सेप्टेम्बर १६ अर्थात, विश्व ओजोन तह बचाउ दिवस


सुयोग ढकाल  249 पटक हेरिएको

विश्वमा अनेकन दिवस मनाइन्छ । त्यसैमध्ये पर्छ, ओजोन दिवस पनि । यो दिवसले यो सन् १९८७ सेप्टेम्बर १६ मा २४ वटा राष्ट्रबीच भएको ओजोन विनाशक हानिकारक तत्वहरूको उत्पादनमा कम गर्ने ‘मोन्टेरल हस्ताक्षर’को याद दिलाउँछ ।

यस्ता हानिकारक तत्वहरूमा क्लोरोफ्लोरो कार्वन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । विश्व ओजोन दिवस सन् १९९५ देखि मनाउन क्रमको शुरु भएको हो । सन् २०२१ को यस दिवसको यो वर्षको नारा चाहिँ ‘Montreal Protocol – Keeping us, our food and vaccines cool’ अययुि छ । कोरोना त्रासबाट सुस्तरी उक्लदै गएको विश्वमा खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख्न भन्ने विम्ब प्रयोग गएिको छ ।

विश्वभरि जुनै पनि महादेश या देशका विद्यालयका प्राथमिक अनि माध्यमिक तहको पाठ्यक्रममा ओजोन तह, जलवायु परिवर्तन अनि घट्दो ओजोन तहलाई कसरी जोगाउने भनी जानकारी दिइन्छ । हामीमध्ये पनि धेरैले ओजोन तह अनि जलवायु परिवर्तन जस्ता मुद्दाहरू विद्यालयस्तरमै पढेर अनि सुनेर चाल पाएका हुन सक्छौं । संयुक्त राष्ट्रसंघका पनि विभिन्न विश्वव्यापी शैक्षिक प्याकेजहरू अनि पाठ्यक्रममा पनि यी मुद्दाहरू समावेश गरिएका छन् । विश्वभरि विभिन्न कार्यक्रमहरू हरेक पर्षको सेप्टेम्बर १६ मा ओजोन तह बचाऊ दिवस मनाइन्छ ।

स्मरणरहोस्, पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमीमाथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो । यसले सूर्यका हानिकारक किरणहरूलाई पृथ्वीमा सोझै छिर्नबाट रोक लगाउँछ । मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगिकरण अनि ज्यादा रसायनको प्रयोगले ओजोन तहहरू च्यातिँदै जाँदा अनि विनाश निम्तिदैछ ।

यसरी विनाश भएको ओजोन तह जति चाहे पनि मानिसले आफैँ बनाउन सक्दैनन् । मानव अनि सभ्यताको सुरक्षाका लागि ओजोन सम्र्वधन अत्यन्त जरुरी छ । ट्राफिक जाममा गतिहीन इन्जिनहरूको धुँवा अनि त्यसको तापबाट गाडीको पेन्ट अनि एयर कन्डिसनबाट क्लोरोफ्लोरो कार्वन उत्पन्न हुन्छ । ओजोन तहको बचावटका लागि भरपर्दो सार्वजनिक यातायातका साधनहरूको उपलव्धता अनि इन्धनको कम खपत हुने साधनहरू जस्तै साइकल अनि पैदलयात्राको प्रर्वधन जरुरी छ ।

त्यस्तै हामीले शरीरमा हाल्ने अत्तर अर्थात् ‘बडी स्प्रे’ अनि फ्याक्ट्रीमा प्रयोग हुने गन्ध आउने अत्तर अनि सुगन्धात्मक पदार्थहरूलाई ओजोन तह विनाशको प्रार्थमिक कारण मानिन्छ । यस्ता पदार्थलाई ‘स्प्रे एरोसोल’ भनिन्छ, जुन पचासौँ वर्षदेखि उद्योगमा प्रयोग हुँदै आएको छ । यस्ता ‘स्प्रे’मा ‘क्लोरोफ्लोरो कार्वन’ हुन्छ । जसले ओजोन तहमा पुगेर परावैजनी तहसँग मिलेर ओजोनलाई विनाश गर्दै क्लोरिनका रूपमा परिवर्तन हुन्छ । यस्ता क्लोरिनका एउटा अणुले हजारौँ ओजोनका अणुहरूलाई विनाश गरिदिन्छ ।

ओजोनको विनाशसँगै घाममा हानिकारक किरणहरू आउने, क्यान्सर लगायत अन्य रोगहरूको वृद्धि हुने, जमिन जलचर अनि थलचरको जीवनमा नकारात्मक असर गर्ने अनि समग्रमा मानव अस्तित्व नै संकटमा पर्ने खतरा छ । पृथ्वीको अन्य क्षेत्रमा २० प्रतिशतले ओजोन तह विनाश भएको तथ्याङ्क भएपनि अन्टार्कटिकामाथि भने चीसो मौसम अनि क्लोरिनको बाक्लोपनाका कारणले ८० प्रतिशत बढी ओजोन तह विनाश भइसकेको छ । यस ठाउँलाई सन् १९८० देखि नै ओजोन दुलो भन्ने गरिन्छ ।

दुर्भाग्य, नेपालका अधिकांश शहरहरूको अव्यवस्थित शहरीकरण, अचाक्ली आधुनिक अनि बिलासी जीवनशैलीको मूल्य ओजोन सतहले चुकाउनु त परिरहेको छैन ?

हुन त, सामान्यतया परमाणु शक्ति अनि न्युक्लिएर भट्टीहरू नभएको साथै अत्यधिक प्रदुषण गर्ने भीमकाय उद्योग पनि नभएका हिसाबले नेपाल तुलनात्मक रूपमा ओजोन सतह विनाशको भागीदारमा कम भागमा पर्न सक्छ । तथापि पृथ्वीका सम्पूर्णबासीले यो दुर्भाग्य सहन गर्नुपर्ने भएकाले हामी सचेत हुन जरुरी छ । विकासका नाममा विनाश साटासाट गर्नु बुद्धिमत्ता पक्कै होइन । तसर्थ, अबको विकासका पूर्वाधारहरू वातावरण–मैत्री अनि ओजोन सतह–मैत्री पनि हुन जरुरी छ ।

आँउदा पुस्तालाई स्वच्छ अनि सुरक्षित विश्वको आधार हस्तान्तरण गरिनु जरुरी छ ।

घामविना सृष्टि सम्भव छैन । घामका किरणहरू छान्ने ओजोनलाई बचाउन हाम्रो जिम्मा हो । ओजोनको सुरक्षामा हाम्रो अस्तित्व लुकेको छ । ओजोन तह सुरक्षा दिवसको शुभकामना । @हाम्रो पात्रोबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार