इलाम-नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले झगडाले लोकतन्त्र धरापमा पर्न नहुँने बताए । नेपाल पत्रकार महासंघ इलामको १६ औं साधारण सभामा राष्ट्रियताको खबरदारी गर्नु पत्रकारको दायित्व भएको बताउँदै झगडाले लोकतन्त्र धरापमा पर्न नहुँने तर्क राखे ।
अध्यक्ष आचार्यले पत्रकारकोे दायित्व राष्ट्रियता, नागरिकको हित र आफ्नो पेशागत हकहितको बिषयमा लेख्दै, पत्रकारको प्रमुख दायित्व राष्ट्रियताको विषयमा खबरदारी गर्नु रहेको बताए ।
लडेर ल्याएको प्रेस स्वतन्त्रतामाथि कुण्ठित हुन नदिन पत्रकार आफै लाग्नु पर्नेमा जोड दिदै आचार्यले प्रेसका लागि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले लोकतन्त्र बाहेक अन्य परिस्थितिमा स्वातन्त्र प्रेस नहुँने उल्लेख गरे ।
परिवर्तन र विकासका सवालमा निरन्तर खबरदारी गर्नु प्रेसको दायित्व भएको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले बताए । उनले सञ्चरकर्मीको समस्यालाई सम्बोधन गर्न सरोकारवाला लाग्नुपर्नेमो जोड दिए ।
पत्रकारिता स्वच्छ, निष्पक्ष र मर्यादित हुनुपर्नेमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए उनले प्रेसले गल्ती गरेमा समाजमा दुर्घटना हुने भन्दै सजग र सक्षम भएर पत्रकारिता गर्न सुझाए ।
महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले अझैपनि पत्रकारले श्रम अनुसारको पारिश्रमिक नपाउने गरेको बताउँदै, श्रमको उचित कदर हुनुपर्नेमा जोड दिए । महासंघका अर्का उपाध्यक्ष दिलीप थापाले राज्यका महत्वपूर्ण आन्दोलनमा प्रेसको भूमिका मुख्य रहने भएकोले सञ्चारकर्म लोकतन्त्रको पक्षमा रहने बताए ।
महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश बस्नेतले आवाजविहिनको आवाज बाहिर ल्याउन प्रेस सधै लडिरहने विश्वास व्यक्त गरे । पत्रकार महासंघ प्रेदश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकार सधै विधिको शासनको पक्षमा बोल्ने बताए । उनले कोरोनापछि प्रेसपनि बचाउन गाह्रो भएकाले तीनवटै तहका सरकारकले सहयोग आवश्यक परेको बताए ।
पाँच लाख ९६ हजार बढिको आयव्यय प्रस्तुत
पत्रकार महासंघले पाँच लाख ९६ हजार चार सय सात रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेको छ ।
महासंघले क्रियाशील महिला पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले ५० हजार रुपैयाँ राशिको स्थापना गरिएको छ ।
इलाम नगरपालिकाबाट २५ हजार रुपैयाँ र शाखाको तर्फबाट २५ हजार रुपैयाँबाट कोष सुरु गरिएको जनाइएको छ ।
कोषबाट नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशील एक पत्रकार महिलालाई १० हजार रुपैयाँ राशिको सो कोषबाट पुरस्कृत गरिने छ ।
कोषका लागि महासंघको साधारणसभाको अवसरमा पत्रकार महासंघ शाखाकी केन्द्रीय पार्षद रीता राराहाङ राईले पाँच हजार पाँच सय ५५ रुपैयाँ घोषणा गरेकी छिन् ।
महासंघका सचिव ख्याम भुजेलका अनुसार कोष वृद्धि कार्यविधि व्यवस्थापन लगायतका कामका लागि कार्यसमिति सदस्य वुद्धमाया सोङ्मीको संयोजकत्वमा महासंघ जिल्ला शाखा उपाध्यक्ष कौशिला राई र कार्यसमिति सदस्य विनय तिम्सिना सदस्य रहेको उपसमिति गठन गरिएको छ । सचिव भुजेलका अनुसार कोषलाई वृद्धि गरेर निकट भविष्यमै दुई लाख रुपैयाँ पुर्याउने योजना छ ।