इलामले बुझ्न नसकेको प्राविधिक शिक्षा


देबराज खनाल  214 पटक हेरिएको

विषय परिचय

पूर्वीनेपालको इलाम जिल्लामा अवस्थित त्रिभुवन विश्वविद्यालयको ६२ आंगिक क्याम्पसहरु मध्यको एक हो – महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम (मरब क्याम्पस) । केहि दशक अघिसम्म यस क्याम्पस मेची अञ्चलका जिल्लाहरुको शैक्षिक गन्तब्यको रुपमा अग्रपंक्तिमा आउने गर्दथ्यो । तर ६० को दशकपछि क्रमशः विद्यार्थी संख्या ओरालो लाग्दै गयो । त्रि. वि. को प्रविणता तहको अन्त्य, उल्लेखनीय संख्यामा उच्च–माध्यमिक विद्यालयहरुको स्थापना र तराईका शहर÷राजधानीका शैक्षिक संस्थाहरुप्रति विद्यार्थीहरुको बढिरहेको आकर्षणको यो एउटा स्वाभाविक नतिजा थियो । वि.सं. २०६९ सम्म त्रि. वि. को ३ फ्याकल्टी अन्तर्गतका विषयहरु अध्यापन हुने यस क्याम्पसमा त्यस पश्चात् भने त्रि।वि। को विज्ञान तथा प्रविधि अध्ययन संस्थान (Institute of Science and Technology/IOST) अन्तर्गत ४ वर्षे स्नातक तहको बागवानी तथा पुष्पविज्ञान व्यवस्थापन (Bachelor of Science in Horticulture and Floriculture Management) विषय पनि संचालनमा आयो । तत्कालिन समयमा नेपालमा कृषि र पशु विज्ञान अध्ययन संस्थान (Institute of Agriculture and Animal Science/IAAS) अन्तर्गतका ४ क्याम्पसहरु (रामपुर सहित ३ आंगिक र १ सामुदायिक) र पुर्वाञ्चल विश्वविद्यालयका २ निजि क्याम्पसहरु मात्र कृषि स्नातक पढाइ हुने गरेकोमा म।र।ब।क्याम्पसले पनि स्वायत्तता प्राप्ति पश्चात् नमुना कोर्ष निर्माण गर्दै आफुलाई प्राविधिक कृषि शिक्षा प्रदान गर्नेे संस्थाको समुहमा मिसायो । त्यसको ठिक २ वर्ष अघि नेपालमा पहिलोपटक Land Grant  Model मा प्राविधिक धारको कृषि तथा वनविज्ञान विश्वविद्यालय (Agriculture and Forestry University/AFU), रामपुर चितवनको जन्म भए ता पनि शैक्षिक कार्यक्रमहरु भने वि.सं. २०६९ बाट नै संचालनमा आएको थियो ।

कुनै पनि नयाँ कार्यक्रम संचालन गर्दा त्यसले गति लिन केहि समय अवश्य लाग्छ । त्यहाँ आवश्यक दक्ष शिक्षक, प्रयोगात्मक कक्षा, उपकरणहरु, फिल्ड आदि अत्यन्तै महत्वपूर्ण कुराहरु हुन्छन । तर, मरब क्याम्पस इलामको हकमा भने त्यो ठिक उल्टो भयो । हरेक ब्याचमा २४ जना विद्यार्थी कोटा भएपनि उल्लेखनीय निवेदन पश्चात् सुरुवाती वर्षमै उक्त संख्या ३० मा पुग्यो । अत्यन्तै कम प्रचारका बाबजुद पनि त्यस पछिका शैक्षिक सत्र हरुमा विद्यार्थीहरुको भर्ना निवेदन संख्या पनि ह्वात्तै बढ्यो । विषय सुरु गरेको केहि वर्षमै म।र।ब। क्याम्पस इलाम, पुर्वको ताप्लेजुङ्गदेखि पश्चिमको बैतडी सम्मका विद्यार्थीले भरिएको ‘मिनी–नेपाल’ को झल्को दिने शैक्षिक संस्था बन्यो । २ जनाको संख्यामा नियुक्त भएका प्राध्यापकहरुद्वारा संचालित बागवानी विभागमा विषयगत शिक्षकको चरम अभाव भएपछि पहिलो वर्षबाटै म।र।ब। क्याम्पसकै अन्य संकायका प्राध्यापकहरु, त्रि.वि. IAAS का प्राध्यापकहरु, त्रि.वि. IOE का प्राध्यापकहरु र AFU रामपुरका प्राध्यापकहरुसंग करार सम्झौता (Course Contract) गर्दै क्याम्पस अघि बढ्यो । त्यस पछिका वर्षहरुमा धेरै प्राध्यापकहरुको क्याम्पसमा नियुक्ति भयो, तर अहिले पनि केहि केहि विषयहरु प्राध्यापक अभावका कारण यसरी नै संचालन गरिन्छ । यो समस्या इलाममा मात्र नभएर, अन्य ठाउँका शैक्षिक संस्थाहरुमा पनि छ ।

कोर्ष अध्यापन गराउदै अघि बढ्दा कृषि र वागवानी विज्ञानका विज्ञहरुद्वारा पाठ्यक्रममा धेरै त्रुटी रहेको र यसले आउने दिनहरुमा विद्यार्थीहरुलाई ठुलो असर पर्ने औल्याए । उक्त पाठ्यक्रम भारतको सिक्किम विश्वविद्यालयको हुबहु साभार थियो । केहि कुराहरु नेपाली माटो सुहाउदो भए तापनि अधिकांश विषयहरुसमग्र नेपाल र कृषिका नीति नियम सुहाउने खालको पटक्कै थिएन । त्यसपछि २ पटक पाठ्यक्रम परिमार्जन गर्दै यस विषय अन्ततः B.Sc. Horticulture का नाममा परिणत भयो, र त्रि.वि. कै कृषि र पशु विज्ञान अध्ययन संस्थान (IAAS ) अन्तर्गत संचालित भयो । त्यसको १ वर्ष पछि वि.सं. २०७४ सालमा यस क्याम्पसले आफ्नो पहिलो ब्याचलाई (वि.सं. २०६९ मा भर्ना भएका) सफल अवतरण गराउदै उत्तीर्ण गरायो । हालसम्म यस कार्यक्रमका ४ वटा ब्याच उत्तीर्ण भैसकेका छन्भने ४ वटा ब्याचका विद्यार्थीहरुहाल अध्ययनरत छन् ।

के हो त मूल समस्या ?

यस कार्यक्रम सुरु गर्दा ४ वर्ष पछि के हुन्छ त भन्ने योजना सहित नखोलिएको प्रष्ट झल्किन्थ्यो । अन्य कुरामा स्वयतत्ताको सहि उपयोग भएको होला, तर यस विषयमा दुरुपयोग गर्दै भावी योजनाविहीन कार्यक्रमको थालनी गरियो । नयाँ कार्यक्रम सुरु गर्दा भवन, प्रयोगशाला, फिल्ड, केहि थान प्राध्यापक राखेर मात्र हुदैन। त्यसका मुख्य कुरा नीतिगत विषयहरु रहने गर्छन्। तर यस विषयका हकमा भने पाठ्यक्रम बनाउदा त्रि.वि.IAAS र AFU रामपुरको विवादको बहानामा चोर बाटो प्रयोग गर्दै त्रि.वि. को IOST बाट सम्बन्धन र कार्यक्रम बनाइयो । उक्त समय तत्कालिन क्याम्पस प्रमुख, संचालक समिति र क्याम्पसका जिम्मेवार व्यक्तित्वहरुबाट अत्यन्तै ठुलो गल्ति भएको थियो । यसर्थ, कृषि क्याम्पस÷कार्यक्रम सुरु गर्दा कृषि कै अध्ययन संस्थान वा व्यवस्थापनको कार्यक्रम सुरु गर्दा व्यवस्थापनकै संकाय अन्तर्गत जानु पर्छ । यो कि त उक्त कार्यमा संलग्न व्यक्तिहरुको गलत नजिर थियो, कि त विज्ञटोलीको ठुलो कमजोरी । हाल बिध्यमान रहेका प्रमुख दुई समस्याहरु – लोकसेवा आयोग नेपाल अन्तर्गत कृषि सेवाका विभिन्न समुहमा प्रतिष्पर्धा गर्न अयोग्य ठहरिनु र स्नातक अध्ययन पश्चात् नेपालकै विश्वविद्यालयमा कृषि स्नातकोत्तर अध्ययन गर्ने ढोका बन्द गरिनु, मुख्यतः यहि गल्तिको नतिजा हुन् । किनभने कार्यक्रम सुरु गर्दा सहि योजना सहित अगाडि बढेको भए आज यो स्थिति आउने थिएन । पारिपट्टिको सिक्किमेली पाठ्यक्रमलाई टपक्क टिपेर वारि इलाम ल्याएर ‘जागिर खाने हैन उद्यमी बनाउने कार्यक्रम पो हो त’ भन्नु आफैमा हास्याँस्पद थियो । देशको खस्किदो कृषि विकाश र वर्तमान समयमा उद्यमी बनाउने कुरा घोकाएर वा पढाएर बनिने कुरा हैन। अर्को, हरेक विद्यार्थीका आफ्नो भविष्यको बाटो के समात्ने भन्ने आफ्ना–आफ्ना सपना हुन्छन् ।

के प्रयास गर्यो त क्याम्पसले ?

माथि उल्लिखित जटिल समस्याहरुको नालीबेली खोतल्दैै गर्दा, क्याम्पसले केहि पनि गरेन भन्नु गलत हुन्छ । आफ्नै बलमा एउटा प्राविधिक कार्यक्रम सुरु गर्नु, विभिन्न समयमा पाठ्यक्रम परिमार्जन गर्नु र वि.सं. २०७३ मा IAAS अन्तर्गत कार्यक्रमलाई समावेश गराउन पहलकदमी गर्नु सामान्य कुरा थिएन । त्यसपछि पनि वि.सं. २०७५ पछि कृषि मन्त्रालय अन्तर्गत संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (PMAMP) मा B.Sc. Horticulture का अन्तिम सत्रांतका विद्यार्थीहरुलाई Academic Internship मा पठाउनु अत्यतै राम्रो काम हो। यसले क्याम्पसका विद्यार्थीहरुलाई नेपालको कृषिका बारे अध्ययन, अनुसन्धान र आफ्नो सिकाइलाई प्रयोगात्मक उपयोग गर्न ठुलो मद्दत गरिरहेको छ।

साथै, लोकसेवा आयोगमा प्रतिष्पर्धा गर्ने र कृषि स्नातकोत्तर अध्ययन गर्न पाउनु पर्ने विषयमा पनि क्याम्पसले पहलकदमी नगरेको हैन। तर उक्त कदम सुरु गर्ने, तर बीचमै लथालिङ्ग छोड्ने प्रवृत्तिले केही बनिसकेका काम पनि अन्तिम समयमा भत्किएका छन् । यसका लागि क्याम्पसमा हुने गरेको अनावश्यक राजनीतिक (प्राध्यापक र विद्यार्थी संगठनहरु) हस्तक्षेप पनि उत्तिकै भाग्दार छन् । दोश्रो, यस विषयलाई जरैसम्म बुझेर समस्याको समाधानमा खटिन सक्ने असल नेतृत्वको अभाव क्याम्पस प्रशासनमा सदैब खड्किरह्यो । यो विषय सुरुवात देखि हालसम्म मात्र ६ जना क्याम्पस प्रमुख परिवर्तन भइसक्दा पनि नीतिगत समस्याहरु ज्यु का त्यू नै रहनुले प्रमाणित गर्दछ ।

सरोकारवालाहरुको भूमिका के रह्यो ?

इलाममा कृषि संकायको बागवानी स्नातक कार्यक्रम संचालन भएको करिब करिब १ दशक पुग्न लाग्दा समेत जिल्लामा रहेका क्याम्पससँग प्रतक्ष्य अप्रतक्ष्य जोडिएका व्यक्तित्वहरु, विभिन्न राजनीतिक पार्टीहरु, विद्यार्थी संघ संगठनहरु, स्थानीय सरकार र नागरिक समाजले विश्वविद्यालय अन्तर्गतको प्राविधिक शिक्षालाई राम्रो सँग बुझ्न नसकेको पाइयो। सबैभन्दा दुखद कुरा, क्याम्पस केन्द्रित विद्यार्थीहरुकै हक हितका लागि लड्छौं भन्ने विभिन्न विद्यार्थीसंगठनहरुबाट पनि यस विषयलाई गम्भीर ढंगले अगाडी बढाइएको पाइएन । क्याम्पसमा आफ्नो संगठनको प्रभुत्व जमाउन बाहेक उनीहरुबाट यस समस्या केन्द्रित सहयोग कमै पाइयो। एकाध बाहेकका नेतृत्वमा यो क्याम्पसको मात्र नभई समग्र त्रि.वि. कै महत्वपूर्णसमस्याहो भन्ने सामान्य ज्ञान सम्म नभएको कुरा वर्तमान समयमा बागवानी विद्यार्थीहरुले गरिरहेको आन्दोलनमा (#justiceforhorticulturestudents) आधिकारिक रुपमा मौन बस्नुले छर्लंग पार्दछ ।

अन्य सरोकारवालाहरुले पनि नेपालमै पहिलोपटक र हालसम्म एकमात्र क्याम्पसमा अध्यापन हुने यस विषय कृषि कै एउटा अभिन्न अंग हो, र इलाम जिल्लाकै एउटा सम्पत्ति हो भन्ने बुझ्नै नसकेको पाइयो । यसका साथै त्रि.वि. कै आंगिक क्याम्पस मरब क्याम्पस इलाममा बागवानी कार्यक्रमलाई जन्माउने व्यक्तित्वहरुको पहल बाटैहालसालै इलाम नगरपालिकाले पुर्वान्चल विश्वविद्यालयको सम्बन्धनमा द्य।क्अ।ब्न कार्यक्रम ल्याउनु भनेको इलाममा प्राविधिक शिक्षाको विकासभन्दा पनि सीमित व्यक्तिहरुको फाइदाका लागि खोलिदै छ भन्ने कुरालाई प्रमाणित गर्दछ । यो कार्य त म।र।ब। क्याम्पस रती समग्र बागवानी विज्ञानका विद्यार्थीहरुको सुन्दर भविष्यमाथि खेलवाड गर्न खोज्नु हो ।

के हो त समाधानको बाटो?

१. क्याम्पसले गर्नुपर्ने कार्य
करिब १ दशकको तितो अनुभवबाट शिक्षा लिदै लोकसेवा आयोगमा बागवानी विज्ञानका Credit Hours पुगेका समूहरु बागवानी, माटो विज्ञान, बाली संरक्षण, बाली बिज्ञान र कृषि प्रसारमा प्रतिष्पर्धा गर्न पाउनु पर्ने मागलाई मजबुद बनाएर सबै सरोकारवालाहरु लाई साथ लिएर अघि बढ्नु पर्ने देखिन्छ । त्रि.वि. कै IAAS मा कृषि स्नातकोत्तर अध्ययन गर्न पाउने, पुर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रममा पनि अध्ययन गर्न पाउने, विदेशका विभिन्न विश्वविद्यालयहरुमा बिना रोकतोक अध्ययन गर्न पाउने तर नेपालकै कृषि तथा वनविज्ञान विश्वविद्यालयमा चाहिँ नपाउने (कुल १४ कृषि स्नातकोत्तर विषय समूह मध्ये १ बागवानीमा मात्र) कुराले यस विषयलाई चाहि प्रष्ट रूपमा विभेद गरेको बुझिन्छ। अहिलेको बदलिदो शिक्षा प्रणालीमा डिग्रीको नाम साघुरो भएको कारण देखाउदै योग्य विषयमा कृषि स्नातकोत्तर अध्ययन गर्न बन्चित गराइनु आफ्नै देशमादोश्रो दर्जाको डिग्री बोक्नु सरह हो। यसका लागि पनि क्याम्पसले Credit Hours पुगेका विषयमा विद्यार्थीहरुले अध्ययन गर्न पाउनुपर्ने मागलाई समबन्धित निकायसंग खरो रुपमा छलफल गर्नु पर्ने आवश्यक छ ।

छोटो समयमा उल्लेखनीय भर्ना आवेदन हुने क्याम्पसमा आजको मितिसम्म विद्यार्थी भर्ना संख्या घट्दै गइरहेको छ। यसको मुख्य कारण लोकसेवा र उच्च शिक्षा सुनिश्चितता हुन नसक्नु नै हो। अग्रज र साथिभाइबाट पाइने निराशाजनक जानकारीले गर्दा पछिल्लो समयमा कोहि पनि नयाँ विद्यार्थीहरु आफ्नो भविष्य बर्बाद गर्न यस कार्यक्रम अध्ययन गर्न आँट गर्न नसकेको पाइएको छ। त्यसैले यसलाई यथाशिघ्र समाधानको बाटोमा लाग्दै आफ्नो क्याम्पसबाट उत्तीर्ण गरेर गएका विद्यार्थीहरु कहाँ कहाँ खपत भएका छन् , कहाँ कहाँ अध्ययन गरिरहेका छन् भन्ने सामान्य तथ्यांक क्याम्पसले राख्न सक्नु पर्छ। यहाँबाट उत्तीर्ण भएर गएका विद्यार्थीहरुले अन्य संस्थाका विद्यार्थीहरु जस्तै विभिन्न सरकारी (लोकसेवा आयोग बाहेकका वा करार सम्झौतामा), गैरसरकारी क्षेत्रमा कार्यरत भइरहेका रथोरै संख्यामा उद्यमी पनि बनिरहेका छन्। उच्च शिक्षा अध्ययन गर्ने सवालमा पनि धेरै उतिर्ण विद्यार्थीहरु नेपाल (कृषि तथा वनविज्ञान विश्वविद्यालयको हकमा बागवानी समुह मात्र), भारत, अमेरिका लगायत देशका अब्बल दर्जाका विश्वविद्यालयहरुमा पूर्ण छात्रवित्तिमा अध्ययन गरिरहेका छन् । यो नै क्याम्पस कार्यक्रमको सफलता हो, गुणस्तरीय शिक्षाको नतिजा हो, जसले भावी विद्यार्थीहरुलाई आकर्षित गर्न सक्दछ । यसका साथै पर्याप्त मात्रामा प्राध्यापक, चुस्त दुरुस्त प्रयोगात्मक कक्षा, फिल्ड जस्ता आन्तरिक समस्याहरु पनि सुधारिदै लैजानु पर्दछ।

२. जिम्मेवार व्यक्तिहरुले गर्नुपर्ने कार्य

यस विषयसँग सम्बन्धित सम्पूर्णसरोकारवालाहरुसाथै विद्यार्थी संगठनहरुले समस्याहरुलाई यथाशिघ्र समाधान र आउने दिनमा विद्यार्थी संख्या पुरानै लयमा फर्काउन के गर्न सकिन्छ भन्ने कुरामा क्याम्पसलाई कडा रूपमा झकझकाउनु पर्ने स्थिति आइसकेको छ। आउने दिनमा इलाम जिल्लाले यस कार्यक्रम र क्याम्पस मार्फत भरपुर उपयोग गर्दै किसानका समस्याहरुलाई उजागर गर्न सक्छ । विभिन्न अनुसन्धानका कार्यक्रमहरुमा विद्यार्थी र प्राध्यापकहरुको ज्ञानको प्रयोग गरेर प्रतक्ष्य लाभ लिन सक्छ । जति पनि बिकसित देशहरु छन्, त्यहाँको कृषिमा अध्ययन संस्थान, अनुसन्धान र प्रसारका कार्यक्रमहरु एकै साथ लगिएको पाइन्छ , त्यसैको नतिजा आज उनीहरुनाफामुखी कृषि कर्म गर्न सफल भएका छन्।

दोश्रो, इलाम नगरपालिकाले हालसालै म।र।ब। क्याम्पस इलामका पुर्व क्याम्पस प्रमुख श्री जस बहादुर लुन्गेलीको नेतृत्वमा र केहि विज्ञ समूहहरुको सिफारिसमा पुर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनप्राप्त गरि अर्को सामुदायिककृषि क्याम्पस खोल्ने निर्णय गरेको छ, जुन आफैमा चरम विवादको भुमरीमा परिसकेको छ। शिक्षामा स्वस्थ प्रतिष्पर्धा हुनु आफैंमा नराम्रो कुरा हैन, तर इलाम सदरमुकाममै संचालित बागवानी स्नातकले समग्र कृषिको विषयहरु समेट्छ। उक्त समुहले माटो सुहाउदो बाली लाउने, उत्पादन लिने, प्रशस्त मात्रामा मुनाफा कमाउने, आदि उद्देश्यले इलाममा अर्को कृषि क्याम्पस (B.Sc.AG ) आवश्यक छ भन्ने तर्क गरेको छ, जुन सम्पूर्ण विषयहरुबागवानीले पहिले नै बोकेको छ । बागवानी कृषिको एउटा अभिन्न पाटो हो जसमा विशेषतस्तरकारी, फलफुल, फुलखेति, उच्च मुनाफा दिने बिरुवाहरु (High Value Crops)  वा जडिबुटी बिरुवाका विशेष अध्ययन गरिन्छ । यसको मतलब बागवानीमा डिग्री (Specialized ) हुनु भनेको कृषिका आधारभूत विषयहरु अध्ययन अध्यापन गराइदैन भन्ने हैन । उक्त समूहले भने जसरि विभिन्न पालिका, प्रदेश र संघिय सरकार स्तरीय MOU गरेर भइ राखेको यसै बागवानी विषय लाई दिर्घकालिन ढंगले अघि बढाउन सकिन्छ । यदि इलाम नगरपालिकाले सहि ढंगले कृषि कार्यक्रम सुरु गर्ने सोच राखेको नै हो भने पनि बरु कृषि र योजना क्षेत्रमा रहेरै काम गरिसकेकाविषय विज्ञहरुको गहिरो अध्ययनबाट M.Sc. AG का कार्यक्रमको थालनी गर्नुपर्दछ। तर वर्तमान समयमा इलाममा अर्को कृषि क्याम्पस (B.Sc.AG) खोलिनुपर्छ भन्ने डम्फु बज्नु भनेको कृषिको सच्चा शैक्षिक र अनुसन्धानमुलक विकासका लागि नभएर केवल अर्को कृषि क्याम्पस खोल्दा राम्रो व्यापारलाभ पाइने, रिटायर्ड व्यक्तिहरु विभिन्न पद ओगटेर रजाई गर्न पाइने, नातावाद कृपावाद हाबी गर्न सकिने, मनोमानी ढंगले शिक्षकरकर्मचारी भर्ति गराउन पाइने, कसैका अलपत्र परेर रहेका कैयौं रोपनी जग्गा फिल्डका नाम दिएर क्याम्पसलाई बेच्ने, आदि मात्र हुन् भन्ने सबैले बुझ्न जरुरि छ ।

अन्त्यमा 

यस बागवानी विषय सँग जोडिएका जिल्लामा रहेका सम्पूर्ण सरोकारवाला व्यक्तित्वहरुले यो पनि बुझ्न जरुरि छ कि के इलाम जिल्ला कृषिमा अग्रणी जिल्ला, ७ ’अ’ र नगदेबालीको राजधानी भन्दै विभिन्न ’ट्रायल’ गर्ने थलो मात्र हो? के यहाँ प्रकृतिले दिएको उर्बर भुमि सदरमुकाममा प्रपोजल कोर्दै कहिले शिक्षा र कहिले किसान संग जोडिएको प्रोजेक्ट बनाउने ठालुहरुको मागी खाने भाडो मात्र हो?के चलिराखेको कार्यक्रमका समस्याहरु समाधान गर्न सकिएन भनेर जिम्मेवार व्यक्तिहरु नै भाग्दै अर्को क्याम्पस खोल्ने कार्य इलाम जिल्लाको लागि ठिक हो त ?सबैले म।र।ब। क्याम्पसको भविष्यबारे सोच्न ढिला भैसक्यो कि!

(लेखक म.र.ब.क्याम्पसबाट बागवानी विज्ञानमा स्नातकउत्तीर्ण (वि.सं. २०६९ – २०७४) र हाल साउथ डकोटास्टेट युनिभर्सिटी, संयुक्त राज्य अमेरिकामा स्नातकोत्तर अन्तिम सत्रका विद्यार्थी हुन्।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार