इलाममा १७ सयलाई कोरोना विरूद्धको खोप दिइने


सेवारो खबर  420 पटक हेरिएको

इलाम – कोराना विरूद्धको खोप इलाममा १७ सयलाई दिइने भएको छ । माघ १४ गते बुधबारदेखि प्रथम चरणकोे खोप जिल्लाको तीन स्थानबाट दिइने जनस्वाथ्य कार्यालयले जनाएको छ । खोप बिहान साढे ९ बजेदेखि लगाइने छ ।

१८ बर्ष माथिकालाई इलाम अस्पताल, सूर्योदय नगरपालिकाको फिक्कल प्राथमिक स्वाथ्य केन्द्र र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक स्वाथ्य केन्द्रबाट खोप दिइने बताइएको छ ।

खोपको पहिलो डोज लगाएपछि दोस्रो डोज चार हप्तापछि लाएपछि मात्र खोपको मात्रा पुरा हुने जनाइएको छ ।

कोभिशिल्ड नामक कोरोना बिरूद्धको खोप जिल्लाको सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रमा कार्यरत स्वथ्यकर्मी, सहयोगी कर्मचारी, सामुदायिक स्वाथ्य स्वयंम सेविका, पालिकाद्धारा नियुक्त सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वहान चालक, सहचालक र कोरोना भाइरस (कोभिड–१९) रोगबाट मृत्यू भएकाको सव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप दिइने जनस्वाथ्य प्रमुख बृजकुमार दासले जानकारी गराए ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँने एन्टीबडीको निर्माण गर्ने खोप अन्य खोप जतिकै सुरक्षित भएको प्रमुख दासले बताउँदै उनले भने ‘बाहिर सुनेको जस्तो खोपमा कुनै समस्या छैन । अन्य खोप जतिकै सुरक्षित छ । आउँनुहोस हामी लगाएर देखाउँछौ अनि तपाई खोप लगाउँनुहोस ।’

गर्भवती, स्तनपान गराउँने आमा, गर्भको योजना बनाइराखेको, कोरोना भाइरस (कोभिड–१९) को सक्रिय संक्रमणपछि ८ हप्ता ननाघेको अवस्था भएको, प्लाज्मा थेरापी दिइएका कोभिडका बिरामी, कुनै पनि गम्भीर बिरामी, रक्त स्राव हुने वा रगतमा रगत रोकथाम गर्ने तत्वको कमि भएकाले खोप लिन नमिल्ने जनाइएको छ ।

पहिला कोभिड संक्रमण भएका व्यक्ति, दिर्घ रोग जस्तै मुटु, मस्तिष्क, फोक्सो, मृगौला रोग र क्यान्सर रोग भएका, रोग प्रतिरक्षा कमी वा एचआइभी एड्स, रोग प्रतिरोधात्मक औषधी सेवन गरिरहेकाले चाहीँ खोप लिन मिल्ने जनस्वाथ्य कार्यालयले जनाएको छ ।

खोप लगाइसकेपछि सुई लगाएको ठाँउमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, थकाई र आलस्य महशुस हुने, ज्वरो वा टाउको दुख्ने, वाकवाकी हुने, माशंपेसी वा जोर्नी दुखाई, वान्ता आउने, फ्लुको जस्तो लक्षण देखिनु, ज्वरो आउने, घाँटी दुख्नु, खोकी लाग्ने सामान्य समस्या देखिन सक्ने जनाइएको छ ।

इलाममा छ हजार नौ सय ११ जनाको पिसिआर गरिएको छ । जस मध्ये दुई सय ९६ जनाको पोजेटिभ देखिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार