श्रीमतीको कान काटेपछि……


सेवारो खबर  238 पटक हेरिएको

दुई दिन अघि श्रीमानले कान काटिदिएपछि जानकी कानको टुक्रा लिएर जिल्ला अस्पताल बझाङ पुगेकी थिइन्।

घटना भएकै दिन उनी अस्पताल पुग्न सकिनन्। कसैको सहयोग नपाएपछि उनी असहाय पीडामै बसिन्। माइतीलाई पनि खबर गर्न सकिनन्। शुक्रबारमात्रै एक जना महिलाले उनलाई अस्पताल पुर्‍याइदिइन्। पछि खबर सुनेर उनका आमा-बुवा पनि आए।

बझाङ जयपृथ्वी नगरपालिका वडा नम्बर-१ भण्डार गाउँकी २१ वर्षीया जानकी नेपालीको बायाँ कान उनका २५ वर्षीय श्रीमान मनोजले काटिदिएका थिए। मनोजले जानकीमाथि कुटपिट गरी चक्कुले कान काटेका थिए।

अस्पतालकी एक नर्सका अनुसार उनको कानको बीचको भागको चोक्टो नै थिएन।

मनोज प्राय: घरमा मदिरा सेवन गरेर आउँथे। गत बुधबार पनि मदिरा सेवन गरेर आएका मनोजले जानकीमाथि कुटपिट गरेका थिए। उनले बुधबार दिउँसो एक जना आफन्तसँग हाँसेको निहुँमा कुटेका थिए।

‘पहिला हातले कुट्यो, पछि जे हात लाग्यो त्यसैले हान्यो। म ढलेँ अनि चक्कुले कान काट्यो,’ उनले भनिन्, ‘त्यही कान भोलि मेडिकल गएर जोड्नु भनेर हातमा दिए।’

कान काटेपछि निकै असह्य भएर दुखेपछि आफू उठ्न नसकेको उनले बताइन्। कानबाट रगत निरन्तर बग्न थालेपछि श्रीमान त्यहाँबाट भागे।

उनीमाथि यस्तो पहिलो पटक भने भएको थिएन। पहिले पनि उनको शरीरमा चक्कुले काटेका दागहरू भएको बताइन्। शरीरको रगत बगेर कमजोर भएकी उनी दुब्ली देखिन्छन्। १५ वर्षको उमेरमा कक्षा ९ पढ्दा नै उनको विवाह भएको थियो। २१ वर्ष मात्रै भएकी उनका अहिले तीन छोराछोरी छन्।

सानै उमेरमा विवाह गरेकी जानकीलाई श्रीमानले बेलाबेला दिइरहने हिंसा र यातनाले आफू पीडामा रहेको बताउँछिन्।

बिहे गरेकै दिनदेखि उनलाई श्रीमानले गालीगलौज र कुटपिट गर्न थालेका थिए। तर उनी चुपचाप सहेर बस्थिन्। अहिले कान नै काटिदिएपछि श्रीमानको यातनाबारे सुनाउन बाध्य भएको बताउँछिन्। उनी आफ्ना श्रीमान र छोराछोरीसँग बस्छन्। उनका सासू-ससुरा र अरू परिवार भारतको बैंगलोरमा छन्।

जानकीलाई पनि मनोजले दुई वर्षअघि भारत लगेका थिए। त्यहाँ पनि श्रीमानले टाउकोमा ग्यास सिलिन्डरले हिर्काएको बताइन्। त्यो बेला उनी दुई महिनासम्म बेहोस भएकी थिइन्।

त्यसपछि पनि उनी एक वर्ष अस्पतालमै बसिन्। भारतमै मनोजविरूद्ध प्रहरीमा उजुरी दिने तयारी गरे पनि त्यतिबेला सासूले रोकिन्।

भारतमा दुःख सहेर बझाङ फर्के पनि उनले सुखको सास फेर्न पाइनन्। उनीहरू बस्ने घर एकान्त ठाउँ हुँदा चिच्याएर गुहार माग्दा सम्म कसैले सुन्न सक्थेनन्।

‘कुटपिट गरेपछि चिच्याएर बोले पनि अरुले सजिलै सुन्दैनन्। कहिल्यै बलेको चुरोटले शरीरमा पोल्थ्यो, कहिले अगुल्टाले हान्थ्यो, कति दिन त बेहास भएँ,’ उनले भनिन्।

चुरोटले पोल्ने, चक्कुले घाउ बनाएर यातना दिने गरेको जानकीले बताइन्। यातना सहन नसकेर कति पटक त उनले आत्महत्या नै गर्ने भन्दै निस्किइन्। तर छोराछोरीको मायाले उनी फर्किन बाध्य हुन्थिन्।

अस्पतालमा कानको उपचार गरेपछि जानकी आइतबार डेढ वर्षे बच्चासहित अल्पकालीन महिला सुरक्षित आवास गृहमा पुगेकी छन्। कानको पट्टी फेरिरहनु पर्ने भएकाले उनले चैनपुरमै बस्नुपर्ने छ। डेरा गरी बस्न उनको आर्थिक क्षमताले नभ्याएपछि आफन्तले केही दिन बास दिन अनुरोध गरेको आवास गृहकी प्रमुख गीता शाहीले बताइन्।

‘अहिले उहाँको अवस्था केही सुधारोन्मुख छ। हामीले परामर्श र न्यायका लागि सहयोग गर्नेछौं,’ उनले भनिन्।

हिंसा र यातना दिनेलाई कडा सजाय पाउनुपर्ने जानकीका आमाबुबाको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकीका आफन्तले घटनाबारे जाहेरी दिएको बताए। उजुरी प्राप्त भएपछि जानकीका श्रीमान मनोज पक्राउ परेका छन्। उनलाई आइतबार दिउँसो पक्राउ गरिएको खड्काले बताए।

‘पीडित पक्षबाट प्राप्त जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरिएको छ। यसपछि मुद्दा दर्ताको प्रकृया अगाडि बढाइनेछ,’ उनले भने। @www.setopati.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार