इलाम: सूर्योदय नगरपालिका र नेपालको लागि स्विरजरल्यान्डकी राजदुत एलिजाबेथ भोन क्यापलर बीच नगर विकासको बिभिन्न विषयमा छलफल भएको छ । छलफलमा कृषि, पर्यटन, प्रविधि र विकासको दिगो व्यस्थापन गर्नु पर्नेमा जोड दिइएको नगरपालिकाले जनाएकाे छ ।
नगर प्रमुख रणबहादुर राईले सूर्योदय नगरको अवस्थाको बारेमा जानकारी गराउँदै किसानहरुको उत्पादनलाई सहज रुपमा बजारको पहुँचमा पुग्नका लागि सफटवेयर विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले नगरपालिकाका कर्मचारीहरुले बालमैत्री नगर घोषणा, अनुदानका कार्यक्रम, वडा कार्यालयमा इन्टरनेटको पहुँचका बारेमा आफ्नो धारणा जानकारी गराए ।
प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलले भुमि उपयोग योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले योजना निर्माण भएको खण्डमा खेती प्रणाली र वस्ती व्यवस्थित गर्न सजिलो हुने जानकारी गराउँदै नगरका प्रतिनिधिले कृषि र पर्यटनमा रणनितिक योजना बनाउनुपर्ने जोड दिए ।
राजदुत क्याप्लरले सहयोगको लागि तयार रहेको बताइन् । क्याप्लर सहितको टोलीले सूर्योदय नगरपालिकाका संचालित साना सिचाई परियोजनाको अनुगमन समेत गरेको छ ।