ऐन हिन्दु धर्मको आडमा बनेको हो भन्ने प्रष्ट हुन्छ । यसरी ऐन हिन्दु धर्मको आडमा बनेकोले नेपालमा बसोबास गर्ने बिभिन्न जातिलाई धार्मीक आधारमा नै सजाय हुने ब्यवस्था थियो । जस्तो की एउटै प्रकृतीको अपराधमा ब्राह्मण जातीलाई चारपाटा मुड्दा बैश्य सुद्र भनिने जातिलाई गिड्ने वा मृत्यू दण्ड दिने सजायको ब्यवस्था यसका उदाहरण हुन् ।
यसरी धर्मको आडमा बिभेद गरी कानून बनाएकोे भएपनि सिंगो देशलाई हिन्दु धर्मको देश अथवा देशको धर्म नै हिन्दु हो भनी घोषणा गरेर अन्य धर्मावलम्बी नेपालीको भावनामा चोट पु¥याउने कार्य भने निरंकुश भनी कहलिएका राणा शाहीले पनि गरेको थिएन । नेपालको संबैधानिक इतिहास हेर्दा नेपालको अन्तिरिम शासन बिधान २००४ देखि यता २०१५ साल सम्म बनेको जम्मा ४ वटा संबिधानहरुमा देशलाई हिन्दु भनी उल्लेख गरिएको थिएन अर्थात देशको धर्म हिन्दु हुने भनी उल्लेख गरिएको थिएन । जब राजा महेन्द्रले २०१७ सालमा जनताबाट निर्बाचित नेपाली कांग्रेसको नेतृत्वको सरकारलाई अपधस्त गरी देशलाई निरंकुशता तिर फर्काउने प्रतिगामी कदम चाले उनको सो कदमलाई भारतका हिन्दु समुदाय र नेपालका सिधा साधा हिन्दु समुदायबाट समर्थन जुठाउनका लागी २०१९ सालमा नयाँ संबिधान जारी गरी देशलाई हिन्दु अधिराज्यको रुपमा घोषणा गरेका हुन् । यस अर्थमा हेर्दा धर्म सापेक्षाको नाता अतिवाद फाँसीवाद र प्रतिगमनसँग नजिक रहेको प्रष्ट हुन्छ । आफ्नो प्रतिगामी कदमलाई रक्षा गर्ने वा पुष्ट्याई गर्ने कार्यमा राजा महेन्द्र केही हद सम्म सफल नै भएपनि जनताको बीचमा समानता र न्याय प्राप्तीको चाहाना धर्म निरपेक्षता प्रतिको चाहाना मरेको थिएन ।
नेपाली जनताको प्रजातन्त्र प्रतिको उत्कट चाहानाले नेपालमा पुन आन्दोलन भई २०४६ सालको जन आन्दोलनको सफलता पछि २०४७ सालमा नेपाल अधिराज्यको संबिधान २०४७ जारी हुँदा पनि देशलाई धर्म निरपेक्ष बनाउनको लागी ठुलो बहच चलेको थियो । खास गरी कम्यूनिष्ट बिचारधाराबाट प्रशिक्षित राजनैतिक पार्टीहरुले धर्म निरपेक्षताको पक्षमा वकालत गरेका थिए । राजनैतिक पार्टी र राजाको बीचमा भएको संझौताको आधारमा बनेको उक्त संबिधानमा नेपालमा हिन्दू संबैधानिक राजतन्त्र रहने राजा हुनलाई हिन्दु मलकै हुनु पर्ने भन्ने प्रावधान रहेकोमा षणयन्त्रपूर्ण ढंगले हिन्दु र संबैधानिक भन्ने शब्दको बीचमा कमा राखेर देशलाई नै हिन्दु बनाइयो । अर्थात देशको धर्म नै हिन्दु हुने ब्यवस्था गरियो । यो जनतामाथि गरिएको धोका षणयन्त्र र प्रतिगामाी कार्य थियो ।
नेपालमा रहेको सामन्ती अतिवाद लगायतको जातिय धार्मीक सास्कृतीक भाषिक लैंगिक क्षेत्रिय जस्ता सबै खाले बिभेद र अतिबादको बिरुद्धमा आन्दोलन गरी सबै नेपाली जनतालाई समान अधिकार दिने भनी नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको जनयुद्ध र नेपालको सबै लोकतान्त्रीक पार्टीहरुको सहभागितामा चलाइएको २०६२÷२०६३ को आन्दोलनको सफलता पछि नेपाललाई नेपालमा बनेको नेपालको अन्तरिम संबिधान २०६३ ले हाम्रो देश नेपाललाई पुनः संबैधानिक रुपमा नै धर्म निरपेक्ष मुलुकको रुपमा घोषणा गरेको थियो । धर्म निरपेक्ष मुलुकको रुपमा नेपाल ९ बर्ष सम्म रहयो । मुलुक धर्म निरपेक्ष भएको नौ बर्षको अवधी सम्म देशबासीले साँचो अर्थमा धर्म निरपेक्षताको अनुभुती गर्न बाँकी थियो । बिस्तारै धर्म निरपेक्षता ब्यवहारमा लागु हुँदै यसले पूर्णता पाउने अवस्था चलिरहेको अवस्थामा मुलुकको धर्म निरपेक्षतालाई हटाउनु पर्छ भन्ने प्रतिगामी र अतिवादी आवाज समाजको केही कुनाहरुबाट उठेन थाल्यो । खासगरीकन परम्पराबादी सोचले ग्रसित तथा पुरातन बिचार बोकेका पार्टीहरु बाट यो आवाज उठीरहेको थियो । धर्म निरपेक्षताले हिन्दु धर्मलाई असर गर्छ । क्रिश्चियन धर्मको हाली मुहाली हुन्छ । धर्म निरपेक्षता भनेको धर्म परिवर्तन हो । जसले नेपालीको अस्तित्व र पहिचान सहितको हिन्दुत्व माथी नकारात्क असर गर्छ भन्ने जस्ता भ्रामक प्रचार प्रसार गरी सोझा सिधा हिन्दु धर्मावलम्बी दाजु भाई दिदी बहिनीहरुलाई भड्काएर आफ्नो राजनैतिक स्वार्थ पुरा गर्ने खेल समेत खेलियो । वास्तबमा धर्म निरपेक्षता हिन्दु धर्म र हिन्दुत्व माथिको प्रहार होइन । धर्म निरपेक्षताले जति हिन्दु धर्म लगायत सबै धर्मलाई सम्मान र आदर गर्दछ एकात्मक हिन्दु धर्म सापेक्षताले त्यो भन्दा धेरै असम्मान र अनादर गर्दछ किननी धर्म सापेक्षताले धर्म धर्मको बिचमा बिभेदको सिर्जना गर्दछ । बिभेद भनेको बिभेद नै हो जसले स्वयममा अन्यायको चरित्र बोकेको हुन्छ । त्यसमा पनि धर्म जस्तो जनताको भावनासँग जोडिएको बिषयमा बिभेद हुनु भनेको झनै कठोर अनि मानव अधिकार बिरोधी कार्य हो । यति हुँदा हुँदै पनि नेपालको संबिधान २०७२ ले नेपालमा नौं बर्ष सम्म रहेको धर्म निरपेक्षतालाई हटाएर यो देशलाई पुनः घुमाउरो पाराले हिन्दु धर्म सापेक्ष बनाएको छ । धर्म निरपेक्षता भन्ने शब्द आफैमा प्रष्ट भई यसको ब्याख्या र स्पष्टिकरणको गुन्जायस नहुँदा नहुँदै पनि यसको ब्याख्या गरेर सनातन रुपमा चलेको धर्मको संरक्षण अरुलाई स्वतन्त्रता दिने गरी संबिधानमा ब्यवस्था गरी फेरी एक पटक कानून निर्माण गरेरै नेपालमा बसोबास गर्ने गैर हिन्दु धर्मावलम्बी समुदाय माथि अन्याय गरिएको छ । आखिरमा यसले हिन्दु धर्मावलम्बी समुदायको पनि अहित नै गर्नेछ । नेपाली जनताले पटक पटक गरेको आन्दोलनबाट प्राप्त उपलब्धीलाई सस्थागत गर्दै प्रगती परिवर्तन बिकासको बाटोमा लाग्नु पर्नेमा पटक पटक पछाडी फर्किने पश्चगामी कदम चालिएको छ । यो कदम गलत छ लोकतन्त्र बिरोधी छ जनभावना बिपरित छ । त्यसैले यो कदमलाई सच्याएर देशलाई साँचो अर्थमा धर्म निरपेक्ष मुलुक बनाउनु पर्छ । देशको धर्म नहुने देशबासी जनताको मात्र धर्म हुने साश्वत सत्यलाई सबैले स्वीकानुपर्छ । धर्म निरपेक्षताबाट फर्र्र्र्किएर घुमाउरो बाटो मार्र्फत धर्म सापेक्षतामा आउनु एउटा उदाहरण मात्र हो । हाम्रो देशले आफ्नो जनतालाई अधिकार दिनबाट बन्चित गर्न खोजेको अरु पनि धेरै सन्दर्भहरु छन् । देशलाई बलियो बनाउन जनता बलियो बनाउनुपर्छ । जनता बलियो बनाउनका लागी जनतालाई अधिकार दिनु पर्छ । अधिकार बिहिन लुते अन्यायमा पिल्सिएका उत्पिडीत जनताले देशको रक्षा गर्न सक्दैन, राष्ट्रियताको रक्षा गर्न सक्दैन ।