काठमाडौं:गयराती सम्पन्न युरोकप २०२० काे उपाधी इटलीलेले हात पारेको छ । उपाधीका लागि इंग्ल्याण्डलाई इटलीले टाइब्रेकरमा ३-२ गोल गर्दै उपाधी हात पारेकाे हाे ।
टाइब्रेकरमा इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए ।
लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा पुगेको हो ।
खेलको दोस्रो मिनेटमै इंगल्याण्डले अग्रता लिएको थियो । लुक श ले किरन ट्रिपिएरको पासमा गोल गर्दै घरेलु टोली इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । युरो फाइनलमा भएको यो सबैभन्दा छिटो गोल थियो भने राष्ट्रिय टिमका लागि श को पनि पहिलो गोल थियो । सम्हालिन नपाउँदै सुरुमै गोल खाएपछि इटली बराबरी गोल फर्काउनतर्फ लाग्यो ।
पहिलो हाफमा इंग्ल्याण्डले अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा थप गोल गर्न सकेन । इटलीले भने दोस्रो हाफमा बराबरी गोल फर्कायो । ६७औं मिनेटमा लियोनार्दो बोनुचीले मार्को भेराट्टीको पासमा इटलीका लागि बराबरी गोल फर्काए ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थपियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।
सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरे । इटलीका आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाए ।
इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे ।
जाडोन सान्चो र बुकायो शाकाको बचाउ इटलीका गोलकिपर डोनारुम्बाले बचाए । मार्कुस रासफोर्डको प्रहार भने पोष्टमा लागेर फर्कियो ।
इंग्ल्याण्डका लागि अन्तिम पेनाल्टी प्रहार गरेका साकाले गोल गर्न नसकेपछि इटली विजयी भयो ।
५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।
उता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको इंग्ल्याण्डले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो । तर पेनाल्टी सुटआउटमा सफल हुन नसक्दा पहिलो युरो जित्ने सपना पूरा हुन सकेन । एजेन्सी मार्फत ।