आत्मानन्द कपको १४ औं संस्करण यो वर्ष मंसिर ११ देखि १७ गतेसम्म सञ्चालन हुँने


सेवारो खबर  340 पटक हेरिएको

इलामः इलामको माङ्सेबुङमा आत्मानन्द कपको १४ औं संस्करण मंसिर ११ गतेदेखि सञ्चालन हुने भएको छ ।

१७ गतेसम्म सञ्चालन हुँने खेलमा आठ टिमको सहभागिता रहेन मंगलबार इलाम बजारमा भएको पत्रकार सम्मलनमा बताइएको छ ।
प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले जनाए ।

प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा ११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्बल मोरङको सहभागिता रहनेछ ।
माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ अघिल्लो संस्करणको समेत विजेता टिम हो ।

किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सवको अवसरमा सञ्चालन हुने खेलको विजेताले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

खेलमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच लगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने बताईएको छ ।

प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित आत्मानन्द खेलमैदानमा संचालन हुनेछ ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, छेलो हान्ने, धनुकाँड, कराँते लगायतका खेलहरु समेत संचालन जनाइएको छ ।

म्यारथुनतर्फ भने साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ शुभजन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन हुँदै आएको छ ।

२०६५ सालमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख १ सय ६८ रुपैयाँ पुगेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार