लिम्बू जाति र मुन्धुम दर्शन


मोहनसिंह थेबे लिम्बू  345 पटक हेरिएको

पृष्ठभूमीः
नेपालको सुदूरपूर्वी भू–भागमा बसोवास गर्ने आदिवासी जनजातिहरू मध्ये लिम्बू समुदाय एक हो । लिम्बू जातिको आख्यानका गाथाका अनुसार अनादिका कालदेखि वर्तमानसम्म निरन्तर बसोवास गरेको भू–भागलाई लिम्बुवान(याक्थुङ लाजे) भनिन्थ्यो र भनिन्छ । लिम्बू जातिको मौलिक परम्परा, सस्कृति, संस्कार श्रुती परम्परा अनुसार आजसम्म जीवित रहेको छ । गर्भ अवस्थादेखि मृत्यूपर्यन्तसम्म गरिने संस्कार तथा संस्कृति अरू आदिवासी जनजाति भन्दा आधारभूत भिन्नता पाइन्छ । लिम्बु जातिको आफ्नै भाषा, आफ्नै लिपी र संगीतका छन्दहरू जीवित छन् । यस क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आएका याक्थुङबा जातिलाई १९ औं सताब्दिदेखि लिम्बू नामाकरण भएको लिखित इतिहासहरूले पुष्टी गर्दछ ।

विषय प्रवेशः
लिम्बू जातिहरू आफूलाई याक्थुङ्बा भन्दछ । लिम्बू जाति भित्र पनि विभिन्न थर उपथरहरूको संगठित नाम नै याक्थुङ्बा हो । याक्थुङ्बाहरूको आफ्नो संस्कार, संस्कृति जस्ता पक्षको निरन्तरता दिनु मूल मार्ग नै मुन्धुम हो । मुन्धुम एउटा दर्शन, सिद्धान्त र विधि हो । मुन्धुममा सीमा कोरिएका आधारभूत मूल्य र मान्यतालाई आत्मसाथ गर्दै यो समुदायको दैनिक दिनचर्या चलिरहेको छ । मुन्धुमलाई चलायमान गतिशिल बनाउँने व्यक्ति वा क्षेत्र अन्तर्गत फेदाङमा÷बा, येबा÷येमा, साम्बा र तुम्याहाङहरू प्रमुख सम्मानित पात्रहरू हुन । यीनै पात्रहरूले मानव विकासक्रमको शुरूवात देखि वर्तमान समयसम्मको अनुसरण गर्नुपर्ने वर्जित गरिएका पक्षहरूको आख्यानहरू सुनाउँने र सुन्ने गर्दछन् ।

याक्थुङबाहरूको मुन्धुममा विभिन्न मानव जीवनसँग गाँसिएका घटना परिघटना र त्यसबाट मोचन प्राप्त गर्नको लागि कार्य सम्पादन गर्ने प्रक्रियाहरू समेटिएको छ । मुन्धुमका क्षेत्रगत घटना र परिघटनाको प्रशंग र परिवेशलाई सबिस्तार गाथाको रूपमा आख्यानात्मक वाचकहरू नै साम्बा, येबा, फेदाङ्बा हुन । फेदाङबा, साम्बा येबाको आख्यान तथा वाचनको सीमारेखाको मूल्याङ्कन समिक्षा र पृष्ठपोषणको भूमिका निर्वाह गर्ने नै तुम्याहाङ हुन ।

मुन्धुमलाई वर्गिकृत गरी हेर्दा धेरै शाखाहरू उपशाखाहरू निर्माण भएका र निर्मित शाखा तथा उपशाखामा केन्द्रित रही संस्कार, संस्कृति तथा धर्मको कार्य सम्पादन गर्दछन् । यीनै शाखाहरू अन्तर्गत तङ्सिङ तक्मा मुन्धुम, नाहेन खमा, केङ पोक्मा मुन्धुम, कुसङहिम चोक्मा मुन्धुम, सोः नेतः योमा मुन्धुम, युमःसा नाक्मा मुन्धुम, माङ्गेन्ना चोक्मा मुन्धुम, याङदाङ फोङ्मा मुन्धुम, साप्पोक चोमेन चोक्मा मुन्धुम, खाःउमा मुन्धुम, सामःसामा मुन्धुम, मिक्वा तुक्मा मुन्धुम, मिसाम मुन्धुम, मेक्खिम खमा÷लक्मा मुन्धुम, मेक्खिम लाम्दाक मुन्धुम, खाम इङ्मा मुन्धुम, चेधाप लप्मा मुन्धुम, इप्पलुङ चोक्मा मुन्धुम, साम लप्मा मुन्धुम, याःलाक मुन्धुम, हाक्पारे साम्लोमा मुन्धुम, नावाचइत मुन्धुम, मुजिङ्ना खेयङना मुन्धुम, मुरूम सिःलाङ पोक्मा मुन्धुम, येहाङ मुन्धुम, ताःफेङ चोक्मा मुन्धुम, माङ्गेन्ना मुन्धुम, यङघङ सेवा चोक्मा मुन्धुम, फुङ्वा चाङ्मा मुन्धुम, चासोक थिसोक चोक्मा मुन्धुम, याक्वा चोक्मा मुन्धुमहारू प्रमुख हुन । यी मुन्धुमहरू सिकारी कविला अवस्थादेखि सिकारी युगसम्म जीवन यापनको लागि गरिएका संर्घषका गाथाहरू प्रस्तुत भएको पाइन्छ । प्रकृति प्रकोपमा परेका जटिलताहरूबाट छुटकारा पाउँने उपायहरू तथा जंगली हिंस्रक जीव तथा जन्तुहरूबाट सुरक्षित हुने उपायहरू साथै त्यसको निराकरण गर्ने विकल्पहरू पृथक पृथक सिद्धान्तहरू स्थापित गरिएको पान्इन्छ ।

गर्भ अवस्थामा जीवन लीलाको शुरूवातीलाई संरक्षण सम्बर्धन गर्न गर्भमा रहेको बच्चा र आमाको ख्याल गर्नुपर्ने आधारभूत कुराहरू गाथाको रूपमा लयबद्ध गायन गरिन्छ । बच्चा जन्मेपछि छोरीको तीन दिन र छोराको चार दिनमा न्वारान गर्ने त्यसका सीमारेखाहरू कसरी तय भयो र किन गर्नुपर्ने साथै त्यसका प्रमुख पात्रहरू को को हुनुपर्दछ भन्ने प्रशंग समेटिएकोलाई नै साप्पोक चोमेन मुन्धुम भनिन्छ ।
किशोर अवस्थामा पुगेका युवा युवतीलाई के गर्नु हुन्छ, के गर्नु हुँदैन, के कुराको अनुसरण गर्नुपर्छ, कसरी सुरक्षित भएर अगाडि बढ्न सकिन्छ, अगाडि बढ्नको लागि के के कुराको ख्याल राख्नु पर्दछ र समकालिक साथी संगिसँग खेल्दा रमाउँदा वर्जित गरिएका र नगरिएका पक्षहरूको स्मरण गराउँने पक्ष नै माङ्गेन्ना चोक्मा मुन्धुम हो ।

इरेरे इधुक्नाको पालादेखि विवाह गर्ने चलन शुरू भएको आख्यानमा पाइन्छ । युवाको वर्तमान र भविष्य डो¥याउँनका लागि एकलबाट युगलमा के कसरी विवाह बन्धन गर्ने सो अवसरमा विवाहका चरणबद्ध प्रक्रियाहरू र कार्यान्वयन गर्ने गराउँने प्रक्रियाहरूको सरोकारवाला व्यक्तिहरूको भूमिका समेतको मूल्य मान्यतालाई नै मेक्खिम चोक्मा मुन्धुम भनिन्छ ।
मुन्धुमको आख्यान अनुसार मनुष्य मरणशील चोला हो । जीवन लीला समाप्तपछि त्यसको अत्यष्टि तथा मर्ने र बाँच्नेको सम्बन्ध विच्छेद गराउँने मृत आत्मालाई जुजु चेब्जुको स्थानमा लिन गराउँने आवश्यक प्रक्रियाहरू, विधिहरू र आवश्यक सामग्रहरू समायोजन र सञ्चालन गर्ने पात्र सहितको पक्षलाई सिःतङ्सिङ मुन्धुम भनिन्छ ।

याक्थुङबा जातिले अरूको भलो र आफ्नो भलो के कसरी, कहाँ, कहिले भन्ने प्रशंगको नालिबेली आख्यानलाई फूङवा चाङ्मा मुन्धुम भनिन्छ । यो मुन्धुममा पश्चिममा अरूण बरूण, सप्तकोशी, नदि पूर्वमा छटा रंगित, बडा रंगित, टिष्टा, बालसन मेचि नदि, उत्तरमा हिमश्रीखलाको टप्पुको पानी, दक्षिणमा समुद्रको फिंज कसरी संकलन गर्ने ती संकलित पानीको सुरक्षा कसरी गर्ने पानीलाई सुहाउँने कुन जीव राख्ने जल र जीवलाई सुहाउँने बनस्पतिहरूमा कुन रूख, कुन फूल, प्रथम हुन वा पहिलो हुन, सो बनस्पति जंगललाई सुहाउँने, कुन जनवार, कुन पंक्षि, पहिलो हुन र उनिहरूको भूमिका के के हुन । जीव जन्तु पंक्षि, जल, थलको समायोजनमा मानवको भूमिका के कस्तो, रहनु पर्दछ र सुरक्षित कसरी हुँने भन्ने आख्याननै फूङ्वा चाङमा मुन्धुम हो ।

नाहेन मुन्धुम याक्थुङ्बा समुदायको एउटा महत्पूर्ण अनुष्ठान हो । मानिसको बृद्धिसँगै लोभ लालच इष्र्या क्रोधको व्यपकतासँगसगै संर्किणतामा केन्द्रित हुँदै गएकोबाट मोचन प्राप्तिको लागि गरिने आवश्यक प्रक्रियाहरू प्रशंगहरू के किन कसरी भन्ने आख्यानको समष्टि नै नाहेन मुन्धुम हो ।

याक्थुङबा जातिले सिकारी युग पार गरी कृषि युगमा प्रवेशगर्दा घटेका घटनाहरूको प्रशंग त्यसका मुल पात्र जसले अनाजको पहिचान गर्ने, आगोको पहिचान गर्ने, साथै त्यसको उपयोगिता र नकारात्मक असरहरूमा सचेत भई अनुसरण गर्नुपर्ने निश्चित मान्याताहरूको आख्यान नै चासोक थिसोक मुन्धुम हो ।

उपसंहारः
याक्थुङबा समुदायको अस्तित्वलाई जीवित राख्ने महत्वपूर्ण पक्ष नै मुन्धुम हो । याक्थुङबा जातिलाई विश्व भू–मण्डलीकरणमा एक छुट्टै मौलिक पहिचान सहितको उभ्याउँने आधार नै मुन्धुम हो । यध्यपी विद्युतीय माध्यमहरू विकास र प्रयोगले याक्थुङबा जातिको मुन्धुम के कस्तो छ र थियो भन्ने प्रश्न भावि पुस्ताले हेर्न पाउँछ कि पाउँदैन, उपभोग गर्न पाउँछ कि पाउँदैन साथै भाषा लिपीको प्रयोग र उपयोगिता अस्तित्वमा रहन्छ कि रहँदैन भन्ने प्रश्न सदैव नेपाली कला साहित्य अनुरागीहरूको सामुमा उठ्नु पर्ने आवश्यक छ । मुन्धुमका आख्यानहरूमा वर्णित शब्दहरूको र विज्ञानसँग मिल्न सक्ने पक्षहरूको समायोजन गरी त्यसलाई व्यपकता दिनका लागि सरोकार क्षेत्रका विभिन्न अनुसन्धानकर्ताहरूले जन समुदायको सामुमा ल्याउँन सके राम्रो हुने थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार