इलाम: किरात धार्मिक पर्यटकीय स्थलको रूपमा चिनिएको ‘खत्रक्पा’ पूर्वाधारको अभावमा अलपत्र बन्दै गएको छ । देउमाई नगरपालिकाको ९ नम्बर वडा माई र देउमाई खोलाको किनारमा अवस्थित खत्रक्पा संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ ।
राष्ट्रिय विभूती महागुरू फाल्गुनन्दले ज्ञान प्राप्त गरेको खत्रक्पा पूर्वाधारको अभावमा संरक्षण गर्न बारिएको गह्रो, ढोका, गेट, खोला किनारको कुवा लगायतको पूर्वाधार भत्किन थालेको स्थानीय लोकबहादुर लिङ्देनले बताए ।
पूर्वाधारको अभावमा खुल्ला आकासलाई छानो बनाएको लामपातेकै फेदमा भक्तजनले थान थापेर पुजा गर्दै आएका छन् । भाकल पुरा गर्न पुग्ने तिर्थालुले ठाउँको अभावमा खोलाको किनार खुल्लै ठाउँमा पुजाआजा लगायतको धार्मिक क्रियाकलाप गर्दै आएको स्थानीयले जानकारी दिए ।
पुजाका लागि मन्दिर र बस्ने ठाउँको अभावमा वर्षौ देखिको भक्तजनको समस्या समाधानमा स्थानीय सरकारको चासो नपुगेको संरक्षणमा लागेका स्थानीय गंगा प्याकुरेल बताउँछन् ।
महागुरू फाल्गुनन्दले ज्ञान प्राप्त गरेको खत्रक्पामा पुगेर पुजाआजा गरेमा चित्ताएको पुग्ने, भगवानसँग मागेको कुरा प्राप्त हुने जन विश्वासका साथ बर्सेनी हजारौ किरात धर्मावलम्बी पुग्ने गरेपनि सहज रूपमा धार्मिक त्रियाकलाप गर्न सकेका छैनन् ।
धार्मिक पर्यटकीय स्थलको पहिचान बनाउँदै गरेको खत्रक्पाको आवश्यक संरक्षण र विकासमा सरोकारवालाले चासो नदिदा अलपत्र पर्न थालेको महागुरू फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा धार्मिक पर्यटकीय संरक्षण सम्बर्धन समितिका अध्यक्ष काजीमान लिङ्देनलको भनाई छ ।
धार्मिक आस्थाले हेरिने माईखोलामाको किनारमा अवस्थित खत्रक्पा माई नगरपालिका र देउमाई नगरपालिकासँगै माङ्सेबुङ गाउँपालिकाको संगम स्थल पनि हो । यहाँ वर्षेनी माघे संक्रान्तिको अवसरमा धार्मिक मेला समेत लाग्ने गरेको छ ।
भक्तजन र तिर्थालुका सहजताका लागि संरक्षण र विकासको संस्थागत काममा लागेको महागुरू फाल्गुनन्द ज्ञानभूमि खत्रक्पा धार्मिक पर्यटकीय संरक्षण सम्बर्धन समिति एक्लैको काम पानीको थोपा जस्तै बनेको छ । लामो समय संरक्षणमा ध्यान जान सकेन भने धार्मिक ऐतिहासिक महत्व बोकेको खत्रक्पा बगरमा परिणत हुने संभावना छ ।
प्रत्येक हिउँद झापाबाट माई नगरपालिका र सदरमुकाम इलाम बजारबाट जीतपुर नवमी बजारहुँदै सवारीको सधानमा पूग्न सकिने यो ठाउँको विकास गर्न सरकारी लगानी गर्न आवश्यक रहेको वडा सदस्य हेमराज लिम्बुले बताए ।
खोलाको जोखिम खेपिरहेको खत्रक्पालाई संरक्षण गर्न अहिलेसम्ममा आठ लाख पचास हजार खर्च भएको छ । जसमा माई नगरपालिकाले सात लाख र देउमाई नगरपालिकाले एक लाख पचास हजार खर्च गरेका छन् । तर भौगोलिक रूपमा अप्ठयारो ठाउँ रहेकोले संरक्षणका लागि सरकारी तवरबाट ठूलै धनराशी खर्च गर्नु पर्ने देखिन्छ ।
किरात समुदायमा धर्मदर्शनसँगै समाज सुधारको काम गरेका फाल्गुनन्दले बाल्यकालमा खत्रक्पामा रहेको लामपातेको रूखको फेदमा आध्यात्मिक शिक्षा लिएका थिए । उनले यसै स्थानमा किरात सिरिजंगा लिपि र भाषाको ज्ञान प्राप्त गरेको जानकारहरूको भनाई छ ।