अमाली सुब्बा नरबहादुर नेम्बाहाङको योगदान र तत्कालिन समाज


विरही काइँला  4016 पटक हेरिएको

एक समय थियो अमाली भन्दा सुब्बा नरबहादुर नेम्बाहाङलाई सम्झन्थे औ उनका नामसँगै लिम्बुवानको अमाली शासन जोडिन्थ्यो । अन्य सुब्बाले फैसला गर्न नसकेका मुद्दा-मामिलाहरू एउटा बाङखुरे लौरो टेकेर सुब्बा नरबहादुर नेम्बाहाङले फासफुस पारिदिन्थे ।उनले गरेको फैसला फेरि दोहोरिन्दैन थियो ।

सुब्बा नरबहादुर नेम्बाहाङको अमालमा कसैलाई अन्याय हुदैन थियो । सबैले न्याय पाउँथे । उसबेला सम्म अमाली सुब्बालाई पञ्चखत बाहेकका मुद्दा अमालबाट हेरि निर्णय गरि दण्डकुण्ड दिन सक्ने अधिकार प्राप्त थियो ।

लिम्बुवानमा सुब्बाका जेठो छोरासुब्बा हुन्थे ।अरू भाई डोके अनि ढाक्रे रैती हुन्थे । डोकेले घरको ठेक, ढाक्रेले सेर्मा,साउन्या फागु,बेठी, छिपोछापोले मिकांताल, सार्कीले पलेटी, दमाइले सुज्यारो सुब्बालाई बुजाउनु पर्दथ्यो । अन्य छोराहरू पनि सुब्बा हुन चाहने प्रत्येकले ६० अथवा ३० मुरी अन्न उब्जनी हुने माटोसँगै रू.५२ अथवा रू.२६ सरकारलाई सलामी चढाउनु पर्दथ्यो । सुब्बाका कुरिया रैती सुब्बै पिच्छे बाँडिन्थे भने सुब्बालाई सहयोग गर्ने थरी चाहिँ एकैजना हुन्थे । थरी किपटिया हुनु पाउदैन थिए । किपटियालाई थाहा नदिइकन थरीले जग्गा-जमिन दबाइ खाएको भेटिएमा थरीलाई खारेज गर्ने अधिकार सुब्बालाई हुन्थ्यो ।

लिम्बुवानमामनप्रसाद नेम्बाहाङलाई महाजन हर्कबोली भनेर चिनिन्थ्यो । चौरी गोठ,भेडा गोठ,भैसी गोठ, घोडा र गाई गोठबाट हर्कबोलीलाई राम्रै आम्दानी थियो ।चौरी र भेडाको चरन सुकेपोखरीदेखि इवानाघी,तावानाघी सम्म थियो । गाई,भैसी र घोडाहरू नाम्फुयकदेखि  चर्दै सुकेपोखरी, पाटेनाघी,बुढीधाम, फालेलुङ सम्म पुग्थे ।

महाजन हर्कबोली नेम्बाहाङका साँइली श्रीमती कुम्भरानी(रत्नकुमारी) फागोका कोखबाट सुब्बा नरबहादुर नेम्बाहाङको जन्म बि.स.१९६९ मा पौवा गाउँमा भएको हो ।हर्कबोलीका पाँचवटी श्रीमतीहरूबाट छ बहिनी छोरीहरू अनि चार भाई छोराहरूमध्ये जेठो छोरा बलहाङ नेम्बाहाङको निधन बालक अवस्थामा भएको थियो ।माइँला छोरासुब्बा नरबहादुर नेम्बाहाङ,साइँला छोराडबल सुब्बा(सुब्बा खडगबहादुर नेम्बाहाङ) रकान्छा  छोरा नरवीर(नयन्द्रराज)नेम्बाहाङ हुन ।सुब्बा नरबहादुर नेम्बाहाङले घरैमा शिक्षा पाएका थिए । उनको ठूलो नाक, ठूलठूला आँखा अनि रापिलो अनुहारमा आँखा जुझाउने साहस कसैमा हुदैन थियो ।

अमाली सुब्बा हुनाले नरबहादुर नेम्बाहाङ लिम्बुवानका विभिन्न ठाउँहरूमा घुमि रहन्थे । एक पटक प्यादा(सिपाही)-हरूको लस्करसंग इलामबाट पान्थर पौवा फर्कन्दै थिए । नारायणस्थानको उकालो बाटोमा इलामको विहिबारे हाट भर्न आउदै गरेकी तोरीबारीका बाहुनी बज्यै सुब्बा नरबहादुर नेम्बाहाङसित जम्का भेट हुँदा बाहुनी बज्यैले घोडामाथि नेम्बाहाङलाई साक्षात यमराज नै देखिन अनि बेहोस भएर त्यही ढलिन । थुन्सेमा बोकेकी दहीका ठेकी ठोकिएर पोखिए । सुब्बाका प्यादाहरूले पानी छम्केर बज्यैलाई होशमा ल्याए । बाहुनी बज्यै डरले  थरर कामि रहेकी थिइन । सुब्बा नरबहादुर नेम्बाहाङले एक माउ भैसी किन्नु भन्दै इलामको पीपल बोटे निवासी हवल्दार कोइराला साइँलाको हातमा  पचास कम्पनी रूपिया दिदै बाहुनी बज्यैका बर्कीमा बाधिदिनु भने । उसबेला बेसाहा सस्तो थियो । एक आनामा  एक ठेकी दही पाइन्थ्यो । महिना दिन पछि बाहुनी बज्यैले त्यही रूपियाले पुवा खोला छेउमाएक थलो खेत किनि छे ।बाहुनी बज्यै बाचुन्जेल यमराजसितको जम्काभेट भएको कथा अरूलाई सुनाउने गर्थिन ।

सुरूमा लिम्बुवानमा रैकर भन्ने जग्गा थिएन । किपट मात्र थियो । किपट लिम्बुको भूमि हो । पछिबाट लिम्बुवानमा अरू जातका मानिसहरू आएर बसोबास गर्न थालेपछि किपट जग्गालाई रैकर बनाउन थालियो । रैकर बनाइ सकेका जग्गालाई पुःन किपट बनाउनु मिल्दैन थियो । लिम्बु बाहेक अरू जातका साहुको हातमा एक पटक बन्धक दिएको किपट जग्गा म्यादमा थैली नतिरे रैकर हुनेसनद बनिएपछि लिम्बुहरूसँग किपट जग्गा नहुने स्थितिमा पनि जग्गाको तिरो भने किपटियाले नै तिरी रहनु पर्ने हुदा कैयौ किपटिया लिम्बुहरू मुगलान सुखिम, दार्जीलिङतिर भाग्न बाध्य बने ।

यसरीभाग्ने लिम्बुहरूमा सुब्बा नरबहादुर नेम्बाहाङका आफन्तहरू पनि थिए । उनैका जिम्माको सारताप डाँडा गाउँ निवासी फिपराज नेम्बाहाङ र मकरधोज नेम्बाहाङको किपट जग्गामा जैसीहरूले हालेको बन्धकी थैली म्यादभित्र फर्काउनु नसकेपछि किपट जग्गा रैकरमा परिणत भए पनि तिरो भने फिपराज र मकरधोजले  नै तिर्नु पर्दथ्यो । जग्गाको तिरो समयमा नै सुब्बा नरबहादुर नेम्बाहाङलाई बुजाउनु नसकेपछि फिपराज नेम्बाहाङ अनि मकरधोज नेम्बाहाङको परिवार रातारात भागेर मुगलान पसे ।

(फिपराजको कान्छो छोरा बुध्दिमान)

यो सन् १९४७ सालको घटना हो । मेची नदी तरेर दार्जीलिङको मिरिक महकुमामा अन्तर्गत पुटुङ चिया कमान आइपुग्दा फिपराज नेम्बाहाङका श्रीमती मनोहाङमा योङहाङ प्रवस पीडाले थला परिन । कान्छो छोरा बुध्दिमानको जन्म पुटुङमा भयो । त्यसपछि तिनीहरू पुटुङ कमानमा बसे । सुत्केरी मनोहाङमा हिडडुल गर्न सक्ने भइन । हरियो चियाको बुट्यान र जङगलले घेरिएको पुटुङमा खेती गर्ने ठाउँ थिएन । तिनीहरू भस्मे फाँडेर खेतीपाती गर्ने सोच लिएर मुग्लान पसेका थिए । तर चिया कमानमा विहान गन्तीमा हाजिर हुनुपर्ने, कामदारीले देखाएको मेलोमा पत्ती टिप्नु पर्ने इत्यादि काम फिपराज र मकरधोजलाई अनौठो लाग्यो । तिनीहरूलाई पुटुङ कमानमा बस्न मन लागेन । दुधे बालासन खोला तरेर टिष्टा नदी पश्चिम तर्फको गेल कमान अर्थात टिष्टा भ्यालीमा आइपुगे । चिया कमानको कामसँगै खेतीपातीको लागि जमिन पाएपछि फिपराज नेम्बाहाङ र मकरधोज नेम्बाहाङको परिवार यहाँ स्थायी रूपमा बसे ।

लिम्बुवानको सारताप डाँडा गाउँमा फपराज नेम्बाहाङ र मकरधोज नेम्बाहाङको खोजी भयो ।सुब्बा नरबहादुर नेम्बाहाङले प्यादाहरू खटाए । उसबेला मुगलान भनेर चिनिने दार्जीलिङका कमान बस्ती चाहार्दै हिडेका प्यादाहरूले टिष्टा भ्याल्ली चिया कमानमा फिपराज र मकरधोजलाई भेटे । प्यादाहरूले फिपराज र मकरधोजलाई सुब्बा नरबहादुर नेम्बाहाङको इलामको घरमा हाजिर गराए । अमालमा दुवैभाईले समयमा तिरो बुजाउनु नसक्दा भाग्नु परेकोबयान दिए । सुब्बा नरबहादुर नेम्बाहाङले तिनीहरूको तिरो तिरीदिने भए । तर फिपराज नेम्बाहाङ र मकरधोज नेम्बाहाङले गाउँ फर्केर आउने इच्छा गरेनन् । तिनी दुईले गाउँको जीवन भन्दा चिया कमानको जीवन सहज भएकोले हामी कमानतिर बस्न चाहन्छौं भनी अमाललाई निवेदन गरे । सुब्बा नरबहादुर नेम्बाहाङले–“ तिमीहरूलाई मुग्लान मन परेछ,जाउ म रोक्दिन, तिमीहरूको जे जति  जग्गा जमिन छ, तिमीहरूको दाजु-भाईले खेती गरी खाने छन, फर्केर आएकोदिन छोडिदिनेछन ।”भनी फैसला सुनाउदै नयाँ दौरा सुरूवाल,कोट सिलाइ दिइवरि बाटो खर्च हातमा लगाइ दिएर बिदा गरे । आज पनि टिष्टा भ्याल्ली चिया कमानको डी.पी. साइडमा फिपराज नेम्बाङ र मकरधोज नेम्बाहाङकाशाखा सन्तानहरू भेटिन्छन । फिपराज नेम्बाहाङको सन्तानलाई हजारे अनि मकरधोज नेम्बाहाङको सन्तानलाई बगाले खलक भनेरचिनिन्छ ।

बि.स.२००३ साल फागुन १६ रोज ५ को “मुलुकी अड्डा ऐन सवाल फाँटबाट जाहेर भएको जग्गा लिन खानका लागि दोब्बर तेब्बर ब्याज बढाइ किपट खेत जग्गा घरधुरी चर्चेको समेत चार किल्लाभित्रपारी राजीनामा गराउने कसैलाई १५/१६ हजार कसैलाई ७/८ हजार भन्दै किसिमसँग अंक बढाइ लिम्बुको बास उठा गराएको सो गर्नु हुदैन ।” भन्ने सरकारले जारी गरेको खडग निशानले पनि लिम्बुवानका निरक्षर गरिब लिम्बुहरूलाई  जाली फटाहाहरूका चंगुलबाट मुक्त गराउन सकेको थिएन ।

लिम्बु जातिको इतिहास उत्खननदेखि उनीहरूको सामाजिक साँस्कृतिक कुराहरूको खोज अनुसन्धान गर्नलाई सुब्बा नरबहादुर नेम्बाहाङ,सुब्बा खडगबहादुर नेम्बाहाङ (डबल सुब्बा) जस्ता समाजका प्रतिष्ठावान व्यक्तिहरूलेसुखिमबाट ईमानसिंह चेम्जोंगलाई झिकाएर तेसकामको लागिचेम्जोंगकै अध्यक्षतामा बि.स.२००९ सालमा ‘लिम्बुवान सुधार संघ’ गठन गरिएको थियो । बि.स.२०१०मा सम्पन्न लिम्बुवान सुधार संघको अधिवेशनपछिमहामन्त्री बनेका तेजबहादुर प्रसाईको‘लिम्बुवान राज्य र इतिहास’  शिर्षकमा एउटा लेखबि.स.२०७२ साल कार्तिक २० गतेको नेपाल म्यागजिनमा छापिएको छ-—“अरूणपूर्वको त्यो समथर भूभाग लिम्बुवान लामो समय स्वतन्त्र राज्यको रूपमा थियो । पृथ्वीनारायण शाहले समेत पराजित गर्न नसकेपछि विजयपुर धरानमा सम्झौता गर्न वाध्य भएका थिए । किपट उनीहरूको कानून सरह मानिन्थ्यो । एक किसिममा विर्ता हो त्यो । लिम्बुहरूको बहादुरीलाई मध्यनजर राखेर शाहवंशी राजाहरूले पनि उनीहरूको किपट प्रथा कायम राखिदिएका थिए । तर लिम्बुहरूले आफूखुशी गर्न थालेपछि शाहवंशी राजाहरूले गैह्र लिम्बुहरूले पनि किपट किन्न पाउने व्यवस्था गरेका हुन । हामीले जान्दा पनि भोजपुरको चैनपुरमा लिम्बुवानको राजधानी थियो । किपटलाई रैकरमा परिणत गर्दा धेरैलेधेरै माटो दियो  जसलाई सुब्बा र कम माटो दिनेलाई राई भन्ने प्रचलन थियो ।

२००७ सालको प्रजातन्त्र आगमणपछि लिम्बुवान क्षेत्रमा अब नेपाली काँग्रेसको सरकार आएपछि किपट प्रथा खारेज हुन्छ, लिम्बुवान भन्ने नै रहन्दैन भन्ने हल्ला फैलाइयो ।तेसपछि त लिम्बुहरूले लिम्बुवान क्षेत्रबाट गैह्र लिम्बुहरूलाई धपाउन थाले । गैह्र लिम्बुको नाममा रहेका किपट र रैकर बन्धकीमा कमाइ रहेका जग्गा जमिनबाट उनीहरूलाई वेदखल गरियो । मारकाट र ठूलो आतंक सृजना भयो । छोरीचेली केही भनिएन । ग्रैह लिम्बुहरूलाई तेस इलाकामा बस्नै दिइएन । हाम्रो परिवार पनि त्यही घटनामा परि  उठिबासमा परेर आन्तरिकशरणार्थीको रूपमा झापा झरेको हो ।”

लिम्बुवानको आठराइमा जस्तै पान्थर याङनाम गाउँका दाह्रीवाल सुब्बाको अन्नपानी लुटिएपछि अन्य जगहका शोषित लिम्बुहरू पनि आक्रोशित बन्न सक्ने सम्भावना देखेर पान्थर नाङ्गीन,टिमुरे, सेजेपा आदि गाउँका मानिसहरूसुब्बा नरबहादुर नेम्बाहाङको दलानमा आश्रय लिन आइपुगे । सुब्बा नरबहादुर नेम्बाहाङलेउनीहरूका लागि देवीस्थान बारीमालामा-लामा डेराहरू बनाइ खान बस्नको ब्यवस्था गरिदिए ।

राजा त्रिभूवनको विशेष अनुरोधमा सुब्बा नरबहादुर नेम्बाहाङले लिम्बुवानका विभिन्न  गाउँमा  घुमेर जाली फटाहहरूको विरूद्धमा उत्रिएका निरक्षर गरिब लिम्बुहरूलाई सम्झाइ बुझाइ शान्त गराए ।सुरूमा राणाहरूले खोसेको लालमोहरको अधिकार फिर्ता नभएको,किपटियाहरूलाई साहुले बढदिनु बन्द गरेकोमा  आक्रोशित लिम्बुहरूले सुब्बाका प्यादाको हातबाट बन्दुक खोसेर लगे । तर सुब्बा नरबहादुर नेम्बाहाङको प्रतापले लिम्बुहरू शान्त भए । बन्दुक खोस्नेहरूले आफ्नो भूलस्वीकार गरि सुब्बा नरबहादुर नेम्बाहाङको दलानमा आएर माफी मागेका थिए।

त्यसबेला अरून पूर्व मेची पश्चिमका भूभागलाई लिम्बुवान भनिन्थ्यो । लिम्बुवान सुधार संघलेराजा त्रिभूवनलाई भेटि बडो चतुराइको साथ लिम्बुले चर्चेको भूभाग(किपट) रलिम्बुवान नाम बारेमा आफ्नो अवधारणा स्पस्ट पारेको थियो । यस बारेमा लिम्बुवान सुधार संघको महामन्त्री तेजबहादुर प्रसाइँको भनाइ यस्तो रहेको छ–‘ बि.स.२०१० सालमा इलामका लिम्बुवान सुधार संघको ठूलो चुम्लुङ सभा आयोजना गरियो । तेस सभाले विधिवत रूपमा तेस समितिलाई पूर्णता दियो । त्यही सभाले मलाई महामन्त्रीमा निर्वाचित गर्यो भने ताप्लेजुङका गणेशप्रसाद रिमाललाई उपाध्क्ष । त्यतिबेला महामन्त्री भन्ने चलन थिएन,सोझै प्रधानमन्त्री भनिन्थ्यो । …….. महामन्त्रीमा निर्वाचन हुनसाथ मैले केही राजनैतिक प्रस्ताव पास गर्न लगाएँ । लिम्बुवान क्षेत्रमा बसोबास गर्ने सबै जातजाति लिम्बु हुन भन्ने ढंगले अघि बढ्नुपर्ने मेरो पहिलो राजनैतिक प्रस्ताव थियो । आर्थिक ढंगले सम्पन्न हुन लिम्बु जाति र तेसले चर्चेको सानो भूभाग होइन ।कोशी पूर्वको वृहतर क्षेत्र र पहाड सहितको लिम्बुवानलाई जात विशेषको नभइ भिन्नै प्रदेशको रूपमा विकास गर्नुपर्छ भन्ने मेरो विशेष प्रस्ताव थियो । त्यही प्रस्तावलाई हामीले संघको तर्फबाट तत्कालीन राजा त्रिभूवन समक्ष पनि पेस गरेका थियौ ।’(लिम्बुवान राज्य र इतिहास, नेपाल म्यागजिन(छापेको) प्रस्तुति थियो ईश्वर ग्यावली, प्रकाशित मिति २०७२ कार्तीक २० गते,लेखक तेजबहादुर प्रसाई २८ सितम्बर २०१६)

लिम्बुवान-खडा हुनैपर्छ । साम्प्रदायिक्ता-नाश होस । रैतीको राज-हुनैपर्छ । जय लिम्बुवान, जय किरात आदि नारा(लिम्बुवान सुधार संघको संक्षिप्त परिचय र दितीय विराट सभाको विवरण,प्रकाशित ३२ गते जेष्ट २०११ हेड आफिस ईलाम) लगाउने लिम्बुवान सुधार संघले किपटभूमि यथावत् राखी राजनीतिक अधिकार सहितको लिम्बुवान स्वायत्त माग गर्नुपर्नेमा तर‘लिम्बुवानलाई जात विशेषको नभइ भिन्नै प्रदेशको रूपमा विकास गर्नुपर्छ’भन्ने माग राजा त्रिभूवन समक्षराखेपछि सुब्बा नरबहादुर नेम्बाहाङले लिम्बुवानका एक किपटिया सुब्बा हुनुको दायित्य निर्वाह गर्दै संघबाट अलग भए । नेम्बाहाङले संघलाई पुरयाउदै आएको आर्थिक सहायता बन्द गरिदिए । त्यसपछिपल्लो किरात लिम्बुवान प्रतिनिधि मण्डलले किपट व्यवस्था कायम रहनुपर्छ भन्दै राजालाई स्मारक-पत्र चढाउने काम गरेको थियो ।

लिम्बुवानमा शान्ति स्थापना गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुब्बा नरबहादुर नेम्बाहाङलाई भेट्न आएका तत्कालीन गृहमन्त्री बी.पी.कोइरालाले सुब्बा नरबहादुर नेम्बाहाङको प्रशंसा मात्र गरेनन् उनीलाई काँग्रेसी बनाइ छोडे ।फलस्वरूप बि.स.२०१५ सालको आम निर्वाचनमा लिम्बुवानबाट काँग्रेसले चुनावमा हार खान परेन । नेपालमा पहिलो  पटक नेपाली काँग्रेसको जननिर्वाचित सरकार बनियो ।

तर जननिर्वाचित सरकारलाई राजा महेन्द्रले विघटन गरिदिए । महेन्द्रको यस कदमको विरोध देश व्यापी भयो । लिम्बुवानको सुकेपोखरीमा  भूविक्रम नेम्बाहाङ र कृष्णविक्रम नेम्बाहाङले प्रहरीको हातबाट राईफल खोसेर शसस्त्र क्रान्ति नैसुरू गरे । सुब्बा नरबहादुर नेम्बाहाङले क्रान्तिकारीहरूलाई रसदपानीको बन्दोवस्त गरिदिनुको साथै आफूसित भएको जोरनाले टोटावाल बन्दुक र कार्तोसहरू समेतदिएर तिनीहरूलाई सक्दो सहायता गरेका थिए ।

सुब्बा नरवहादुर नेम्बाहाङ धार्मिक स्वभावका  थिए । आफू नेम्बाहाङ थरका लिम्बु हुनाले थेबासाम (थेप्मा)-को पूजा हरेक तीन वर्षमागर्दथे । थेबासाम थेप्मा गर्दाकरवाँ पितको बद्लिमा तीन वर्षे पुछर नकाटिएको बुचा सुँगुर(लामिबा)-को भोग दिने गरिन्छ । यो अनुष्ठान सम्पन्न गर्दा तीनरात सम्ममुन्धुम गाउदै फेदाङबा जाग्रत रहनु पर्छ ।मुन्धुम जान्ने फेदाङबाबाट मात्र थेबासाम थेप्मा सम्भव हुन्छ । सुब्बा नरबहादुर नेम्बाहाङको घरमा थेबासाम थेप्मा गर्नु सिवाखोला भन्ने गाउँबाट तुम्रोक थरका फेदाङबा आउथे । तिनी मुन्धुम जान्ने फेदाङबा थिए ।

सुब्बा नरबहादुर नेम्बाहाङले सबै धर्मावलम्बिहरूलाई खुला ह्रर्दयले सहयोग गर्थे ।बि.स.२००४ सालमा सत्यहाङ पन्थका महागुरू फाल्गुनन्द लिङदेनले आफ्ना चेलाभुलाहरूलाई बोलाएर नाम्फुयक शिलौटीमा कोटी होम लगाउने भए । आफू सत्यहाङ पन्थका नभएपनि सुब्बा नरबहादुर नेम्बाहाङले होममा चरू पोल्नका लागि ९ मुरी धान र चामल आदिको व्यवस्था गरिदिएका थिए । यसभन्दा अघि पन्थका महागुरू फाल्गुनन्द लिङदेनले नाम्फुयकमा थेबाको शिला भेटेपछि शिलाको कुटी (शलौटी) बनाइ बि.स.१९९५ सालमा होम लगाउदा सुब्बा नरबहादुर नेम्बाहाङका पिता  महाजन हर्कबोली नेम्बाहाङले होमादिका लागि सम्पूर्ण व्यवस्था गरि दिएका थिए ।

सुब्बा नरबहादुर नेम्बाहाङले  भारतको काशीमा ईश्वरको मूर्ती स्थापना गरी एक जना  पुजारी पनि राखेका थिए । बि.स.२०२३ सालमा सुब्बा नरबहादुर नेम्बाहाङकोदेहान्त भयो । त्यसपछि काशीका पुजारीलाई तलब दिन बन्द गरियो । @अमेरिका ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार