इलाम: समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको १३७ औं जन्म जयन्ती विहीबार विविध कार्यक्रम गरी मनाईएको छ ।
हरेक वर्ष कात्तिक २५ गते मनाइने फाल्गुनन्दको जन्म जयन्तीको अवसरमा इलाम नगरपालिकाले फाल्गुनन्द सुकिलुम्बा बिमानस्थल प्रवेशमार्गमा निर्मित फाल्गुनन्दको सालिकको अनावरण गरेको छ ।
नेकपा एमाले नेता सुवासचन्द्र नेम्बाङले सालिकको अनावरण गरे । सालिक अनावरणपछि संक्षिप्त सम्बोधन गर्दै नेम्बाङले महागुरु फाल्गुनन्दको योगदानको कदर गरी विमानस्थलको नाम समेत फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल राखिएको उल्लेख गरे ।
१३ लाख ३७ हजार लागतमा इलाम नगरपालिकाले फाल्गुनन्द मार्ग प्रवेशद्वारसहित शालिक निर्माण गरेको जनाइएको छ ।
माङसेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका, माई नगरपालिकाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी जन्म जयन्ती मनाएका छन् ।
मोरङको केराबारी र लेटाङ, सुनसरीको भरौलमा किरात माङहिम उद्घाटन र फाल्गुनन्दका सालिक अनावरण कार्यक्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेनले माङहिमको उद्घघाटन र सालिक अनावरण गरेका छन् ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, उदयपुर, खोटाङ, भोजपुरलगायतका जिल्ला र प्रत्येक किरात माङहिममा जन्मजयन्ती मनाइएको किरात अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले जानकारी दिए । त्यस्तै भारत, भूटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबइ, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, साइप्रसलगायतका किरात धर्मावलम्बीहरुले समेत जन्मजयन्ती मनाएका छन् ।
इलामको माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चीनाम्बामा बाबु जगनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट १९४२ साल कात्तिक २५ गते आइतबार साईला छोराको रुपमा जन्मेका फाल्गुनन्दको देहावसान २००५ चैत २२ गते सोमबार ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा भएको थियो ।