इलामः मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा आधारभूत मेलमिलाप सम्बन्धि दश दिने मोड्यूलर प्रशिक्षक उत्पादन तालिम होटल पोखरेलीमा शुुरू भएको छ ।
सिभिल पिस सर्भिस (जेडएफडी) जिआइजेड जर्मनको सहयोगमा मञ्चको साझेदार संस्थाको क्षमता विकाससँगै सहजिकरण गर्ने प्रशिक्षक उत्पादन गर्न तालिम सञ्चालन गरेको जनाइएको छ ।
सहकर्मी संस्थालाई सबल, क्षमतावान बनाउँदै दीगो व्यवस्थापन तथा सञ्चालन गर्न सहयोग मिलोस भन्ने उद्देश्यले तालिम सञ्चालन गरेको मानव अधिकार मञ्च नेपालका अध्यक्ष मोहनसिंह थेबेले जानकारी गराए ।
तालिममा आठ दिनसम्म सर्बोच्च अदालत मेलमिलाप परिषदले स्वीकृत गरेको पाठ्यक्रममा आधारित विवाद व्यवस्थापन, स्थानीयत तहको न्यायिक समितिको क्षेत्राधिकार, मेलमिलापकर्ताको सीप, काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराइने छ । बाँकी दुुई दिन प्रशिक्षक हुनका लागि आवश्यक पर्ने थप सीपहरूको बारेमा जानकारी गराइने मञ्चका स्थानीय शान्ति सहजकर्ता पारस राईले जानकारी गराए ।
तालिममा मानव अधिकार मञ्च नेपाल इलाम, विकास र सचेतनाका लागि सामाजिक संस्था (सोडा) भोजपुर देउराली सोसाइटी तेह्रथुम, सामुदायिक विकास मञ्च धनकुटा, समाज स्पर्श समिति संखुवासभा र वातावरण विकास संरक्षण मञ्च (इसिडिएफ) ताप्लेजङ संस्थाका २० बढि स्थानीय सहजकर्ताको सहभागीता रहेको छ ।