पात्र कि प्रणाली परिवर्तन गर्ने भन्ने सम्बन्धमा पाँच प्रश्न !!!


अरुण नेपाल  244 पटक हेरिएको

१) के गाडीको ड्राइभर फेर्दैमा गाडी कुद्छ र ?
के गाडीका पुरानै पार्टपुर्जा र इन्जिन कायमै राखेर गाडीलाई आकर्षक ढंगले रङ्गरोगन गरी एकदमै अनुभवी ड्राइभरले कुदाउदैमा उक्त गाडी कुद्न सक्छ र ?
२) थोत्रा सोच, चिन्तन र व्यवहार कायम राखेर अपेक्षित गुणात्मक परिवर्तन सम्भव होला र ?
यदि ड्राइभर मात्र फेरेर गाडी कुद्नै सक्दैन भन्ने हो भने नेपालमा गाडीका पार्टपुर्जा र इन्जिनरुपी राज्यका हरेक अङ्गमा उहीँ थोत्रा सोच, चिन्तन, व्यवहार र प्रणाली कायम राखेर गाडीका एकदमै अनुभवी र निपुण ड्राइभर रुपी केही पात्र फेर्दैमा अपेक्षित गुणात्मक परिवर्तन सम्भव होला र ? यो कुरा असम्भव हुन्छ भन्ने कुरा त यो तीन दशकमा अनेक पात्र परिवर्तन भएर पनि केही लछारपाटो नलागेबाट पुष्टि भैसकेन र ?
३) सबभन्दा अनुभवी प्रधानमन्त्री नै किन यति निरिह ?
हाल नेपालमा भएका प्रधानमन्त्रीहरु मध्ये पनि पाँच पाँच पटक प्रधानमन्त्री भैसकेका र नेपालकै एक पुरानो दलका एक पाका र अनुभवी नेता शेरबहादुर देउवाले अरु त कुरै छाडौं, आफ्नै मन्त्रीपरिषद समेत ७०/७० दिनसम्म विस्तार गर्न नसक्नु भनेको नै त्यही थोत्रो प्रणाली कामै नलाग्ने भैसकेको कुराको ज्वलन्त प्रमाण होइन र ?
४) अनुभवी हाकिम दोहोरिदा पनि किन अपेक्षित परिवर्तन अनुभुति हुन सकेन ?
प्रधानमन्त्री मात्र यति असफल भएका होइनन, उनी प्रधानमन्त्री भए लगत्तै ठुलै परिवर्तन होला भनेर निकै हल्लाखल्ला गरेर उनले नियुक्ति गरेका कुलमान घिसिङ हाकिम भएर आउँदा पनि विद्दुत आपूर्तिमा आजका मितिसम्म अपेक्षित परिवर्तनको अनुभुति हुन नसक्नुले पनि प्रणाली परिवर्तन नगरी दिगो र गुणात्मक परिवर्तन असम्भव हुदोरहेछ भन्ने कुरा छोटै समयमा प्रमाणित भैसकेन र ?
५) मुलुककै इन्जिन मानिने राज्यका अङ्गअङ्ग र मस्तिष्क मानिने नेपालकै सबभन्दा जेठो विश्वविद्यालय आज किन यति धेरै तहसनहस भएका ?
अनुभवी प्रधानमन्त्री र हाकिम मात्र असफल भएका होइनन्, राज्यका हरेकजसो अङ्गअङ्गमा उत्कृष्ट योगदान गरेको भनेर राज्यले सयौं पात्रलाई वर्षैपिच्छे अनेक पदक र पुरस्कार प्रदान गरेको गरेकै छ । ती सबैजसो पात्रले पनि केही न केही राम्रा काम गरेकैले राज्यले उनीहरूलाई त्यसरी विभिन्न मान पदवी प्रदान गरेर सम्मान गरेको होला नि, होइन र ? त्यस्तै राज्यका महत्वपूर्ण जिम्मेवारी सम्हालेका कतिपय अनुभवी र योग्य पात्रहरु आज पनि चर्को असन्तुष्टि व्यक्त गर्दै दशकौंदेखि उत्तिकै सक्रिय छन् । उदाहरणका लागि नेपालकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका एक सफल उपकुलपति भनेर कहलाएका केदारभक्त माथेमा आज पनि विश्वविद्यालय दलीय दलदल, गुटगत चलखेल र भागवण्डे कुसंस्कारकै कारण तहसनहस भयो भनेर रातोदिन कराएका कराएकै छन् ! आजसम्म यस्तो चर्को असन्तुष्टि व्यक्त गर्ने पात्र आफू उपकुलपति हुँदा यस्ता विकृति हटाउन उनले पक्कै केही न केही पहल गरेका थिए होला भनेर सहजै अनुमान लगाउन सकिदैन र ? तर परिणाम के भयो ? नेपालमा संसदीय प्रजातन्त्र प्रारम्भ हुनासाथ उतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेलामा त्रिभुवन विश्वविद्यालयले पाएका त्यति सक्षम र योग्य पात्रले समेत देशकै मस्तिष्क मानिने विश्वविद्यालयमा नै एउटा थिति बसाल्न किन सकेनन ? पात्र परिवर्तनले हुन्थ्यो भने उनकै पालामा किन विश्वविद्यालयमा उनले भनेजस्तो थिति बस्न सकेन ? यसको मतलब उनी पनि गलत पात्र थिए भन्ने निश्कर्ष निकाल्न सकिन्छ र ? बरु प्रणाली नै नफेरिकन पात्र परिवर्तनले मात्र नहुदोरहेछ भन्ने धेरै नै मननीय निश्कर्ष नै निस्कदैन र ?
मुलुकका सबभन्दा योग्य र सक्षम जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय नै आज दलीय दलदल, गुटगत चलखेल र भागवण्डे कुसंस्कारकै कारण यसरी तहसनहस भैसक्दा पनि विश्वविद्यालयमा जरा गाडेर बसेको त्यो थोत्रो सोच, चिन्तन र व्यवहार नै आज झन् धेरै हावी हुनु भन्दा दुर्भाग्यपुर्ण कुरा अरु के होला ? मुलुककै मस्तिष्क मानिने विश्वविद्यालयकै हालत यति खराव भएपछि त्यही विश्वविद्यालयले उत्पादन गरेका जनशक्तिको वर्चस्व रहेका देशका कार्यपालिका, न्यायपालिका, व्यबस्थापिका, पत्रकार जगत, निजामती प्रशासन आदि जस्ता राज्यका अङ्गअङ्गमा गुणात्मक परिवर्तन होला भनेर कसरी अपेक्षा गर्ने ? यसरी विचार गर्दा विद्यालय वा विश्वविद्यालयमा उनीहरूले जुन संस्कार सिके, त्यही संस्कार राज्यका अङ्गअङ्गमा लागू गरेछ्न भन्न सकिदैन र ? यदि यसो भन्न सकिन्छ भने विद्यालय वा विश्वविद्यालयले नै सहि संस्कार दिन सक्ने हो भने त उनीहरूले राज्यका अङ्गअङ्गमा पनि त्यस्तै राम्रो संस्कार घुसाउन पनि त सक्ने सम्भावना हुनेरहेछ नि, होइन र ? यति कुरा बुझेर पनि शैक्षिक संस्था र विश्वविद्यालयलाई तहसनहस बनाउने दलीय दलदल, गुटगत चलखेल र भागवण्डे कुसंस्कारबाट शैक्षिक संस्था तथा विश्वविद्यालयलाई मुक्त गर्ने अर्थपूर्ण र गम्भीर प्रयास नै नहुनुको रहस्य के होला ? शैक्षिक संस्था र विश्वविद्यालयमा नै सहि संस्कारको नर्सरी हुर्काउन र बढाउन सकियो भने सिङ्गो मुलुक त्यस्तो सहि संस्कारको सुन्दर बगैंचाले चाडै नै हराभरा हुन सक्नेछ भन्ने बुद्धि नपलाउनुको कारण के होला ? झट्ट हेर्दा त यो अत्यन्तै सामान्य कुरा जस्तो लाग्दैन र ???
निश्कर्ष
गुणात्मक परिवर्तनकामी सबैजना यी पाँच प्रश्नमा घोत्लौ ! पात्र परिवर्तनले केही लछारपाटो लगाउन सक्दैन भन्ने सत्यलाई सबैले स्वीकार गर्ने आट गरौं ! थोत्रा सोच, चिन्तन, व्यवहार र प्रणालीमा परिवर्तन नगरी गुणात्मक परिवर्तनको थिति बस्नै नसक्ने सत्यलाई सबैले स्वीकार गरौं ! मुलुक बर्बाद गर्ने असफल प्रणाली बदल्न सबैले एकीकृत रुपमा बल गरौं !!!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार