जनगणना आउँदाे कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने


सेवारो खबर  188 पटक हेरिएको

काठमाण्डाै: राष्ट्रिय जनगणना आउँदाे कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने भएको छ । बुधवार काठमाण्डाैमा केन्द्रीय तथ्याङ्क विभागले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै कोरोना महामारीका कारण स्थगित गरिएको राष्ट्रिय जनगणना हुने भएको हो ।

अहिले कोरोनाको दर घटिरहेको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य रूपले चलिरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय जनगणना फेरि सञ्चालन गर्ने निर्णय गरेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

महानिर्देशक श्रेष्ठका अनुसार आउँदाे जनगणना १२ औँ शृङ्खलाको हुनेछ । जनगणनामा ३९ हजार गणक, आठ हजार सुपरिवेक्षकले ७० लाख परिवार तथा तीन करोड जनसङ्ख्याको गणना १५ दिनमा गर्नेछन् । जनगणना गर्ने कार्य जटिल भएको र यस जनगणनामा हरेकको घरदैलोमा पुगेरगणना गरिने छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जतिसक्दो छिटो गणकको छनोट गर्नुपर्ने बताए । गणकको छनोट गरे उनीहरूलाई दुई खेप नै कोरोना भाइरसविरुद्धकाे खाेप लगाउन सकिने भन्दै उहाँले गणकले गणना गर्न जाँदा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्ने पनि जानकारी गराए । सचिव भण्डारीले पूर्व निर्धारित समयमा जनगणना हुन नसक्दा खर्च पनि बढिरहेको कुरा राखे ।

केन्द्रीय तथ्याङ्क विभागबाट तयार पारिएको नयाँ कार्यतालिका भदाै २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । पूर्व निर्धारित कार्यक्रमअनुसार जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेसम्म सम्पन्न गर्ने सरकारको योजना थियो । विसं १९६८ मा श्री ३ चन्द्रशम्शेर जबराको पालादेखि सुरु गरिएको राष्ट्रिय जनगणना प्रत्येक १०/१० वर्षमा गरिन्छ । यो जनगणना देश सङ्घीयतामा प्रवेश गरेपछिको पहिलो जनगणना समेत हो । @www.ujyaaloonline.com बाट ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार