जन गायक जेबी टुहुरे


सेवारो खबर  244 पटक हेरिएको

कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा !
हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा !!
होला बरु झुपडीमा भोकै सुत्नु राम्रो !
बितोस् बरु जिन्दगी पसिनामै हाम्रो !!

यो जेबी टुहुरेको गीत होइन । तर, उहाँको सिङ्गो जीवन भने ठ्याक्कै यस्तै रह्यो ।

जीवन शर्माको यो गीतले टुहुरेको जीवन उतारेको छ । जनवादी गीतका माध्यमबाट गाउँ/बेसी, मेलापात र बस्ती बस्ती जगाउँदै हिँडेको उहाँको जीवन भने साँच्चै अभावमा बित्यो । पसिनामा बित्यो । तर, उहाँको पसिनाले सिँचिएर कति महलमा पुगे त्यसको हिसाब इतिहासले गर्ला ।

२०३२ देखि २०३६ सालसम्म उहाँले ‘हाम्रो गीत हाम्रो आवाज’ मार्फत बस्तीबस्ती जगाउने काम गर्नुभयो ।

यसै मेसोमा जोडिन आइपुग्नुभयो माधव प्रधान । काठमाण्डौको कार्यक्रमको सबै जिम्मा प्रधानको हुन्थ्यो भने बाहिरको टुहुरेको ।

टुहुरे नेकपा माले हुँदा कोशीबाट केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने प्रधान काठमाण्डौबाट ।

उहाँहरुको पहिलो भेट २०३४ सालमा काठमाण्डौमा भएको थियो । त्यसबेला रामेश, रायन अनि प्रमोद हमाल पनि हुनुहुन्थ्यो ।

त्यसबेला टुहुरेले कोठामा आफ्ना गीतहरू सुनाउनु भएको थियो । अनि उहाँ विराटनगर लाग्नु भयो ।

टुहुरेले गर्ने सांस्कृतिक कार्यक्रमको संयोजक प्रधान नै हुने गर्नुहुन्थ्यो । यसको कारण थियो प्रधान स्वयं पनि गायक, लेखक, सङ्गीतकार, वाद्यवादक अनि बाँकी कलाकारको संयोजन गर्ने कार्यक्रम पनि प्रधानले नै गर्नुहुन्थ्यो ।

टुहुरेलाई बाजा बजाउन भने आउँदैनथ्यो । तर, प्रधानलाई  भने जुनसुकै बाजा बजाउन आउने । अनि सांस्कृतिक टोलीका बीस/बाइस जना सदस्यलाई नाच सिकाउने र त्यसको कोरियोग्राफ गर्ने काम पनि गर्नुहुन्थ्यो प्रधान । उहाँ कोरस तथा मात्र नभएर प्लेब्याक सिङ्गरको पनि काम गर्नुहुन्थ्यो । यसकारण बिरामी भएका बेला बाहेक टुहुरेले खोज्ने मान्छे भनेको प्रधान नै हुने गर्नुहुन्थ्यो ।

माधव भएन भने मेरो कार्यक्रम नै अपाङ्ग हुन्छ भन्नुहुन्थ्यो टुहुरे । हुन पनि प्रधानले कार्यक्रममा सङ्गीत, नृत्य अनि कलाकारसम्म सबैका संयोजन गर्ने भएका कारण पनि माधव उहाँको प्रिय पात्र हुनुहुन्थ्यो ।

प्रधान भएपछि टुहुरेको कार्यक्रम एक प्रकारले पूर्ण हुन्थ्यो । कार्यक्रमको संयोजन पनि गर्ने, गाउन सघाउने, बजाउन सघाउने अनि कार्यक्रम अनुसारको नाच पनि । त्यति भएपछि के चाहियो । त्यसकारण पनि उहाँले प्रधानलाई एक असल साथीको रुपमा लिनुहुन्थ्यो ।

टुहुरेले प्रधानका चार/पाँच वटा गीत पनि गाउनु भएको छ । जसमा ‘आनाङ घोसी खावा हो’ भन्ने एउटा तामाङ गीत पनि रहेको छ । जसको सङ्गीत पनि प्रधानकै हो । जुन गीत त्यसबेला निकै चर्चित समेत थियो ।

‘आनाङ घोसी खावा हो’ भनेको तामाङ भाषामा ‘जङ्गलतिर घाँस दाउरा गर्न आएको हो बहिनी’ भनेर सोधिएको हो । ‘गुन्यु, चोली पटुकी झुम्के बुलाकी’ भन्ने अर्को चर्चित गीत पनि गाउनु भएको छ टुहुरेले प्रधानको । यो गीतले टुहुरेलाई पनि अझ प्रसिद्धिमा पुर्यायो र माधव प्रधानलाई पनि राम्रै चिनायो ।

त्यसबेला गीत गाउँदा ट्रयाक बजाउने चलन थिएन । ट्रयाक बजाएर गाउने भन्ने २०६५ सालतिर आएको हो । अनि गाउँदा एउटा न एउटा वाद्यवादन चाहियो । त्यसकारण पनि उहाँ प्रधानलाई छोड्नु हुन्न थियो ।

टुहुरे खुसी भएका बेला आफ्नै तरिकाले नाच्नु पनि हुन्थ्यो । तर, कोरियोग्राफ गर्न भने उहाँलाई नआउने। टुहुरे अनुशासनको मामिलामा पनि एकदमै कडा हुनुहुन्थ्यो । सांस्कृतिक टोलीका महिला पुरुष जिस्कने अनि माया प्रेमका कुरा गर्न थाले भने यो लभ गर्ने ठाउँ होइन, बरु बिहे गर भनेर भन्नुहुन्थ्यो ।

उहाँ खानाको अलि सौखिन मान्छे । नभए जे हुँदा पनि चल्ने । तर, सकेसम्म खानामा दुई टुक्रा भए पनि मासु होस भन्ने चाहने । यसले गर्दा अन्य कलाकारले पनि मासु खान पाउन अनि राम्रो खान पाउन भन्ने उहाँको चाह हुँदो रहेछ।

खाँदा र सुत्दा उहाँको गनगन गर्ने बानी थिएन । सुत्नलाई पनि आरामदायी बिस्तारा चाहिने भन्ने होइन । जे भेट्यो त्यसमै निदाउने । एकदमै सर्वहारा चिन्तन भएको मान्छे । काठमाण्डौ बाहिर भारत तथा हङकङमा भएको कार्यक्रममा पनि प्रधानसँगै हुनुहुन्थ्यो । हरेक कार्यक्रममा सँगै हुने अनि कार्यक्रमको संयोजनदेखि हरेक किसिमको वाद्यवादन पनि बजाउने भएकोले धेरैले उहाँलाई जेबी दाइको म्यूजिक डाइरेक्टर पनि भन्दा रहेछन् ।

टुहुरे सांस्कृतिक संस्थानको अध्यक्ष पनि हुनुभयो । माओवादीका तर्फबाट समानुपातिक सभासद तथा केन्द्रीय सल्लाहकार समेत हुनुहुन्थ्यो । एमालेमा रहेर उहाँले पार्टीका लागि अनि जनवादी गीत, सङ्गीत र संस्कृति उत्थानका लागि जुन योगदान गर्नुभयो त्यस अनुसार भने पार्टीले उहाँको कदर र सम्मान नगरेको आरोप छ प्रधानको ।

‘तर, टुहुरे स्वयंले भने यसका बारेमा कहिल्यै गुनासो गर्नु भएन । एमालेले उहाँलाई सम्मान गर्ने भन्दा पनि उपयोग गर्ने रणनीति बढी राख्यो’ प्रधानको आरोप छ । ‘जनवादी संस्कृतिमा लाग्ने अरुलाई पनि गायक, नर्तकी भन्दा माथिल्लो व्यवहार पार्टीले गरेन । यी कलाकारले गाएनन्, नाचेनन् भने अर्को आइहाल्छन् भन्ने किसिमको व्यवहार टुहुरेदेखि अन्य कलाकारसम्म सबैलाई गरियो’ उहाँ भन्नुहुन्छ ।

‘कलाकार भनेको लेख्न जान्दछन्, सङ्गीत गर्न जान्दछन्, नाच्न जान्दछन् तर राज्य चलाउन जान्दैनन् भन्ने किसिमको व्यवहार पार्टीबाट भयो । त्यसको सिकार टुहुरे पनि हुनुभयो’ प्रधान भन्नुहुन्छ । कलाकारलाई सानातिना यसो केही दिएजस्तो गरेर मुख बुजो लगाउने काम भयो भन्ने उहाँको आरोप छ ।

उहाँले गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, साहित्य सन्ध्या, पारिजात कला सम्मान जस्ता पदक तथा सम्मान पनि प्राप्त गर्नुभएको थियो। तर, हरेक सर्जक अनि स्रष्टा बाँचुञ्जेल उसलाई बेवास्ता गर्ने र मरिसकेपछि गुणगान गाएर नथाक्ने एउटा परम्परालाई जेबी टुहुरेको मरणले थप पुष्टि गरेको छ, हामी बाँचुञ्जेल मान्छे चिन्दैनौँ, मरेपछि प्रशंसा गरेर थाक्दैनौँ । @www.ujyaaloonline.com बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार