इलाम: मेची पहाडकै प्रतिष्ठित माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सातौं संस्करण हुन सक्ने बताइएको छ । कोभिड-१९ कोरोना महामारी नियन्त्रण भएर अनुकुल अवस्थाको व्यवस्थापन भए प्रतियोगिता हुने क्लबले जनाएको छ ।
इलाम सदरमुकाममा रहेको एकमात्र खेल मैदान ठुलो टुँडिखेलको मर्मत र स्तरोन्नति गर्न सके आगामी फागुनमा सातौ संस्करणको प्रतियोगिता संचालन गर्न सकिने शनिबार बसेको क्लबको पूर्ण बैठकले जनाएको छ ।
२०७६ फागुन १५ गतेदेखि २४ गतेसम्म संचालन भएको छैटौ संस्करणको प्रतियोगिता सम्पन्न हुन साथ विश्व भर कोभिड १९को महामारी फैलिएकोले ०७७ सालको संस्करणको खेल हुँन सकेन । यो वर्षको प्रतियोगिता कोभिड महामारी कमि आएमा सातौ संस्करण खेल सञ्चालन गर्ने सोच रहेको क्लबका महासचिव विनोद श्रेष्ठले बताए ।
टुँडिखेलको अवस्था अत्यन्तै नाजुक भएकोले मर्मत नगरी प्रतियोगिता संचालन गर्न सकिने अवस्था नरहेको श्रेष्ठ बताउँछन् ।
वर्सादको पानीले टुँडिखेलको दक्षिणी भागमा गएको पहिरोको कारण दुवै साईड तर्फ ‘कर्नर किक’ हान्ने स्थान समेत बिग्रिएको छ । पहिरो गएको ठाउँमा पर्खाल लगाएर मैदान भित्रका खाल्डाखुल्डी पुरे मात्रै मैदानमा प्रतियोगिता सञ्चालन गर्न योग्य हुँन्छ । मैदानलाई खेल सञ्चालन गर्न योग्य बनाउँन खेल आयोजक क्लब असमर्थ रहेको बताइएको छ ।
मैदानसँग सम्बन्धित नेपाली सेना, नगरपालिकाको कार्यालय, नगर खेलकुद विकास समिति, जिल्ला फुटबल संघ इलामलाई अनुरोध गर्ने निणर्य गरिएको क्लबका कोषाध्यक्ष कमल सुवेदीले जनाएका छन् ।
क्लबले आफ्नो गतिबिधिलाई निरन्तरता दिनआगामी दिनमा कोच तथा रेफ्री तालिम संचालन गर्ने, अन्य स्थानमा हुने प्रतियोगिताहरुमा क्लबलाई सहभागी गराउने, विभिन्न अन्य निकायहरुसँगको समन्वयमा जिल्ला भित्र स्वास्थ्य शिविर संचालन गर्ने, क्लबको दिगो आर्थिक स्रोत व्यवस्थापन गर्नको लागि एक सहकारी संस्था स्थापना गर्ने, क्लबबाट संचालित शव वहान सेवालाई निरन्तरता प्रदान गर्ने जस्ता निणर्य गरिएको क्लबका प्रचार बिभाग संयोजक राजेश पराजुलीले जानकारी गराए ।