इलाम बजारको सिटी मार्ट उद्घाटन, यो वर्ष नगरपालिकाको उद्घाटन वर्ष


याम माबोहाङ लिम्बू  618 पटक हेरिएको


इलामः इलाम बजारको व्यापारिक भवन सिटी मार्टको उद्घाटन गरिएको छ । सार्वजनिक नीजि साझेदारीमा इलाम नगरपालिकाले निर्माण गरेको जिल्लाकै ठूलो ब्यापारिक भवन सिटी मार्टको विहीबार उद्घाटन गरिएको हो ।

चार तले लिफ्ट सहितको सिटीमार्टको उद्घाटन नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङ्गले संयुक्त रूपमा गरेका हुन् ।

भवनमा ९६ वटा ब्यापारीक सटर रहेका छन् । भवनको तेस्रो तलामा तीन सय ३० जना क्षमताको पार्टी प्यालेस र एक सय २० क्षमताको एक रेष्टुरेन्ट समेत रहेको छ ।

१२ करोड १९ लाख ५४ हजार दुई सय ३७ रुपैयाँको लागतमा भवन निर्माण भएको नगरपालिकाले जनाएको छ ।

निजी लगानीकर्ताबाट तीन करोड आठ लाख ९१ हजार चार सय ४० रुपैयाँ, प्रदेश सरकारको शसर्त अनुदानको ४० लाख रूपैयाँ खर्च भएको छ ।


निर्माण लागतको बाँकी सबै खर्च इलाम नगरपालिकाको लगानीमा भवन निर्माण सम्पन्न गरिएको बताइएको छ ।
२०७५ असार २३ गतेदेखि निर्माण शुरु गरिएको भवन २०७८ भदौं ३० गते सम्पन्न भएको नगरपालिकाका इन्जिनियर दिपक गुरागाईले बताए ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमु्ख महेश बस्नेतले निजी, सार्वजनिक साझेदारी अन्गर्तत मुलुकमै पहिलो भएको बताए ।
इलाम नगरपालिकासँगै जिल्लाको समृद्धिका लागि विकास निर्माणलाई तीब्र बनाएको बताउँनदै प्रमुख बस्नेतले निर्माण कार्यहरु सम्पन्न भएकाले यो वर्ष नगरपालिकाको उद्घाटन वर्ष भएको जानकारी गराए ।


उद्घाटन कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठ, वडा नं. ९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरे, नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी, नेकपा एमालेका तिलक ठकुरी, उद्योग वाणिज्य संघका उपाध्यक्ष मदन श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, हरित शान्ति अभियानकी रीना घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार