तिम्ल्याहा बच्चाको स्याहार ! कसरी हुर्किँदै छन्


सेवारो खबर  277 पटक हेरिएको

काठमाण्डौं: नुवाकोटकी सोमिका तामाङले पाँच वटा शिशु जन्म दिएको एक वर्ष पूरा भएको छ ।

अहिले तीन छोरीहरूको स्याहारसुसारमा व्यस्त सोमिकालाई आफू संसारकै भाग्यमानी आमा लागेको बताउँछिन् ।

उनी भन्छिन्, ‘नानीहरूको स्याहारसुसारमा एक वर्ष बितेको पत्तै पाइनँ ।’

बिहे गरेको ९ वर्षपछि बच्चा हुँदा, एकै पटक ३ छोरीहरू हुर्काउन पाउँदा अनेकौँ दुख कष्ट भए पनि बच्चाको हाँसोमा आफूले सबै पीडा बिर्सिने गरेको सोमिका बताउँछिन् ।

उनले भनिन्, ‘गर्भावस्थाका बेला जीवन र मृत्युको दोसाँधमा लड्दै गरेकी जस्ती भएकी थिएँ। बच्चा जन्माएपछि अहिले एक वर्ष खुसी भएरै बिताएकी छु ।’

शिशुहरूको स्याहारसुसारमा परिवार र एक जना सहयोगी समेत दत्तचित्त छन्। राजनीतिमा सक्रिय सोमिकाका श्रीमान्ले पनि सहयोग गर्ने गरेको बताउँछिन् ।

एकैपल्ट तीन देवी जन्म दिएको भनेर परिवार खुशी छ । तर समाजका कैयौँले तीन छोरी जन्मे अब फेरि छोरा पाउने होला भन्ने गर्छन् ।

‘त्यस्तो सुन्दा दुख लाग्छ यो समाजले किन छोरालाई बढी महत्त्व दिएको होला भनेर’ उनले भनिन्।

सोमिकाको दूधले एक महिनासम्म तीन छोरीलाई पुग्थ्यो । तर दोस्रो महिनादेखि नै अन्य दूध खुवाउन थालिन् । साढे पाँच महिनादेखि भने लिटो, जाउलो तथा फलफूलहरू पनि खुवाउँदै आएको उनले बताइन् ।

कैयौँ जुम्ल्याहा, तिम्ल्याहा बच्चाहरूको रुचि र स्वभाव एउटै हुने भए पनि उनका छोरीहरूका स्वभाव भने फरक फरक रहेको सोमिकाले बताइन् ।

राती नौ दश बजेतिर भने पालैपालो केही समयको फरकमा निदाउने गरेका छन् ।

खाने खुवाउने बेला भने बच्चाहरूको व्यवस्थापन चुनौतीपूणर् रहने गरेको छ ।

उनी भन्छिन्, ‘खान खुवाउन करिब डेढ घण्टा लाग्छ ३ जनानै एकै ठाउँमा झुम्मिन्छन् । कहिले कहिले एक अर्कालाई दलिदिने, कपडाहरू तान्दिने अनि रुने, एकलाई खुवाए अर्की अन्तै गइरहेकी हुन्छे फेरि तानेर ल्यायो अर्की के गरिरहेकी हुन्छे । कहिले त आआफ्नो बिहानको खान खाने समय नै घर्किन्छ ।’

उनले बच्चाहरूलाई हप्तामा एक पटक नुहाइदिने गरेकी छन् । त्यस दिन उनी अन्य दिनभन्दा बढी नै व्यस्त हुन्छिन् ।

पालैपालो नुहाउने, तेल लगाउने अनि सुताउने गर्दा दिन बित्छ ।

उनले आफ्ना छोरीहरूको नाम भने अझै राखेकी छैनन् ।

सोमिका भन्छिन्, ‘तीनै जनाको उस्तै सुनिने नाम राख्ने सोचमा छु ।’

शुरूमा भिडिओ एक्स-रे गर्दा जुम्ल्याहा बच्चा छन् भन्ने सुन्दा उनको खुशीको सीमा रहेन ।

अर्को पटक भिडिओ एक्स-रे गर्दा भने उनी “छाँगाबाट खसे झैँ’ भइन्।

“मरिन्छ कि झैँ लाग्थ्यो । नर्सहरूले अरूले पनि चार वटा बच्चा जन्माएका छन् केही हुन्न आराम गरेर बस्नु भन्थे । तर मनमा अनेक कुरा खेलिरहन्थ्यो त्यसैले एक जना साथी अनिवार्य साथमा राख्थेँ ।’

सोमिका र हरिकुमार तामाङको बिहे भएको ९ वर्ष भइसकेको थियो । त्यस बीचमा दुई पटक सम्म गर्भ खेर गएको थियो ।

त्यसपछि लामो समयसम्म बच्चा नभएपछि उपचार गरेर गर्भ बसेको थियो ।

पेटमा चार बच्चा भएको थाहा पाउने बित्तिकै उनीहरू राजधानी काठमाण्डू बस्न गए ।

पहिलो पटक गर्भमा बच्चा चल्दा उनको फेरि एक पटक होस उडेको थियो ।

‘मुटुमुनि केही बुरुकबुरुक भयो । म त आत्तिएर जुरुक्क उठेँ। क्षामा (सानिमा)ले बच्चा चलेको हो। तिम्रो पेटमा धेरै वटा भएकाले त्यस्तो लाग्यो तिमिलाई भन्नुभयो। अनि बल्ल डर लागेन ।’

एक बच्चा मृत जन्मियो। चार जीवित थिए ।

जन्मिँदा शिशुहरूको तौल १९ सय ग्राम, १८ सय ग्राम, १६ सय ग्राम र ८ सय ग्राम रहेको थियो ।

८ सय ग्राम मात्र रहेको शिशुको तौल न्यून भएकाले स्वास्थ्यकर्मीको सुझाव अनुसार जन्मे लगतै आईसीयूमा राखे पनि एक हप्तापछि मृत्यु भएको अस्पतालले जानकारी दिएको सोमिकाका श्रीमान् हरिकुमार तामाङले बताए ।

जेठी छोरी १८ सय ग्राम जन्मेकोमा अहिले ९ किलोकी भइन्। माइली १९ सय ग्राम रहेकोमा अहिले पौने ९ किलोकी छन् ।

र कान्छी १६ सय ग्रामकी जन्मिएकीमा अहिले ८ किलोको भएकी छन् । @शक्तिमाया तामाङ, www.bbc.com बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार