सूर्योदय नगरपालिकाको पाँच वडा बालमैत्री


सेवारो खबर  307 पटक हेरिएको

इलामः सूर्योदय नगरपालिकाले बिहिबार आज वडा नम्बर ६, ७ र ८ लाई बालमैत्री घोषणा गरेसँग पाँच वटा वडालाई बालमैत्री बनाएको छ । यसअघि वडा नम्बर ९ र १० लाई बालमैत्री घोषणा गरि सकेको छ ।

बालमैत्री वडा बनेसँगै स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा भएको बताइएको छ ।

बालमैत्री वडा घोषणा कार्यक्रममा नगर प्रमुख रणबहादुर राईले बालमैत्री घोषणा पछि विनियोजन गर्ने बजेट मध्ये १० प्रतिशत बालबालिकाको क्षेत्रमा खर्च गरिने बताए । उनले दिर्घकालिन उपलब्धि लिन बालबालिकालाई लगानी गर्नुपर्ने जानकारी गराउँदै ५१ सुचक कार्यान्वयन गर्न शिक्षक, अभिभावक, जनप्रतिनिधि, बालबालिका एवं सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने जोड दिएका छन् ।

‘कुनैपनि कार्यक्रम गर्दा बाल सहभागिता अनिवार्य हुनुपर्ने बताउँदै प्रमुख राईले भने-भौतिक विकास बालमैत्री बन्न जरूरी छ ।’

नगर उपप्रमुख दुर्गाकुमार बरालले आजका बालबालिका आंफैमा अनुशासित रहेको बताउँदै केही बालबालिका विकृतिमा फसेकोले त्यसतर्फ निगरानी बडाउन अभिभावक र शिक्षकलाई आग्रह समेत गरे ।

वडा नं ७ का वडाध्यक्ष लोकबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ६ का अध्यक्ष शिव कुमार बस्नेत र ८ का वडाध्यक्ष जंग गुरुङले वडालाई बालमैत्री बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै यसलाई दिर्घकालिन उपलब्धिका रूपमा लैजाने गरि सवै पक्ष जुट्नुपर्ने धारणा राखे ।

महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख तारा शेर्पाले लामो समयदेखि घोषणाको तयारी भएपनि कोरोना र निर्वाचनका कारण बाँकी रहेको बताईन् । उनले नगरप्रमुख राईले बालबालिकालाई संधै प्राथमिकतामा राखेको भन्दै शाखा प्रमुख शेर्पाले श्रावण २९ सम्ममा बालमैत्री नगर घोषणा भैसक्ने दाबी गरिन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय बाल अधिकार परिषद प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बालबालिकाको क्षेत्रमा सूर्योदय उदाहरण भएको बताउँदै आफु थुप्रै पालिकामा पुग्ने गरेको र प्रायजसो उदाहरण सूर्योदयकै दिने गरेको बताए ।

समन्वय अधिकृत अधिकारीले बालमैत्री नगर घोषणा गर्न पुरा गनुपर्ने सुचक हाल ५१ वटा रहेको भन्दै यो चुनौती पुणर् रहेको जानकारी गराए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिलमणी गड्तौला, वाल क्लबकी अध्यक्ष रचना कार्की, नगर बाल सन्जाल समितिका उपाध्यक्ष निरज राई लगायतले मन्तव्य राखे । बाल क्लबकी अध्यक्ष रचना र बाल सन्जालका उपाध्यक्ष निरजले बालबालिकाको प्रतिभा विभिन्न माध्यमबाट बाहिर ल्याउन जरुरी रहेको बताए। उनिहरुले बालसन्जाल गठन भएयता प्राप्त उपलब्धि सम्बन्धमा जानकारी गराए। गायन, नृत्य, साहित्यिक सृजनामा बालबालिका अव्बल बन्दै गएको उल्लेख गरेका छन् ।

वडा नं ६,७ र ८ आयोजना र महिला बालबालिका तथा समाजकल्याण शाखाको समन्वयमा सम्पन्न कार्यक्रममा बालबालिकाहरूले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार