निषेधाज्ञा घोषणाको एक सय १४ दिनपछि केही खुकुलो बन्दै इलाम, कोभिडले ११७ को निधन


सेवारो खबर  197 पटक हेरिएको

इलामः कोरोना भाइरस(कोभिड–१९)को महामारी बढ्दै गएपछि निषेधाज्ञा घोषणा गरेको एक सय १४ दिनपछि इलाम केही खुकुलो बन्ने भएको छ ।

भदौ २५ गतेसम्म निषेधाज्ञा जारी भएपनि केही सहज बनाउँन लागेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ ।

जिल्लाका ८१ वडा मध्ये २१ वडामा अझै पनि १० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यस्तै ४६ वडामा नौ जनासम्म संक्रमित छन् । १४ वडामा संक्रमितको संख्या सून्य रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।

इलाम नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र ९, सूर्योदय नगरपालिकाको ४, ८, ९ र १० वडा, माइ नगरपालिकाको २, ३, ४ र ५ वडामा १० भन्दा बढी संक्रिय संक्रमित रहेका छन् । यस्तै सन्दकपुर गाउँपालिकाको ३ नम्बर वडा, रोङ गाउँपालिकाको ५ र ६ वडा, माइजोगमाई गाउँपालिकाको ३ नम्बर वडा, फाकफोकथुम गाउँपालिकाको १ र ७ नम्बर वडामा १० बढी संक्रिय संक्रमित छन् ।

जारी निषेधाज्ञाको समयमा मेला, जात्रा, महोत्सव, सांस्कृतिक, मनोरञ्जनात्मक, प्रतियोगितात्मक कार्यक्रम, सिनेमा हल, पार्टी प्यालेस, बार रेष्टुरेन्ट, जिमखाना, खेलकुद, साप्ताहिक हाट तथा घर–घरमा गएर गरिने बचत संकलन कार्यलाई भने पूर्ण रूपमा बन्दा रहने जनाइएको छ ।

धेरै जन सम्पर्क हुँने नागरिकता, मालपोत र नापी कार्यालयको सेवा भने आलोपालो प्रणाली मा स्वाथ्यको मापदण्ड अनुसार सञ्चालन हुँने बताइएको छ ।

निषेधाज्ञाको बीच खाद्यान्न, तरकारी, मासु, दुग्ध डेरी लगायतका पसल दिउँसो १ बजेसम्म सञ्चालन गर्न पाइनेछ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै औषधी, स्वास्थ्य सामग्री सम्बन्धी पसल, बीउविजन, कुखुराको चल्ला, आहारा पसल, पेट्रोल पम्प, मोटर साइकल वर्कसप नियमित खुल्ने भएको छ ।

स्वाथ्य सुरक्षाको मापदण्ड पालन गर्दै होटलका कोठा नियमित रूपमा निसंक्रमण गरि सञ्चालन गर्नु पर्ने जनाइएको छ । यी क्षेत्रहरुको नियमित अनुगमन गरिने पनि जनाइएको छ ।

सार्वजनिक तथा निजी सवारीमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्ने, चालक–सहचालकले अनिवार्य मास्क, पन्जा र भाइजर प्रयोग गर्नुपर्ने बताइएको छ । सवारी साधनलाई पटकै पिच्छे निसंक्रमण गर्नुपर्ने । चारपाङ्ग्रे सवारी जिरो किलोमिटर, धोबीधारा र टँुडीखेल भन्दा बाहिर पार्किङ गर्नुपर्ने उल्लेख छ ।

सरकारी र अन्य सेवा तर्फ सरकारी, सार्वजनिक संस्थान, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, तथा बिमा कम्पनी स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने छ । मालपोत, नापी लगायतका कार्यालयको सेवा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुचारु हुने जनाइएको छ ।

जारी आदेसमा संक्रमणको अवस्था हेरेर जुनसुकै समयमा पुनरावलोकन हुन सक्ने पनि बताइएको छ ।

महामारीको समयमा अत्यावश्वक सामग्रीको कृत्तिम अभाव देखाउने र मुल्य वृद्धि गर्नेलाई कानून अनुसार कार्वाही हुने समेत भनिएको छ ।

११४ दिनमा ११७ को निधन

कोरोना भइरसले जिल्लामा निषेधाज्ञाको एक सय १४ दिनमा एक सय १७ को निधन भएको छ ।
इलाम नगरपालिकामा ३३, सूर्योदयमा ३१, चुलाचुली गाउँपालिकमा १९, माई नगरपालिकमा नौं जनाको निधन भएको तथ्याङ्क छ ।

रोङ गाउँपालिकामा ७, माइजोगमाइ र माङ्सेबुङ गाउँपालिकामा समान ६÷६ जनाको निधन भएको छ । यस्तै देउमाई नगरपालिमा ५ र सन्दकपुर गाउँपालिकामा एक जनाको निधन भएको तथ्याङ्क छ ।

पाँच हजार एक सय ३५ संक्रमित मध्ये चार हजार पाँच सय ३० जना उपचार पछि निको भएका छन् ।

१८ हजार पाँच सय १८ जनाले कोभिड परीक्षण गरेका छन् । १७ हजार ६ सय २५ जनाले एन्टीजेन प्रविधी र आठ सय ९३ जनाले पीसिआर प्रविधीबाट परीक्षण गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार