इलाम: नेपाली कांग्रेस इलामका नवनिर्वाचित सभापति डम्बर खड्काले पार्टीलाई गुट रहित बनाउँने बताएका छन् ।
सभापति खड्काले आइतबार आज पत्रकार सम्मेलन गरि जिल्लामा चार गुटमा रहेको नेपाली कांग्रेसलाई आफ्नो विजयसँगै दुई गुटमा झरेको दाबी गर्दे भने ‘अब म पार्टीलाई गुट रहित बनाउँनेछु ।’
‘बिलय जस्तै बनेका सुस्त पार्टीका भातृ संगठनलाई सर्वसम्मत ढंगले समिति बनाउँदै क्रियाशिल गुट रहित पार्टी निर्माणमा लाग्नेछु, उनले भने-पार्टी निर्माणको कामसँगै जिल्लाको शिक्षा, स्वाथ्य, पर्यटन, सडक लगायतको विकासको कामलाई अघि वढाउँन प्रदेश तथा संघीय सरकारलाई निरन्तर झकझक्याने काम गर्नेछु ।’
जिल्लामा अहिलेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालय नभएकोले सभापति खड्काले आफ्ना स्वर्गीय बाबु धनबहादुर खड्का र आमा मनमाया खड्काको नाममा पार्टी कार्यालय बनाउँने ९० लाख बराबरको पाँच आना जग्गासँगै थप १० लाख रूपायाँ थपेर पार्टी कार्यालय निर्माण गर्न एक करोड दिने घोषणा समेत गरेका छन् ।
उनले भोली सोमबारबाटै कार्यालय निर्माणको काम समेत थाल्ने जानकारी गराए ।
पार्टी कार्यालय निर्माणकै लागि सांसद एवं केन्द्रीय सदस्य सुजाता परियारले ५ लाख रुपैयाँ दिने घोषणा गरेकी छिन ।
इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले २ लाख दिने बताएका छन् ।
पार्टी सभापतिको शपथ लिएकै दिन खड्काको पहलमा पार्टी कार्यालय भवन बनाउन सहयोग रकम संकलन हुन लागेको हो ।
नवनिर्वाचित खड्काले आफुलाई जिल्ला सभापतिमा निर्वाचित गराउने क्षेत्रिय प्रतिनिधि लगायत पाटीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन् ।
समाजसेवा गरेर इलामेली जनताको मनमा बस्न सफल भएका खड्का अब राजनीतिमा पनि सबैको मनमा बस्ने अभियानमा अघि बढेका छन् ।
जिल्ला सभापतिको यात्रा
नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट समाजसेवी डम्बरबहादुर खड्का इलाम जिल्ला सभापतिमा विजयी भएका हुँन । उनले आफ्ना प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी बनेका हुन् ।
शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरे । एक हजार ७ सय ९५ मतदातामध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो ।
खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए ।
पदाधिकारीमा अल्पतमत
अन्य पदाधिकारी र कार्यसमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । सात पदाधिकारीमध्ये खड्का समूहबाट सभापतिसहित ३ र आचार्य समूहबाट ४ पदमा विजयी बन्यो । पदाधिकारीमा खड्का समूह अल्पतमतमा परेको छ ।
दुवै उपसभापति पदमा आचार्य समूहका उम्मेद्वार विजयी भएका छन् । आचार्य समूहबाट खगेन्द्र देवान ८ सय ७४ मत र विष्णुकुमारी लिम्बू दहालले ७ सय ७८ मतका साथ विजयी बने । खड्का समूहका केदार थापाले ७ सय ४७ मत र होमप्रसाद दुलालले ६ सय ९९ मत पाएर पराजित बने ।
दुई सचिव पदमा दुवै समूहबाट एकएक जना विजयी बनेका छन् । सचिवमा आचार्य समूहका पूणर्प्रसाद गौतम ८ सय १९ मत र खड्का समूहका निरोज खड्की ७ सय ९३ मतका साथ विजयी बने । आचार्य समूहका विष्णु हेमकुमार कार्की ७ सय २२ मत र खड्का समूहका हुकुमलाल थेबेले ७ सय १५ मत पाएर पराजित बने ।
त्यस्तै दुई सहसचिव पदमा समेत दुवै समूहबाट एकएक जना विजयी बनेका छन् । सहसचिवमा खड्का समूहबाट डालाकुमारी कार्की ८ सय ६५ मत र आचार्य समूहका देवेन्द्रकुमार सुवेदी ७ सय ८१ मतका साथ विजयी बने । आचार्य समूहका चक्र एक्तेन (अभिषेक) ले ६ सय ५६ मत र प्रविना राईले ६ सय ३६ मत पाएर पराजित बने ।
२२ जिल्ला सदस्यका लागि भएको निर्वाचनमा समेत मिश्रित परिणाम आएको छ ।
अन्तिम समयमा उम्मेदवारबीच समीकरण फेरिएपछि अधिवेशन रोचक बनेको थियो । संस्थापन र इतरका २/२ उम्मेदवार चर्चामा रहेपनि अन्तिममा संस्थापनका डम्बर खड्का र इतरबाट भेषराज आचार्य मात्र सभापति पदमा प्रतिष्पर्धा गरेका थिए ।
आर्चाय भन्दा कमजोर उपस्थिति रहेको खड्काले चारमध्ये दुईवटा समूहको समेत साथ पाएपछि जित निकालन् सफल भए । खड्कालाई संस्थापनकै पूर्वसभापति केशव थापा र इतरका निवर्तमान सभापति हिमालय कर्मचार्यले समर्थन गरेका थिए ।
पछिल्लो समय आचार्य पक्ष बलियो बन्दै गएपछि उनलाई एक्ल्याउन नयाँ समीकरण बनेको थियो । संघीय निर्वाचन क्षेत्रतर्फका दुवै क्षेत्रमा आचार्य पक्षका उम्मेदवारले सभापति जितेका थिए । प्रदेशसभाका ३ क्षेत्रमा आचार्य पक्षका र १ क्षेत्रमा मात्र खड्का समूहका सभापति चुनिएका थिए ।