ओइलाउँदैनन् स्वागतका माला सधै‌‌ तपाईकाे पर्खाइमा छ सन्दकपुर गाउँपालिका


उदयबहादुर राई, गाउँपालिका अध्यक्ष  580 पटक हेरिएको

उदयबहादुर राई, सन्दकपुर गाउँपालिका अध्यक्ष

 

म तपाईसँगै छु । महामारीले तपाईको मनमा चिन्ता थपेको छ । घर व्यवहार चलाउँने दैनिक आवश्यकतामा समस्या ल्याएको छ । म पनि त्यहि अनुभव गरिरहेको छु । त्यहि अनुभवले थप जिउँने बाटोको खोजी गर्न सिकिरहेको छु । अन्य जीवनका जीउने आधारहरू के हुन सक्छन् खोजिरहको छु ? महामारीलाई चिन्ता र समस्याको रूपमा होइन । अवसर र सिर्जनामा बदल्नु खोज्दैछु ।

प्राकृतिक विपत्तिले पढाएको पाठ सिक्दैछु । जसले सिकाएका सीप र सिर्जनाका फाँटहरू खोज्दै, मन भरी कुण्ठिएका विचार, भावना र सिर्जनाहरू बाँडौं भन्दै । आउनुहोस् घुमौं, हेरौं र मनलाई प्रकृतिसँग सिर्जनशिल जीवनका मुहानहरू जोडौं, हामी सबैको सन्दकपुरको काखहरूमा ।

पक्कै आउनु हुन्थ्यो, भेट हुन्थ्यो । अनुभव, सीप र सिर्जना आदानप्रदान हुन्थ्यो । नेपाल सरकारको पर्यटन वर्ष २०२० को एक सय गन्तव्यको एउटा गन्तव्य सन्दकुपरकोे माईपोखरीमा ।

तर कोभिड–१९ को महामारीले रोकिनु पर्यो । सायद, यस्तो प्राकृतिक विपत्ती नपरेको भए हामी माईपोखरीको नौ कुना घुम्दै, पुतली, चराचुरुङ्गी ,काडेभ्याकुर, रेडपाण्डा, थार ,घोरल, बदेल, बाघभालु, ठकठकेसँग खेल्थ्यौं । एकै छिन पोखरी हेर्दै, चौतारीमा बस्थ्यौं, थकान मेट्थ्यौं, सम्झनाका तस्बीर लिन्थ्यौं र बाँकी भीरमौरी र अन्य बन्य जन्तुसँगै प्राकृतिक दृष्यावलोकन गर्दै लुकामारी खेल्ने थप योजना बनाउँथ्यौं ।

सन्दकपुर २ माईमझुवा र ४ नम्बर वडा माबुको सिमानामा समुन्द्री सतहबाट ३६३६ मीटरको उचाईको महाभारत पर्वत र जिल्लाकै अग्लो स्थान सन्दकपुर डाँडामा पुगेर, इलामको चियासँगै विहानै झुल्के घाम हेर्थ्यौं । नेपाल, भारत, भुटान र चीनको हिमश्रृंखलाको ६० बढी हिमालको एकै स्थानबाट रमणीय दृष्य पान गथ्र्यौ । सूर्योदय र सूर्यास्तका प्राकृतिक सुन्दरता त छदैछ । जैविक विविधताको अवलोकन र अनुभव पनि गर्थ्र्यौ । योसँगै भारतको गंगासागरसँग जोडिने प्रसिद्ध कन्काई माईखोलाको उद्गम स्थलको चिसो पानीले प्यास पनि मेट्थ्यौं ।

करिव ३३ सय मिटरको उचाईमा छिन्तापु डाँडा पुथ्यौं । पाँचथर जिल्लाको फिदिम नगरपालिका र फालेलुङ् गाउँपालिकासँग जोडिएको सिमाना हो छिन्तापु । उत्तरमा हिमाली पर्वतमाला र दक्षिणमा देखिएका गाउँबस्ती हेर्दै, डाँफे, रेडपाण्डा, चितुवा, घोरल, भालु बाँदेलसँग लुकामारी खेल्नु जीवनको अविस्मरणीय क्षण हुन्थ्यो ।

सिजन कुन पर्थ्र्यो । हिँउदमा सेताम्य हिउँ पर्ने भएकोले हिमाली अनुभव पनि हुन्थ्यो । बहुमुल्य हिमाली जडिबुटी बिखुमा, सतुवा, पाखानवेद, चिराईतो खोजेर डाँडा पारिका बा, आमा हजुरबा, हजुरआमा परिवारलाई सम्झदै उँहाहरूलाई लगिदिने कोसेली भेला गर्थ्यौं । फागुनको अन्तिम हप्ता, चैत र बैशाखमा हो भने करिब ३६ प्रजातिको फूलेका लालिगुराँससँग सम्झनाको तस्बिर बनाउँथ्यौं । कञ्चनजंगा हिमश्रीङ्खला र १४ जिल्ला यहिबाट हेर्थ्यौं । पुवामाई खोलाको उदगम स्थल छुन पाउँथ्यौं ।

१ नम्बर वडा माईपोखरी भित्तेको स्याल ढाँडे गुफाको करिब २५ फिट भित्र लुकामारी खेल्थ्यौं । बालापन सम्झिन्थ्यौं । सन्दकपुर गाउँपालिका सदरमुकाम देउराली बजार भन्दा २ किलो मिटर माथि टप्पु हात्तीखावामा रहेको रेडपाण्डा ब्रिडिङ् केन्द्रको अध्ययन अवलोकन गर्न पाउँथ्यौ ।

सन्दकपुर २ साविकको माइमझुवा गाउँ विकास समितिको वडा नम्बर ३ मा रहेका ८५ मीटर अग्लो टोड्के झरनामा हेर्दै आफैलाई एकैछिन भूल्थ्यौं । यतिबेला हामी समुन्द्रि सतहबाट १६ सय १६ मीटर उचाईमा झरिसकेको हुन्थ्यौं । योसँगै जंगलको माझमा रहेको ६० मिटरको अर्को भरना पनि घुम्थ्यौं । मनै लोभ्याउँने धप्पर माथि ताल पोखरी, फुस्रे, पोखरी, घप्पर झरना, कालीका पोखरी, जौले पोखरी, गुफा पोखरी घुम्थ्यौं । सुन्दरतामा एकैछिन भएपनि हामीलाई भूलाउँथ्यौं । घप्पर झरनाको छुट्टै आनन्द लिन पाउँथ्यौ ।

बादलसँग लुकामारी खेल्दै बसेको हाँगेथममा पुग्थ्यौं । भुई कुहिरोले नछोड्दै, विश्वमै दुर्लभ हाब्रे (रेडपाण्डा), थार, ध्वाँसे चितुवा, कालो भालु, चरीबाघ, राजपंखी, ठकठकेसँग खेल्थ्यौं । वन स्याहार्दै बसेका वन्यजन्तु, काँडेभ्याकुर, मुनाल, चिल, पानीहाँस लगायत मौसम अनुसार टाढाटाढाबाट बसाई सरी आउने चराचुरुङ्गीको चिरबिर आवाजले स्वार्गिय आनन्द दिन्थ्यो । जीवनका सारा पीडा र समस्या भूल्थ्यौं । थप बाँच्ने आयु जोड्दै हिसाब गर्थ्र्याै ।

लालीगुँरास, चाँप, लौठसल्ला, सुनाखरी, चिराइतो, बान्टे, बज्राँठ, कटुस, लगायत धेरै जडिबुटीको स्वाद चाख्थ्यौं । जहाँ हामी समुन्द्री सतहबाट करिब २१ सय ७० मिटर उचाईको हावापानीको अनुभव गर्थ्यौं ।

सन्दकपुर ५ जामुनमा रहेको हाँगेथाम प्रकृतिप्रेमी, संरक्षणकर्मी र पर्यटकहरूका लागि आकर्षक गन्तव्य स्थल । चोयाटार सामुदायिक वनमा विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण केन्द्र पुग्थ्यौं । जौबारी, तुम्लिङ्ग र मेग्मामा नेपाल भारतको दुबै देशको जनजिवन अनुभव गर्थ्र्यौ । सिमावर्ती ट्रेकिङ रुट, भारतीय क्षेत्रको दृश्यावलोकन, सिंहलिला नेशनल पार्कको अवलोकन गर्दै मुलूकलाई समृद्ध बनाउँने सपनाको खाका कोर्थ्र्यौ । जौबारीको कृषि अनुशन्धान केन्द्रमा रहेको करिव एक सय ३६ जातिका आलु हेथ्र्यौ । अनुसन्धान केन्द्रको अनुसान्धानले मुलूकलाई खाद्यान्नमा अत्मनिर्भर बनाउँने थप योजना बनाउँथ्यौं । कृषिमा आर्कषणका कार्यक्रम ल्याउँने सपना देख्थ्यौं ।

चन्द्रपाल थेवे धाप पोखरी पोखरी पुथ्यौं । प्राकृतिक रुपमा रहेको सिमासार क्षेत्रमा बाँध बाँधी बनाइएको जिल्लाकै सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । पोखरी वरिपरी १३ बटा पानीका मुहानहरु रहेका छन् । डुङ्गाबाट पोखरीमा तैरिन्थ्यौं । पोखरीमा पालिकाएका माछा जालमा पर्ने बाँजी मार्दै खेल खेल्थ्यौं । निर्माणाधिन राष्ट्रिको स्तरको रंगशालामा काम गरिरहेको मेसिनको लोभलाग्दो दृष्यमा आफूलाई भूलाउँथ्यौं । गुरूङ समुदायको धार्मिक पर्यटकीय स्थल माबुथाम पुग्थ्यौं । थाम डाँडामा उभिएर गाउँपालिकाको सुन्दर ठाउँहरू हेथ्र्यौ । साथै सन्दकपुर वडा नं ३मा रहेको टारीबेसी पौरखी किसानहरूले उत्पादन गरेको धान लगायत विभिन्न उपभोग्य कृषि वस्तुहरुको अध्ययन साथै ७ दिनको सुत्केरीले गाडेको धेरै लामो शिला सुतलुङ्ग ढुङ्गालाई छोएर मुलूक बनाउँने कसम खान्थ्यौं ।

यति मात्रै कहाँ होर । कृषिमा अब्बल सन्दकपुरमा पशुपालन, जडिबुटी खेतीे यहाँका मानिसहरूको प्रमुख व्यवसाय हेर्ने र सिक्न पाउँनेथ्यौ । यहाँको साकेला, उधौली, उभौली, दशै तिहार, ल्होसार, मारूनी, संगिनी, बालन, हाक्पारे केलाङ्ग, चण्डी नाच, धान नाच, हुर्रा नाच, क्रिसमससँग रमाउँथ्यौं । खासगरी राई, लिम्बु बाम्हण, क्षेत्री, शेर्पा, सुनुवार, तामाङ्ग, थामी, गुरुङ्ग, मगर, दमाइ, कामी, भुजेल र भोटे जस्ता जातजातिका विभिन्न संस्कार संस्कृति चालचलन रितीरिवाज अध्ययन अवलोकल गर्न पाउँथ्यौं ।

उचाईको हिसावले नौ सय मिटर देखि ३६ सय ३६ मिटरसम्मको हावापानीको बारेमा जान्ने अवसर मिल्थ्यो ।

यतिका ठाउँ घुम्न कसरी सम्भव छ सोच्दै हुनुहुन्छ होला । तर चिन्ता नुलिनुहोस । यसका लागि हामीले तपाइको सुविधालाई हेरेर व्यवस्थापमा लागेका छौं । गाउँपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट पक्की सडक सुविधा छ । माबु, कालपोखरी, विखे भञ्ज्याङ्ग हँुदै सन्दकपुरसम्म कच्ची सडक हुँदै सवारी साधनमा आउँन सक्नुहुन्छ । माइमझुवाको बुधवारे, खोर्साने कालापानी श्रीयाङ्गजी कालपोखरी गोरुवाले भञ्ज्याङ्ग हुँदै सन्दकपुरसम्म पुग्ने मोटरबाटो पनि खोलिएको छ ।

छिन्तापु जानका लागि माइपोखरी हँुदै माइमझुवाको बुधबारे गोरुवालेसम्म गाडीमा गएर एक घण्टाको पैदल यात्राको अनुभव गर्न सकिन्छ । माइपोखरीबाट सिधै पैदल जान समेत सकिन्छ भने माइमझुवाको शेर्पेगाउँ हँुदै पनि पैदल ५ घण्टामा छिन्टातु पुग्न सकिन्छ ।

मेची राजमार्गमा इलाम नगरपालिकाको बिब्ल्याँटे बजारबाट माईपोखरीहुँदै सन्दकपुर गाउँपालिका आइपुग्नु हुन्छ । अब त तपाई भूल्नुहुन्न होला ।

महामारी सकिएपछि भेटौं । तपाइका लागि स्वागतमा माला कहिल्यौं ओइलाउँदैनन् ।

उदयबहादुर राई
अध्यक्ष
सन्दकपुर गाउँपालिका इलाम ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार