“प्रिया“
सर्वप्रथम त आफू आराम रही तिमीलाई पनि आरामको कामना छ ।
धेरै समयको अन्तराल पछि प्रेमको दुई किनारमा तड्पिएर रहेका जिउँदो लास भावनाहरू तिमी समक्ष पोख्न लागिरहेको छु कृपया स्वीकारीदिनु होला ।जुन लेख्दै जाँदा कुनै गल्ती र कम्जोर शब्दहरूले आसन ग्रहण गर्न पुगेमा घायल प्रेमी सम्झी क्षमा दिनु हुन्छ भन्ने आशा राख्दछु ।
’’जिन्दगी दुःख सुखको संगम हो भने प्रेम मिलन बिछोडको सिलसिला रहेछ’’ । जुन अंशको तात्पर्य तिमीले प्रेमको बदला बिछोडको पीडा समर्पण गरी मलाई घायल प्रेमी बनाएदेखि चाल पाएँ ।
के गल्तीका कारण तिमी मबाट क्षितिज बनी टाढियौ ? सँगै बाँच्ने सँगै मर्ने सुख दुःख माथि मुकाबिला गर्दै जिन्दगी सार्थक बनाउने बचन बद्धताहरू आज खोइ कहाँ गए ?
क्ष् यिखभ थयग भनेर मलाई सर्प्राइज दिएका थियौ त्यही शब्दले मलाई न मर्न दियो न याद बिना बाँच्न सक्ने नै बनायो हर पल हर क्षण पीडाको धारिलो छुरा बनेर मुटुलाई रेटी रहन्छ ।
मनबाट उब्जिएको यादको तिर्सना आँखाको भोक मेटाउनको लागि भड्किरहेको एक तर्फी मेरो प्रेमलाई केही शान्ति मिल्छ कि भन्ने आशा लिएर दिन र रात गरि तिमीलाई भेट्नकै लागि हजारौं पटक यी आँखाहरू निदाएर हेर्छु । सपनामा पनि तिमी पराईको अंगालोमा बेरिएर रमाईरहेकी देख्छु । त्यो दृश्यले मलाई पागल बनाउँछ दिमागले काम गर्न नै छोडिदिन्छ । तिमीलाई अंगालेर चुम्बन गरिरहेको देख्छु त्यस बखत मनमा लाग्ने गर्छ त्यो पराईको मान्छेलाई मारेर जेल जाउँ या आत्मा हत्या गरूँ । कि त म जस्तै तड्पी तड्पी बाँच्ने बनाउँ । मेरो नभएको प्रेमिका अरुको पनि हुन दिन्न भन्ने दिमागमा एक खालको पागलपन उत्पन्न हुन्छ ।
तर म सोच्दछु । मेरि प्यारीको खुशी छुटाएर कदापी दुःख दिन्न भनेर । पटक पटक अगाडि सरेको पाइलाहरू रोक्ने गर्दछु ।
मनमा फेरि अर्को तर्कना सुरू हुन्छ । भड्किएको प्रेमलाई सान्त्वना दिन गजलको प्रत्येक काफिया रदिफहरूमा बहकिन्छु । कविताको अंश अंशमा रुन्छु । रुबाइ मुक्तकको प्रत्येक अनुप्रास र स्वतन्त्र लाइनहरू मार्फत मनबाट पलाएका तिमीले हत्या गरेर आत्मा भड्की रहेका भावनाहरू तिमी समक्ष पुर्याउन कोशिस गर्छु ।
तर तिमीले फेसबुकको साथीबाट पनि मलाई हटाएरै छोडी गएपछि मेरो पुकारहरू कसरी तिमी समक्ष पुगेको बिश्वास गरौं ? म तिम्रो फेसबुकको प्रोफाइल दिनमा सयौं पटक खोल्दै नयाँ-नयाँ तिम्रो फोटोहरू हेर्ने गर्छु । तस्बिरलाई चुम्दै डाको छोडी रोएर चिच्याउँछु । अचानक बिउँझिन पुग्छु आँखाबाट आँसु बगेर कानको दुलो हुँदै सिरानी भिजेको हुन्छ । हुन त यो सब तिमीले बिश्वास गर्छ्यौ पनि कसरी ? (म आफैं सोच्छु)
प्रिया……यो मेरो यथार्थ पागलपन हो, या त तिमी प्रतिको मेरो प्रेम समर्पण हो । मलाई आफैंलाई थाहा छैन । यसको श्रेय तिमीलाई नै जानेछ ।
विगतमा एक छिन बोल्न देख्न नपाउदा एक्लै भएको महसुस गरिन्थ्यो । धेरै समयपछि टेलिफोनमा बोल्दा हर्षले या विस्मातले हो हामी दुबैजना रोएको पल तिमीलाई थाहा छ कि छैन ? तर वर्तमान समयमा त्यो केवल याद मात्र रहेको छ ।
“प्रिया“ …! यो जुनिमा तिम्रो र मेरो प्रेमको मामिलामा मेरो हार तिम्रो जीत भएको छ, बधाई तथा प्रेम सफलताको शुभकामना मैले भन्दा पनि धेरै माया गर्ने मान्छे ठानेर रोजेकोमा ।
यो जुनिमा हामी प्रेमको दुई किनार भयौं, न मैले चाहेर तिमीलाई पाउन सक्छु न तिमीले चाहेर मलाई पाउँन सक्छ्यौ, तर अर्को जुनिमा पक्का तिम्रो हुन पाउँ । तिमीलाई माया गर्ने सौभाग्यमानी बन्न पाउँ । आफ्नो छातीमा टसाएर तिम्रो नशालु ओठहरू सुम्सुम्याउदै, सुकोमल तिम्रो गाला मुसार्दै हाम्रो यो जुनिको प्रेम कहानी सुनाउन पाउँ । तिमी हिँड्दा टेक्ने सिँढीमा यी अञ्जुलीहरू भिँजाएर राख्न पाउँ । तिम्रो सिउदोमा सिन्दुर भर्न पाउँ ।दुःखमा तिम्रो आँखाहरू रसाउन पुगे मेरो गल्बन्दीले तिम्रो आँसु पुछ्न पाउँ ।
यो जुनिदेखि अर्को जुनिसम्म पलाएको मेरो सबै प्रेम तिम्रो लागि साँचेर राख्नेछु । कागजमा लेखे ओसिएर मेटिएला, मुटुमा कुँदेर राख्नेछु “प्रिया“।
अन्तमा ….
बिगतमा तिमीसँग बोल्दा हाँस्दा कुनै बेला तिम्रो चित्त दुखाउँन पुगेको भए क्षमाप्रार्थी चाहन्छु। यहाँ लेख्न खोज्दाखोज्दै मनका भावनाहरू उकुसमुकुस भएर निस्किन खोज्दा-खोज्दै देहभरिको पीडा र वेदनाहरू पोख्न लाग्दालाग्दै पनि निश्ठुरी समयले बिदाईको हात हल्लाई सकेपछी मैले पनि सहर्ष स्वीकार्नै पर्छ “प्रिया “।
तसर्थ ! तिम्रो सु-स्वास्थ्य दिर्घायु साथै तिम्रो हर पाइला-पाइलामा उत्तरोत्तर प्रगतिको कामना गर्दै, यो पत्र पाएको जानकारीको आशा राख्दै मेरो प्रेमपत्रको समय पनि यहीँ समाप्त भएको घोषणा गर्दछु ।।
आफैंलाई भन्दा धेरै तिमीलाई माया गर्ने उहीँ तिम्रो घायल “प्रेमी “
मणि अन्जान ।
इतिसम्बत २०७८ पुष शुभम …