कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निशुल्क उपचारमा जुट्दै चुलाचुली गाउँपालिका


सेवारो खबर  162 पटक हेरिएको

इलाम: चुलाचुली गाउँपाकिाले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको निशुल्क उपचार गराइरहेको छ । संक्रमितको उपचारमा गाउँपालिकाले २५ लाख बढी खर्च गरी सकेको बताइएको छ ।

अस्पतालमा मेडिकल अधिकृत डाक्टर नभएपनि अन्य स्वाथ्यकर्मीले नियमित रूपमा बिरामीको स्वास्थ्य जाँच र उपचार भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा भर्ना भएको कोराना संक्रमित ५२ जनाको सफल उपचार गराएको स्वाथ्य शाखा प्रमुख जनस्वाथ्य निरिक्षक दुष्यान्त दाहालले जानकारी गराए ।

गाउँपालिकाको बन, वातावरण तथा विपद व्यवस्थापन समिति मार्फत संक्रमितलाई यातायात, खाने बस्ने, बिरामी कुरूवासँगै औषधी उपचार सेवा समेत निशुल्क गरिरहेको स्वाथ्य शाखा प्रमुख दाहालले बताए ।

गाउँपालिकाको ३ नम्बर वडाको पेल्टिमारीमा रहेको सामुदायीक भवनमा सञ्चालन गरिरहेको अस्पतालमा १५ वटा आइसोलेसन बेड रहेका छन् । संक्रमित बिरामीका लागि १५ अक्सिजन सिलिन्डरसहित ६ थान कन्सन्टेटर तयारी अवस्थामा राखिएका छन् ।

कोभिड अस्पतालमा अहिले दुई जना हेल्थ असिन्टटेन्ट, एक÷एक जना अहेब र स्टाफ नर्स र दुई जना अनमीको भरमा अस्पताल सञ्चालन भइरहेको छ । अस्पतालमा एम्बीबीएस डाक्टर सहितको स्वाथ्यकर्मी हुनुपर्ने भनिए पनि सेवा सुविधाको अभावले डाक्टरको व्यस्थापन गर्न नसकिएको बताइएको छ ।

स्वास्थ्य अवस्था सामान्य भएका संक्रमितलाई होम आइसोलेसनमा राखेर स्वास्थ्यकर्मीबाट नियमित निगरानीमा औषधी उपचार गरिँदै आएको छ । भने जटिल समस्या देखिने बिरामीको अस्थायी कोविड १९ अस्पताल उपचार गरिरहेको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए ।

जनस्वास्थ्य विज्ञले कोरोनाको तेस्रो लहर आउने बताएसँगै गाउँपालिकाले आवश्यक पूर्वाधार सहित एक्सरे मेसिन, कोरोना संक्रमितको थप उपचारका सामग्री भिडियो एक्सरे, इसिजि मेसिन र ल्याब सेवालाई थप गर्ने योजना रहेको खरिद गरी उपचारका प्रविधि थप्ने योजना बनाएको अध्यक्ष राईले जानकारी गराए ।

चुलाचुलीमा २० को निधन चार सय बढी संक्रमित

चुलाचुली गाउँपालिकामा भदौ ७ गतेसम्ममा कोरोनाको संक्रमणबाट बीस जनको दुखद निधन भएको छ । ४ सय जनामा कोरोना पोजेटिभ देखिएको तथ्याङ्क छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि लक्षण देखिएका एक हजार जनाको कोरोना परीक्षण गरिसकेको गाउँपालिकाले जनाएको छ ।

मानवीय क्षति बढेपछि गाउँपालिकाले स्वास्थ्य मापदण्डको कडाईका साथ अनुगमन गरि कोरोना परिक्षणको दायरा फराकिलो बनाउँदै लगेको बताइएको छ ।

पहिलो लहरमा कोरोना रोगीको संख्या नगन्य भएको चुलाचुलीमा दोस्रो लहरमा संक्रमितको संख्या बढेसँगै गाउँपालिकाले नियन्त्रणका लागि कोराना परीक्षणको दायरा बढाइएको हो ।

झापासँग सीमा जोडिएको चुलाचुली गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढेपछि स्वास्थ्य मापदण्ड कार्यान्वयनमा पनि कडाई गरिएको स्वाथ्य शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार