पुस्ता हस्तान्तरण हुँन नसक्दा तन्नेरी पुस्ताले बिर्सदै ‘धान नाच’


याम माबोहाङ लिम्बू  834 पटक हेरिएको

इलाम: लिम्बुहरूको सांस्कृतिक पहिचान बोकेको ‘धान नाच’ तन्नेरी पुस्ताले बिर्सदै गएका छन् । सञ्चार प्रविधिले अरू जस्तै लिम्बु तन्नेरी पुस्तालाई तानेपछि सांस्कृतिक पहिचान भन्दा पनि आधुनिक जीवन शैलीमा रमाउँन थालेका छन् ।

‘धान नाच’ जसले लिम्बुलाई पहिचान दिलायो । र समुदायलाई चिनायो । बिचार भावनासँगै मनका चाहना साट्ने माध्यम बनायो, शुखमा होस या दुःखमा । तर, अहिले खुशीयाली र समवेदना बनेर मुहार पुस्तिकामा हराउँन थालेको छ ।

आधुनिक प्रविधिको सट्टामा मेलापात, हाट बजारसँगै सार्वजनिक ठाउँमा भाका बाँधेर बिचार भावनासँगै जीवन र मनका चाहना साट्ने माध्यम, आधुनिक सञ्चार प्रविधिको प्रयोग गर्ने तन्नेरी पुस्ताले सिक्न छाडेपछि लिम्बुहरूको सांस्कृतिक पहिचान बोकेको ‘धान नाच’ पुस्ता हस्तान्तरण नभई लोप हुन थालेको विज्ञहरूको भनाई छ ।

सुख दुःख बाँड्दै जीवन जोड्ने विवाहको माध्यमको रूपमा विकास भएको सांस्कृतिक नाचमा युवा पुस्ताले चासो नदेखाएपछि औपचारिक पर्वमा मात्र सिमित हुन थालेको किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद योङहाङ बताउँछन् ।

तन्नेरी पुस्ताले नाच्ने र गाउँने सीप सिक्न छोड्दै गएपछि हराउँदै जान थालेको हो । आपसमा भेटघाट हुँने सार्वजिक स्थल, हाट बजार, मेलापात, विवाह र सुध्याँई कर्ममा समेत सुख दुःख बाँड्न नाचिने नाच अचेल म्यूजिक भिडियो र चलचित्रको पर्दामा मात्र सिमित हुन थालेको उपाध्यक्ष योङहाङको भनाई छ ।

सांस्कृतिक पहिचानको रूपमा लिइने धान नाचसँगै पालामी भाका गाउँने गला र सीपको उत्तिकै आवश्यक छ । गाउँन र नाच्न दुई सीपको आवश्यता भएकोले धान नाचमा युवा पुस्ताले चासो नदिदा बिर्सदै गएको किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमको तर्क छ ।

परिचित होस वा अपरिचित जोसुकैसँग एक अर्काको हात समाएर यो नाच नाच्ने गरिन्छ । एक अर्काको हात समाएर एक कदम अघिपछि गर्दै, गोलो घेरा र तेर्सो लाइनमा कदम मिलाएर नाच्दा गाउँने गीति भाका नै पालाम हो । त्यसैले धान नाच्नेले पालाम गाउँन जान्नु अनिवार्य शर्त हो ।

नाचको कदम भन्दा नाच्दा गाइने पालामलाई बढी महत्व दिने गरिन्छ । पालाम गाउँन भाषा जान्नु पर्ने हुन्छ । भाषासँगै पालाम गाउँन नजानेर तन्नेरी पुस्तामा नाचको मोह भएपनि पुस्ता हस्तान्तरण हुँन नसकेको महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक मोहनसिंह थेबे बताउँछन् ।

कृषि युगमा आफूले उत्पादन गरेको अन्न र धानलाई जंगली जीवजन्तुसँगै पंक्षीबाट बचाउँन लिम्बू समुदायले विकास गरेको प्रविधि नै कालान्तरमा धाननाचको रूपमा विकास भएको बताइन्छ ।

फलाएको धान खलामा जम्मा गरेर माड्दै चराचुरूङ्गीबाट बचाउँन र धपाउन हा..हा..को आवाज नै कालान्तरमा धान नाचको पालामी भाकाको रूपमा विकास भएको बिज्ञहरूको भनाई छ ।

धान नाच्दा पालामको भाकामा एक अर्का बीचको मनको भावना र विचार साट्ने गरिन्छ । पालाम प्रश्नोक्तर शैलीमा गाइने भएकोले पालाम गाउँन भाषिक साहित्यको ज्ञान हुन आवश्यक हुँने धान नाचसँगै पालामका जानकार बखत आङदेम्बे बताउँछन् ।

धान नाच लिम्बु समुदायको बैवाहिक जीवनसँग अझै नजिक सांस्कृतिक नाच पनि हो । पछिल्लो तन्नेरी पुस्ता जसरी मुहार पुस्तिाकालाई माध्यम बनाएर बैवाहिक जीवनमा जोडिन्छन्, त्यसरी नै लिम्बु युवाको बैवाहिक जोडी छनौट गर्ने माध्यम धान नाच्न छोड्दै गएपछि, विचार भावनामा प्रेमलाप गरेर विवाह बन्धनमा जोडिने संस्कार लिम्बु समुदायमा इतिहास हुने संभावना बढ्दै गएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार