प्रश्नहरुको मट्याङ्ग्रा


साङसेन पङधाक  518 पटक हेरिएको

ए…मेरो बिद्रोही आदाङबा
तिमी कसैको मुठी भित्र छौ,
या घेरीएका छौ झण्डाहरुको भालाहरुबाट,
या आफैले आफैलाई कैदी बनाएर
गाइ रहेका छौ गुलामी गीतहरु,
तिमी यसरी कैदी नभएको भए
पाइतालाहरुले
जमिन टेके जस्तै
किन तिम्रो नै दिमाग टेकेर उभि रहन्छ
राष्ट्रवादको पुरानो कथा…?
आस्थाहरुको डोरीमा
झुण्डिएर किन आत्महत्या गरी रहन्छ
तिम्रो मान्छे बन्ने सपनाहरु…?
बादशाहहरुको भाषणले
किन शिकार गर्छ तिम्रो मौलिक विचार,
तिमी त भुमी पुत्र
कसरी सुकुमबासी भयौ आफ्नै आँगनमा……?
आदाङबा ………
तिम्रो कन्चटमा कसैले
बन्दुक ताकी रहेको छ।
या कसैले गर्धनमा
राखि रहेको छ पृथ्वीनारायण शाहको तरवार ,
या कसैले तिम्रो हातमा लगाइ रहेको छ हतकडी,
आदाङबा……
कि तिमीलाई सिंहले अर्ना लखेटे जस्तै
पत्रकारहरुले लखेटि रहेको पनि हुन सक्छ।
या जंगलको बीचमा ब्वाँसोहरुले हरिण
लखेटे जस्तै सत्ताले लखेटि रहेको पनि हुन सक्छ।
यदि होइन भने
एउटा छेपारोको मुखबाट
फुत्कि रहेको पुतली जस्तै
तिमीलाई पनि बिचारहरुको कारागारबाट
फुत्त फुत्कन मन पर्दो हो,
यस्तो बेला शासकहरुको छातीमा प्रश्नहरुको मट्याङ्ग्रा
दन्काउनु मन पर्दो हो,
या शासकहरुको शीर बुडा सुब्बाको बाँस जस्तो
बनाउन झोँक चल्दो हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार