म जन्मिदा पैतिस वर्षको हुनुहुन्थ्यो मेरी आमा । म सानो छँदा वहाँले धेरै माया गर्नु भएको याद छ । अचेल सम्झिादा म झगडालु थिएछु, म गनगनाई रहेको हुन्थे आमा मायालु हातले ढाँडमा सुमसुम्याउँदै मलाई फकाउनु हुन्थ्यो । वहाँको कोमल स्पर्श पाएर भुसूक्कै निदाउँथे । यो २०४५ साल तिरको हो ।
अलिक बुझ्ने भएपछि थाहा भयो, मेरी आमा बुवा जंगमानको जेठी श्रीमतीको मृत्यूपछि कान्छी श्रीमतीको रुपमा आउनु भएको रहेछ । विवाह अघिको साइनोले मेरो बुवा आमाको भेनाजु पर्नुहुन्थ्यो ।
ती दिनहरु कष्टमय थिए । आमा बुवा दिनभर बोनी गर्न जानु हुन्थ्यो । हामी पाँच चेली, पाँच माइती थियौं । हाम्रो भोक मेटाउनको लागि आमा र बुवा कैयौं रात गुन्द्रुक र सिन्कीको झोलमात्र पिएर निदाउनु भयो रे । यो इलाम जिल्ला जितपुर गाविस वडा नं. ३ को यर्थात कथा हो । म २०६५ माघ १७ गते बिहान दमक एकको कोठामा बसेर ती दिनहरु सम्झिने कोसिस गर्दैछु ।
मौका मिल्दा बाल्यकालको कहानी सुनाउदै आमा भन्नु हुन्थ्यो, ‘हामी सानामा साह्रै छाडा थियौं । कहिले काँही सुँगूर पाठा मारेर पकाइ खान्थ्यौं । एक दिन त पकाइ सकेर खान लाग्दा पङ्दुरे काका आइपुग्नु भयो र हामी केटाकेटी सबैलाई लखेटेर उहाँले खान थाल्नु भयो । हामी हेरेको हेरै भयौं ।’
आमाको बाल्यकाल पीडादायी थियो । सानैमा टुहूरी भएकी आमाले काकाकाकीको अपहेलना सहुनसम्म सहनु प¥यो घरमा जहिल्यौं दुइ खालको खाना पाक्थ्यो रे, काकाकाकीको परिवारको लागि जाउलो भात र मेरी आमाको लागि मकैको ढिडो । सानो जिउले थेग्न नसक्ने काम, दोस्रो दर्जाको माम खाँदै बाल्यकालका स्वर्णीम पलहरु नुनिलो आँसु पिएर बित्यो, बिचरा मेरी आमाका ।
पहिले–पहिले गाउँमा काम पाइन्नथ्यो । पाए तापनि ज्याला साह्रै कम । जीवन धान्न मुस्किल पथ्र्यो । गाउँमा आमाहरुको बोनी गर्ने समूह थियो । नान्दीकुम्मा, मङ्देम्बा चुक्पा, बिल्ला कुम्मा, नाबारी कान्छा सबै मिलेर फुएलकोमा काम गर्न जान्छौं भन्नुहुन्थ्यो । म दिनभर कुरेर बस्थे । त्यतिबेला मलाई लिम्बू भाषा मात्र आउँथ्यो । आमाले घरमा एक्लै बस्दा गाउँने गीत सिकाउनु भएको थियो । म पिँडीमा बसेर दिन बिताउँथे गीत गाएर ‘….ल है..ल हैं…आम्मो हारा ते..ओ..आम्बो हारा..तेओ…(आमा छिटो आउनु है…बाबा छिटो आउँनु हैं…) । यसरी पनि जीवनका केही वर्षहरु बितेछन् ।
पहिले आमा साह्रै कडा हुनूहुन्थ्यो रे, दिदिहरुले भन्नु भएको । तर मलाई त्यस्तो लाग्दैन । आमाले दिदीहरुलाई मेला बजार जाने, धान नाच्ने स्वतन्त्रता दिनु भएको थिएन । त्यसैले उनीहरुलाई त्यस्तो लाग्नु स्वभाविकै हो । तर आमाले पनि उनीहरुको अहितको लागि पनि त्यसो गर्नु भएको थिएन ।
दशघरेनी बूढी भनेपनि गाउँलेहरु सबै डराउँथे अरे । कसैलाई त हाम्री आमा म पर्दैन्थ्यो अरे । ठीकै पनि हो गाउँमा अन्याय सहेर नबस्नेहरु सबैको नजरमा राम्रा हुदैनन् पनि ।
समयले मान्छेलाई पाठ सिकाउँछ भन्ने कुरा सही नै हो । बदलिदो समयसँगसँगै आमाले पनि धेरै कुरा सिक्नु भयो । दिदीहरुको विवाह भएर पराई घर गएपछि आमालाई साह्रै नराम्रो लागेछ । त्यसपछि दिदीहरुलाई गाली गर्न छोड्नु भयो । सम्झाउनु पर्दा पनि माया गरेर सम्झाउन थाल्नु भयो । दिदीहरुसँग झगडा गर्दा आमाले मलाई भन्नुहुन्थ्यो ‘चेलीहरु एकछिनको गहना मात्र हुन । उनीहरुलाई नराम्रो नभन्नु । पछि छोडेर गइहाल्छन् ।’
त्यतिबेला लिम्बू समाजमा छोरी चेलीको सोतरित खाने चलन थियो । जेठी, माइली, साइली, दिदीकोमा आमाहरुले पनि त्यसै गर्नु भयो, जो समाजले सिकाएको थियो । तर पछि भने आमाले धेरै कुरा बुझ्नु भयो । काइली र कान्छी दिदीकोमा रितभातको नाममा केही पनि माग्नु भएन ।
मेरी आमाको संसार त्यति ठूलो थिएन । उहाँले फराकिलो सपना पनि कहिल्यौं देख्नु भएन । अथवा भनौं कुटो, कोदालो, खेतबारी, उकाली ओरालीको चट्टानले त्यस्तो सपना देख्ने फूर्सद नै भएन । ‘मान्छे भनेको यो धर्तीको दुई दिने पाहुना मात्रै हो ।’ वहाँ भन्नु हुन्थ्यो हामी त रमिता हेर्न मात्र यो संसारमा आएका हौं । हाम्रो अवधि पुगेपछि फर्केर जानुपर्छ ।’ तर बिडम्बना वहाँको संसार जीतपुरमै सीमित भयो । बितामोडसम्म झरेको कुरा र गाडिमा चढेको कुरा कहिले सुनाउनु भएन ।
आमाको एउटा सपना थियो भने, मात्र सन्तानहरुको उज्जवल भविष्य हेर्ने थियो । खाऊँ–खाऊँ, लाऊँ–लाऊँ उमेरको कलिलो छोरा गुमाउनु पर्दा उवहाँको छाती भरी कहिले नमेटिने घाउ लाग्यो । २०५१ सालमा काइला दाइको मृत्यूपछि उहाँ साह्रै भावविव्हल हुनु भयो । दाइले बर्खरै मात्र विवाह गर्नु भएको थियो । वहाँको सन्तान पनि भएको थिएन । पच्चीस वर्षको कलिलै उमेरमा संसार छाडेर जानुभयो । त्यो घाउ खाट बस्न नपाउँदै अर्को नयाँ घाउ थपियो । २०५७ सालमा इलाम गजुरमुखी – ३ मा रहनु भएकी जेठी दिदी र वहाँको पाँच छोरा छोरी एउटै चिहान भयो, पहिरोले पुरेर । यसरी जीवनमा आएका हरेक वेदनाहरुलाई सहेर बाँच्न कति गाह्रो भयो होला । एकान्तमा सन्तानहरुको सम्झनामा विला गर्दै रुनु हुन्थ्यो । यसरी आमाले भोग्नु भएका पीडादयी कथाहरु भोगाइमा मात्र सीमित थिए ।
सानोमा म कान्छी दिदीको लागि मात्र पढ्ने गर्थे । नपढे पिट्नु हुथ्यो । डर मान्दै पढ्थे । आमालाई पढाई के हो ? थाहा नभएर होला कहिले पढ् भन्नु हुन्थ्यो । कक्षा नौं मा पुगेपछि मात्र पढाई आफ्नो लािग रहेछ । भन्ने थाहा भयो । एस.एल.सी. पास भएपछि पढ्न भनी कान्छी दिदीसँग इलाम गयौं । आमासँग कहिल्यैं लामो समयसम्म नछुट्टिएकोले होला साह्रै नियास्रो लाग्थ्यो ।
‘पछि ठूलो भएपछि म तपाइहरुलाई सुःखसँग पाल्छु ’ । मैले सानो छँदा अन्जानमै आमाबाबुसँग भनेको थिए ।
जति जति उमेर बढ्दै जान्थ्यो । त्यति त्यति मेरो वचनले आफैलाई पोल्थ्यो । कारण म बेरोजगार थिए । आमाबाबाले आफ्ना समस्याका कुरा सुनाउनु हुन्थ्यो । आवश्यकताका कुरा सुनाउनु हुथ्यो तर म केही गर्न सक्दिन थेँ । तैपनि भविष्यमा आमाबाबालाई खुसी दिन चाहन्थेँ ।
आफ्नो देशको खातिर केही गर्ने सोच थियो । त्यसैले विदेसिन पनि मनले मानेन । दुई वर्ष इलाम बसेपछि म झापा झरेँ, सगरमाथा सौगात मासिक पत्रिकामा काम गर्न । त्यो पत्रिका साहित्यीक पत्रिका थियो । त्यसैले खासै कमाइ थिएन । त्यतिबेला पनि घरमा आर्थिक सहयोग माग्ने बेथाले छोडेको थिएन । त्यस बखत झापाको धेरै ठाउँहरुमा डुल्न पाएँ । साहित्यकारहरु पनि चिन्न पाएँ । यसलाई सगरमाथा सौगातको अमूल्य देन मानेको छु ।
यसरी जीवनमा आएका कठिनाइहरु पार गर्दै जाँदा एकदिन सप्तरंगी एफ.एम. मा रोजगारीको अवसर सहित ट्रेनिङ खेलेको कुरा फोन मार्फत साथी यामले जानकारी गरायो । यसै शिलशिलामा बिर्तामोडबाट दमक आएँ ।
सप्तरंगी एफ.एम.को एक्काइस दिनको तालिम सकिएपछि म जीतपुर गएँ । मेरो सा रा कुरा आमालाई सुनाएँ । उहाँले खुसी हुदै आर्शिवाद दिनुभयो । जीतपुर बस्दा बस्दै पाथीभर एफ.एम. मार्फत मेरो नाम निस्केको कुरा थाहा भयो । त्यतिबेला आमाको मुहार साहै्र उज्यालो देखेको थिएँ । मेरो खुसीको निम्ति, सफलताको निम्ति, हाँसेतापनि विदाइको बेलामा हाँस्न सक्नु भएन । गहभरी आँसु पारेर विदा दिनुभयो । वास्तवमा त्यो विदाई नै आमा र मेरो लागि अन्तिम विदाई रहेछ….।
मनभरी सम्झनाको भारी बोकेर झापातिर झरेँ । जीवनका कहिले सुख त कहिले खुःख भई नै हाल्छ । तिनै सुःख र दुःखसँग हातेमालो गर्दै बाँच्नु पर्दो रहेछ । २०६३ साल माघ १३ गतेको दिन पहिलो पटक सप्तरंगी एफ.एमबाट बोल्न पाएँ । त्यसपछि नयाँ नयाँ कार्यक्रमहरु सञ्चलन गर्न सुरु गरे । जीवनको गोरेटोमा, मायाको कोसेली, गजल बहार, भञ्ज्याङ चौतारी, श्रष्टा र साहित्य, अनुरोध संगीत, मुना–मदन जस्ता धेरै कार्यक्रमहरु सञ्चालन गर्न थालेँ । त्यतिबेला गाउँबाट खबर आउँथ्यो । मेरी आमाले हरेक कार्यक्रमहरु मन लगाएर सुन्नु हुन्थ्यो रे । अनि दंग हुँदै अरुलाई पनि मेरो छोराको कार्यक्रम भन्दै सुनउनु हुन्थ्यो रे । अनि आमाले हरेक पल मेरो सम्झनामा मेरो कुरा गरेको खबर पनि सन्थे । खुसी लाग्थ्यो । गन्तव्यमा पुग्नको लागि आमाको अमिट माया साह्रै ठूलो आस्थाको धरोहर झै लाग्थ्यो ।
सप्तरंगी एफएममा कार्यक्रमहरु सञ्चालन गर्न सुरु गरेपछि छुट्टी पाउन मुस्किल पथ्र्यो । नौं महिनासम्म आमासँग भेट हुन सकेन । बीचमा आमाले घर आउनु भनेर धेरै पल्ट खबर पठाउनु भयो । तर म घर जान सकिन । २०६४ सालको भाइटीकामा महेसपुर निवासी साइली दिदीकोमा भाइटीका लगाउन जाँदै गर्दा मोबाइलमा एउटा म्यासेज आयो । कल्पना दिदीले पठाउनु भएको रहेछ । आमा साह्रै विरामी हुनुहुन्छ रे । घर तुरुन्त जानु रे । त्यति नै लेखिएको थियो ।
त्यसपछि हतार हतार साइली दिदीकोमा पुगेँ । आमा विरामी हुनुहुन्छ भन्ने खबर गरे । हामी तत्कालै जीतपुर जाने निर्णयमा पुग्यौं । बेलेकाको करिब ५ बजे तिर हामी इलाम नगरपालिकामा उत्रेका थियौं । मैले त्यहाँबाट जीतपुरमा फोन गर्दा थाहा पाएँ । आमाले दिउँसो १२ बजे तिरै हामीलाई छोडेर गइसक्नु भएको रहेछ । दिदीहरु खाजा खाँदै हुनुहुन्थ्यो । मैले सत्य कुरा लकाएँ ।
मन निस्सासिएको थियो । दिदीलाई सुनाउदा घर पुग्न सक्नु हुन्न भन्ने लाग्यो । केही नबोली हिडिरहेँ करिब रातको दश बजेतिर हामी घर पुग्यौं । आमाले संसारलाई छोडि सक्नु भएको कुरा घरमा दिदीलाई अझैपनि थाहा थिएन । बुवा आमाको शिरानेर बसीरहनु भएको थियो । आमाको पार्थिप शरीर त्यहाँ नेर ढलिरहेको थियो । जहाँ म सानो छँदा धेरै वर्षसम्म आमाको न्यायो अंगालोमा सुत्ने गर्थे । मैले आमाको शरीरमा हात राखे चिसो भइ सकेको रहेछ । आँसुहरु पनि कताकता अबरुद्ध भए जस्तै लाग्यो । आँसु झारेर रुन पनि सकिन । दिदी डाको छोडेर रुन थाल्नु भयो । उमेर ढल्दै गएपछि आमाको आँट कमजोर भएर होला उहाँ भन्नु हुन्थ्यो ‘म अचानक मर्छु होला, हाम्रो भेट हुन्छ हुदैन’ ।
‘म त्यसो नभन्नुहोस त्यस्तो हुदैन भन्थे’ । तर त्यस्तै भयो जुन मैले कल्पनासम्म पनि गरेको थिइँन ।
आमाले छोडेर गएपछि मेरा उज्याला दिनहरु औशीको रातमा परिणत भए । फेरि कहिल्यैं भेट नहुने गरी विदाई दिनुको पीडाले म पिरोल्नसम्म पिरोलेको छ । धेरै समय पछि आमालाई भेट्न घर पुग्दा उहाँको पार्थिव शरीर मात्र भेटेपछि उहाँलाई भेटेर मेरो सफलताका कुरा सुनाउने अभिलाषाहरु सधैंका लागि अधुरा रहे ।
सबैले भन्छन्, मेरो वियोगमा उहाँ धेरै रुनु भयो रे । उहाँको अन्तिम पल्ट आफ्नो छोरालाई आर्शिवाद दिइ राख्ने तीब्र चाहना छातीभित्र लुकाउनु पर्दा सहन कति गाह्रो भयो होला । मानव जीवन भन्नु असन्तुष्टिको पुञ्ज मात्र रहेछ । प्राण त्याग्ने बेलामा उहाँले मलाई भेट्न चाहे जस्तै उहाँलाई अन्तिपल्ट भेट्ने तीब्र इच्छाले पनि जिन्दगीभरी पिरोल्ने छ ।
मलाई राम्ररी सम्झना छ । म रोजगारीको शिलशिलामा बाहिर निस्किदा उहाँको आँखा भरिएर गला भिजेको बेला ती प्रत्येक आँसुका थोपाहरुमा म प्रति उर्लिएका अगाध माया पाउँथे । आफूलाई जन्म दिएको सन्तानलाई आफ्नै सामु राख्न पाउँदाको आनन्द न उहाँलाई दिन सकेँ न मैले उहाँको सामिप्यताको किठास नै चाख्न सकेँ । कति अभागी रहेछु म ।
उहाँको वियोगमा जलिरहेको बेला बुवाको आँखाबाट खसेको आँसुले आगोमा घिउ थप्ने काम गर्यो । उहाँको पार्थिव शरीर चिहानमा लगाइसके पछि माटो दिने क्रममा बुवाको आँखामा आमाको ममता खोज्ने् प्रयास गरेको थिए । तर त्यहाँबाट पनि मेरी आमा आँसु भएर तप्प तप्प धर्तीको छातीमा गिर्दै थिइन । सदा सदाको लागि बुवाको आँखाबाट पनि बगेर जान लागेकी थिइन । यो मेरो जिन्दगीको अत्यन्तै पीडादायी पल थियो । आमाको काजक्रिया सकिएपछि म आफ्नो काम तिर फर्के । मनमा अर्कै किसिमको त्रास थियो । जीवनको सबैभन्दा ठूलो आस्था ढलेको थियो । म बेसाहार थिए । जसरी मेरो आमाको सम्पूर्ण जीवन लिला समाप्त भयो । अब त मेरी आमा गजलका शब्दहरुमा मात्र बाँचेकी छिन र यसरी नै बाँचिरहने छिन् ।
आमा तिम्लाई सम्झिएर अँधेरीमा कत्ति रोए ।
पानी भर्दा याद आयो पँधेरीमा कत्ति रोए ।।
तिम्लाई सम्झि नयन, रात भरी अनिदो भो ।
अनिदो मै तिम्लाई खोजी, परेलीमा कति रोए ।।
भोक, तिर्खा प्यास लाग्दा, सोध्ने मान्छे तिमी थियौं ।
ममताको प्यास लागेर, खडेरीमा कत्ति रोए ।।
जन्म जन्म बाँची रहने, अजम्बरी साइनो त्यागी ।
तिम्ले छाडी गएको त्यो, मझेरीमा कत्ति रोए ।।
देउमाई नगरपालिका-९ (जीतपुर-३ इलाम)
हाल-दमक झापा ।