अन्तर्राष्ट्रिय आदिवासी दिवस


सुयोग ढकाल  209 पटक हेरिएको

‘आदि’ भनेको आदिम समयदेखि भन्ने बुझाउँछ । यसर्थ, कुनै पनि ठाउँमा आदिम समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनी खोस्री आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ ।
आदिवासी र तिनको संस्कृति संरक्षण निम्ति २३ डसेम्बर १९९४ को संयुक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत ‘कर्म र मर्यादाका लागि दशक’ भन्ने नाराका साथ आव्हान गरेको थियो ।

यो दिवस पहिचान गर्न सिर्जित संयुक्त राष्ट्र संघको लोगो बङ्गलादेशका कलाकार रेबन देवानले तयार पारेका हुन् । यो लोगोमा हरियो पातका दुई वटा कान जस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन् २०२१ को नारा भने’Leaving no one behind, Indigenous peoples and the call for a new social contract’ तय भएको छ । यसको अर्थ चाहिँ नयाँ सामाजिक संरचनाको आवश्यकता अनि आदिवासीसहितको समावेशी समाजको पैरवी भन्ने लाग्छ ।

मानव सभ्यताको विकाससँगै बसाईँ–सराईंको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरूको घनत्व बढ्न गई उनीहरूको पहिचान, अस्तित्व, फरक गुण अनि रिति–थितिमा कमी आउन थालेको छ । विश्वको कुल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरूले विश्वको कुल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन् । पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ, किनकि पछि बसोबास गरेर आएका आप्रवासी समुदायहरू पेशा, पहिचान, बसाईँ लगायतका विविध कारणहरूले हाबी हुँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रिति–रिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । अनेकन अध्ययनहरूले स्पष्टसँग आदिवासी र गैरआदिवासी समुदायबीच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुविधाहरूमा भएको ठूलो असमानता देखाउँछ । आफ्नो पहिचान र थलोका लागि पुस्तौँदेखि एकै ठाउँमा खनी–खोस्री, प्रकृतिसँग पैँठेजोरी खेल्दै आएका आदिवासी समुदाय विश्वका लागि प्राचीन सम्पत्ति हुन् । उनीहरूको पहिचान कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती भएको छ ।

बहु–जाति बहु–धर्म र बहु–संस्कृति भएको हाम्रो देश नेपालका अधिकांश भू–भागमा आदिवासी समुदायहरूको बसोबास छ । बद्लिँदो परिवेशसँगै आदिवासी समुदायमा प्रभावित भएको छ । तीव्र रूपमा उनीहरूले आफ्नो पहिचान, रिति अनि मौलिकतालाई जीवित राख्ने भरमग्दूर कोशिस गरिरहेका छन् । अर्कातिर त्यही मौलिकता नयाँ पुस्ताले भुल्दै गएको, पुराना संस्कृतिहरूलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको दृश्य अत्यास लाग्दो छ ।

तीतो सत्य के हो भने आदिवासीहरूको बसोवासलाई बिगार्दै अनि उनीहरूलाई विस्थापित गर्दै बनाइएका शहर, बसाईएका सभ्यता र जोडिएका कारखानाभन्दा उनीहरूको आफ्नो ठाउँमा हुने मौलिक उपस्थिति नै संसार र समुदायकालागि फाइदाकारक हुनेछ ।|

आदिवासी समुदायका लागि सहज, सरल र विकसित समाज हामी सबैको दायित्व हो । चाहे हामी गैरआदिवासी हौँ या आदिवासी समुदाय हौँ । आउँदो पुस्तालाई समाजको यथार्थ चित्र र विकासको उद्गमबिन्दुको प्रतिबिम्ब देखाउन जरुरी छ । आदिवासी दिवसको सबैलाई दायित्वबोध होस् । सबैमा शुभकामना ! @हाम्रो पात्रोबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार