इलामः शसस्त्र द्धन्द पीडितको न्याय सुनिश्चित हुँनु पर्ने माग गर्दै प्रधानमन्त्रीलाई मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।
द्धन्द पीडितको न्यायप्रतिको उत्तरदायित्व बोध गर्दै विश्वसनीय संक्रमणकालिन न्याय प्रक्रिया अवलम्बन गर्न माग गर्दै द्धन्द पीडित परिवार आबद्ध मुलूक भरका ४१ संघ संस्थाले ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।
शान्ति प्रक्रियालाई दीगो व्यवस्थापन गर्न गठीत सत्य निरुपण र बेपत्ता ब्यक्ती छानबिन आयोगले पीडितको पक्षमा काम गर्नुपर्ने । माफी प्रधान ऐन संशोधन गर्दै पीडितको पीडालाई राजनीतिक सौदाबाजीको विषय नबनाउँन सरकारसँग माग गरेको छ ।
दुई वर्षका लागि बनाइएको आयोगले छ वर्षसम्ममा पनि पीडितको भरपर्दो काम नगरेकोले पीडित समुदायको पीडा र आसुमाथिको सौदाबाजी बन्द गनुपर्ने । बलिया पीडकको उन्मुक्तिको पक्षमा नभएर असहाय पीडितप्रति सरकारको दायित्वबोध गर्दै पीडित समुदायको न्याय सुनिश्चित गर्नुपर्ने माग छ ।
पीडित समुदायकोे अर्थपूर्ण परामर्श र सर्वोच्च अदालतको परमादेश र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा राज्यको दायित्व बमोजिम संक्रमणकालिन न्याय सम्वन्धि कानुन संशोधन गरी आवश्यक कानुन निर्माण गर्न आग्रह गरिएको छ ।
द्धन्द पीडितको परिपूरण अधिकार कानूनी रुपमा सुनिश्चित गर्न, पीडित समुदायको सहकार्य विस्तृत परिपूरण नीति निर्माण गर्न र संघीय, प्रदेश र स्थानीय सरकारको आपसी सहकार्यमा दीर्घकालिन सम्मानपूर्ण सुविधाजन र सर्वसुलभ परिपूरण नीति कार्यान्वयन गर्न भनिएको छ ।
आयोगहरुले साढे छ वर्ष सम्ममा पनि ठोस परिणाम दिन नसकेको भन्दै राजनैतिक दल नियन्त्रित आयोगको पुनरावलोकन गरि संक्रमणकालिन न्यायको समय सीमा सहितको स्पष्ट कार्ययोजना बनाउनु पर्ने उल्लेख छ ।
सक्षम, बिश्वसनीय र स्वतन्त्र आयोगको गठन गरेर समग्र प्रक्रिया पीडित मैत्री बनाउँदै लैङ्गिकमैत्री कार्य प्रणाली अवलम्वन गर्ने व्यवस्था मिलाई बिना हस्तक्षेप, बिना अवरोध स्वतन्त्र रूपमा काम गर्ने वातावरणको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाबाट पीडित नागरिकहरुको सत्य, न्याय र परिपुरण अधिकारका विषयमा मौनता बढ्दै गएको प्रति दुःख व्यक्त गर्दै अन्याय र पीडितको न्यायको लागि समग्र नागरिक समाज, सञ्चार माध्यम एवम् अन्तर्राष्ट्रिय समुदाय प्रति अपील समेत गरेका छन् ।
इलामको द्धन्दपीडित साझा चौतारीले पनि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । चौतारीका जिल्ला संयोजक दामोदर चापागाईंद्धारा हस्ताक्षरित छ बुँदे ज्ञापन पत्र बुझाइएको छ ।
चौतारीका संयोजक चापागाईंले प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई ज्ञापनपत्र हस्तान्तरण गरे ।