इलाम: इलामको सन्दकपुर गाउँपालिका आफैमा प्राकृतिक भ्यू टावर हो । यहि प्राकृतिक भ्यू टावरलाई थप सहज बनाउँन वडा नम्बर ४ माबुथाममा कृतिम भ्यूटावर जोड्दै छ । जसले प्राकृतिक मनोरम दृष्य अवलोकन गर्न थप सहयोग गर्नेछ ।
अहिले भ्यू टावरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले निर्माण गरेको टावरको काम करिब ९० प्रतिशत सकिएको वडा अध्यक्ष वर्तमान गुरूङले बताए ।
पाँच तले भनिएको टावर बजेटसँगै प्राकृतिक र प्राविधिक हिसाबले बनाउँन असहज हुने भएपछि तीन तलामा टुङ्गयाइएको छ । टावर निमार्ण सकिएपनि फिनिसिङ लगायतको काम बाँकी रहेको छ ।
निर्माणको काम वर्षाले रोकिएको भएपनि भदौं महिनादेखि फिनिसिङको काम सक्न करिब तीन महिना लाग्ने वडा अध्यक्ष गुरूङले जानकारी गराए । उनका अनुसार भ्यूटावर क्षेत्रमा सौचालय भवन, कफी हाउस, गार्डेनिङसँगै, सवारी पार्किङकको काम बजेटको अभावले बाँकी रहने छ ।
निर्माणाधिन भ्यू टावर चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले बताए । उनले गाउँपालिकाबाट थप बजेट व्यवस्थापन गरी टावर निर्माण सम्पन्न गर्ने योजना रहेको जानकारी गराए ।
गाउँपालिकाले २०७४ सालबाट निर्माण शुरू गरेको भ्यू टावर निर्माण भएपछि पर्यटनको माध्यमबाट आर्थिक स्रोत जुटाउँन सकिने भएपनि सिमित बजेटले गर्दा क्रमागत रूपमा निर्माणको काम हुँदै आएको बताइएको छ ।
भारतीय सीमानको करिब सात किलोमिटर नेपाल भित्र टावर बनेपछि जिल्लाको विभिन्न ठाउँ, पूर्वी तराईका फाँटहरूसँगै भारत पश्चिम बंगालको दार्जीलिङ र सिक्किमको विभिन्न भूभागको अवलोकन गर्न थप सहज हुँने स्थानीयवासीको भनाई छ ।
माबुथाम आफैमा प्राकृतिक भ्यूटावर भएको बताउँदै स्थानीय उमेश गुरूले धार्मिक र सांस्कृतिक महत्व बोकेको थामबाट थप दृश्यावलोकन गरी रमाउँन आन्तरिक तथा भारतीय पर्यटक आउँने सक्ने बताए ।
१२ रोपनी क्षेत्रफलमा फैलिएको माबुथाम क्षेत्रको भ्यू टावर निर्माणमा हालसम्म २६ लाख खर्च भइसकेको छ । टावर वरिपरि पार्क सडकबाट टावर क्षेत्रसम्म पुग्ने पदमार्ग निर्माणसँगै बाँकी काम सक्न ५० लाख खर्च हुने निर्माण समितिले जनाएको छ ।
समुन्द्र सतहबाट २ हजार आठ सय मिटर उचाईमा रहेको माबुथाममा इलामको लेकाली जीवनशैली र प्राकृतिक सुन्दरतामा रमाउन सकिन्छ । यसका साथै लोपउन्मुख चराचुरुङ्गी, वन्यजन्तु लगायतको अवलोकन गर्न सकिने स्थानीयवासीको भनाई छ ।