इलामः एन्फा जिल्ला लिग इलामको शुक्रबार सम्पन्न खेलको उपाधी रेडहर्ष फूटबल क्लब भएको छ ।
फाइनल खेलमा रेडहर्षले एमएफसी पान्दाम फिक्कललाई चार-शुन्यको सानदार जित निकाल्दै लिग च्याम्पियन बनेको हो ।
लिग च्याम्पियन रेडहर्षले अब प्रदेश लिगमा इलामको नेतृत्व गर्ने भएको छ । खेलको सुरुवातदेखि पान्दाम माथि रेडहर्ष हाबी भयो ।
खेल सुरू भएको ४ मिनेटमै पासाङ शेर्पाको गोलबाट रेडहर्षले अग्रता लिएको थियो ।
पान्दामका खेलाडीले रेडहर्षका खेलाडीमाथि फउल गरेपछि शेर्पाले करिब २५ यार्डबाट प्रहार गरेको फ्रि किकमा सहजै गोल गर्न सफल भए ।पान्दामका खेलाडीले पटक पटक गोल गर्ने अवसर पाएपनि सफल हुन नसक्दा लिग च्याम्पिन बन्ने सपना टुटेको छ ।
खेलको ३८ औं मिनेटमा सन्तोष रम्तेलले गोल किप्पर बिट भइसकेको अवस्थामा पेनल्टी डिबक्स नजिकैबाट प्रहार गरेको बलले जालि चुम्दा रेडहर्षले पहिलो हाफमा २-शुन्यको अग्रता लिन सफल भयो ।
खेलको ४१ औं मिनेटमा पान्दामका गोलरक्षक मौसम लुङ्गेली मगर रेडकार्ड खाँदै मैदान बाहिरीएपछि पान्दाम बाँकी समय १० खेलाडीमा सिमित भएको थियो । डिबक्स बाहिर आएर बल रोकेपछि उनलाई मुख्य रेफ्री राजु थापा मगरले सिधै रेडकार्ड देखाएका थिए ।
दश खेलाडीमा समेटीएको पान्दामले खेलमा फर्कने कोशिष धेरै पटक गरेपनि रेडहर्षको डिफेन्स लाइन र गोलरक्षक बाधक बनिदिएका थिए ।
खेलको ६४ औं मिनेटमा पासाङले ब्यक्तिगत थप एक गोल गर्दै टिमलाई ३-शुन्यको अग्रता दिलाइरहँदा ६९ औं मिनेटमा रेडहर्षका खेलाडीमाथि पान्दामका गोलरक्षकले डिबक्स भित्र लडाएपछि रेडहर्षले पेनल्टी पाएको थियो ।
पेनल्टीमा सन्तोष रम्तेलले सहजै गोल गर्दै टिमलाई सानदार जित दिलाउनुका साथै लिग च्याम्पियन बनाउन सफल भए । सो बखत पान्दामका गोलरक्षक समेत घाईते भएका थिए । उनलाई मैदानमै सामान्य उपचारपछि थप उपचारका निम्ति इलाम अस्पतालमा ल्याउनु परेको थियो ।
खेलको करिब अन्तिम समयतिर रेडहर्षले गोल संख्या बढाउने दुईवटा ससुनौलो अवसर गुमाएको थियो । रेडहर्षका पासाङ शेर्पाले वान भर्सेस वानमा गोल लगाउनबाट चुकेका थिए । लिग च्याम्पियन बनेको रेडहर्षले नगद २५ हजार पुरस्कार पाउँदा उपबिजेता पान्दामले १५ हजार रुपैंयाँ पाएको छ । बिजेता तथा उपबिजेता दुबै टिमलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेत, एन्फाका केन्द्रिय सदस्य निरोज खड्गी, जिल्ला फूटबल संघका अध्यक्ष महेश श्रेष्ठ, इलाम नगर खेलकुद बिकास समितिका अध्यक्ष बिनोद श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएको थियो । रेडहर्षले बिहीबार भएको सेमिफाइनलमा दिपेन्द्र शिखर हर्कटे र पान्दामले देउराली स्पोटीङलाई हराएर फाइनलको यात्रा तय गरेका थिए । अखिल नेपाल फूटबल संघ (एन्फा)को बार्षिक कार्यक्रम अनुसार जिल्ला फूटबल संघ इलामले आयोजना गरेको एन्फा जिल्ला लिगमा ३६ खेल भएका छन् भने सेमिफाइनल र फाइनल गरेर जम्मा ४० खेल भएको छ ।
संघमा आबद्ध रहेका १३ वटा क्लबले लिगमा सहभागिता जनाएका थिए । ती क्लबलाई समूह ए मा ६ र बि मा ७ वटा गरेर बिभाजन गरीएको थियो । यी दुवै समूहबाट २/२ टोलिले सेमिफाइनलमा स्थान बनाएका थिए भने यी दुबै समूहबाट एक/एकवटा क्लब यो बर्षबाट रेलिगेसनमा पर्दै बि डिभिजनमा घटुवा समेत भएको छ । समूह ए मा निहारिका स्पोटिङ क्लब, एमएफसि पान्दाम, दिपेन्द्र शिखर हर्कटे, फ्रेण्डस क्लब गोदक, मिलेनियम फ्रेण्डस क्लब र पूर्व क्षितिज क्लब कट्टेबुङ्ग रहेको थियो भने समूह बि मा माईभ्याली, रेडहर्ष, त्रिबेणि युथ क्बल, हेल्लो जस्बिरे, देउराली स्पोटीङ, ओएसिस एफसि र हेलिबोथ एफसि बिब्ल्याँटे रहेको थियो ।