माङ्सेबुङ गाउँपालिकाले बाँड्यो २ लाख १० हजार रूपैयाँ राहत सहयोग


सेवारो खबर  187 पटक हेरिएको

 इलाम: माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २ लाख १० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ ।

गाउँपालिकाले संक्रमणबाट ज्यान गुमाएका ६ जनाको परिवारलाई राहत उपलब्ध गराएको हो । प्रति परिवार ३५ हजारका दरले राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले जानकारी गराए ।

कोरोना संक्रमणबाट ज्यान गुमाएका माङसेबुङ ३ का बलकबहादुर लावती र कृष्णबहादुर लिम्बू, माङसेबुङ ५ का धनमाया साङपाङ राई, टेकबहादुर लावती र लक्ष्मीमाया लावती र माङसेबुङ ६ का मनराज राईको परिवारलाई राहत उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

माङसेबुङ गाउँपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन समितिको २५ असारको बैठकले गाउँपालिका भित्र कोरोना संक्रमणबाट परिवार तथा सदस्य गुमाएको परिवारलाई राहत स्वरूप ३५ हजार उपलब्ध गराउने निणर्य अनुसार राहत बितरण गरेको बताइएको छ ।

विपद् व्यवस्थापन कोष सञ्चालन समितिका निणर्य अनुसार घरैमा पुगेर राहत उपलब्ध गराइएको छ । राहत बितरण गर्न गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोको नेतृत्वमा कर्मचारीको समूह मृतकको घरघरमा पुगेका थिए ।

समस्यामा परेको परिवारलाई तत्काल आधारभूत आवश्यकता पुरा गर्न सहयोग मिलोस भनेर राहत बितरण गरेको अध्यक्ष इधिङ्गाले बताए ।

माङ्सेबुङ गाउँपालिकामा कोरोनाको दोस्रो लहरले यो समाचार तयार पार्दासम्म दुई सय ४६ जना संक्रमित भएका छन् । जस मध्ये एक सय २८ महिला र एक सय १८ पुरुष रहेका छन् । संक्रमित मध्ये दुई सय २१ जना निको भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार