निषेधाज्ञाको १०१ दिन पुग्दा संक्रमणबाट निधन हुँनेको संख्या पनि १०१ पुग्यो, संक्रमण नियन्त्रण बाहिर


सेवारो खबर  199 पटक हेरिएको

इलाम: जिल्लामा कोरोना भाइरस तेस्रो लहरले प्रतिदिन एक जनाको दरले ज्यान गुमाइरहेका छन् । चेन ब्रेक गर्न गरिएको निषेधाज्ञाको एक सय एक दिन पुग्दा संक्रमणबाट निधन हुँनेको संख्या पनि १०१ पुगेको छ । संक्रमणको दर र निधन हुने दरलाई हेर्ने हो भने जोखिम नियन्त्रण बाहिर गएकाे अनुमान गर्न सकिन्छ ।

भाइरसको तेस्रो लहरको संक्रमणको गति तिब्र भएपछि गएको बैशाख २८ गतेदेखि जिल्लामा निषेधाज्ञा घोषणा भएको थियो । बैशाख ६ गते तेस्रो लहरको पहिलो संक्रमित भेटिएको जिल्लाको इलाम नगरपालिका भित्र भने संक्रमण तिब्र रूपमा फैलदै गएकाले बैशाख २२ गते निषेधाज्ञाको घोषणा गरिएको थियो ।

निषेधाज्ञाको  १०१ औं दिन आज बिहिबार कोरोना संक्रमणबाट चार जनाको निधन भएको जिल्ला प्रशासन कार्यालयले निकालेको तथ्याङ्कमा उल्लेख छ ।

इलाम नगरपालिकामा सबै भन्दा धेरै २९ जनाको निधन भएको छ । त्यस्तै सूर्योदय नगरपालिकामा २७, चुलाचुली गाउँपालिकामा १७ जनको कोरोना संक्रमणबाट निधन भएको तथ्याङ्क छ ।

माई नगरपालिका र रोङ, माङ्सेबुङ गाउँपालिकामा छ/छ जना,  र माईजोगमाई गाउँपालिकामा ५ जनाको ज्यान गएको छ । यस्तै देउमाई नगरपालिकामा ४ र सन्दकपुर गाउँपालिकामा एक जनाको ज्यान गएको तथ्याङ्क छ ।

आज जिल्लामा ४७ जना संक्रमित थपिएका छन् । योसँगै अहिलेसम्मका चार हजार सात सय २ जनामा संक्रमण देखिएको छ ।

संक्रमित मध्ये तीन हजार छ सय ८ जना संक्रमण मुक्त भएको तथ्याङ्क छ । ९ सय ७४ जना होम आइसोलेनसमा रहेका छन् । आइसियुमा १० जना, ९ जनाको सामान्य उपचार भइरहेको जनाइएको छ ।

जिल्लामा अहिलेसम्ममा १६ हजार ९ सय ९१ जनाले कोरोना परीक्षण गरेका छन् । उनिहरू मध्ये १५ हजार ९९ को एन्टिजेन र आठ सय ९२ जनाको पिसिआर बिधीबाट परीक्षण गरिएको छ ।

नियन्त्रणमा काम प्रभावकारी नहुँदा संक्रमणको दर बढ्दै

नियन्त्रणको काम प्रभावकारी हुन नसक्दा संक्रमितसँगै ज्यान गुमाउँनेको संख्या बढ्दै गएको हो । नागरिक आफै जिम्मेवार नहुँदा संक्रमणको र बढ्दै गएको हो ।

अहिलेसम्म जिल्लामा महामारीको तेस्रो लहरको चेन ब्रेक हुन सकेको छैन । सरकारी सुरक्षा संयन्त्र बाहेक महामारी नियन्त्रणमा अन्य निकाय खासै लागेको देखिदैन ।

सर्वसाधारण नागरिक अझै नियन्त्रण र सुरक्षाको विषयमा गम्भीर नभएको प्रतिकृया सामाजिक सञ्जालमा लेख्न थालेका छन् ।
नियन्त्रणमा कोरोना भाइरसको एकातिर लामो समयको निषेधाज्ञाले उद्योगी व्यवसायी मात्र होइन सर्वसाधारणको जीविकोपार्जन समेत समस्यामा परेको छ ।

समस्यलाई सरकारले उचित सम्बोधन नगर्दा महामारीसँगै आफ्ना व्यवसायिक गतिविधी गर्न बाध्य छन् ।
नीजि तथा सार्वजनिक सवारीका साधन स्वाथ्य सुरक्षा बिना सञ्चालनमा छन् । खुल्ला रूपमा नदेखिएपनि बजार भित्री भागमा भीडभाड उस्तै भएको स्थानीयले बताउँन थालेका छन् ।

महामारी नियन्त्रणको एउटै बिकल्प निषेधाज्ञा जिल्लामा प्रभावकारी भएको देखिदैन । प्रत्येक दिन संक्रमितको दरलाई हेर्ने हो भने स्थीति भयावह हुँदै गएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार