इलाम: नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले पुरस्कार वितरणसँगै सम्मान कार्यक्रम गर्दै २३ औं स्थापना दिवस मनाएको छ ।
दिवसको अवसरमा शुक्रबार (आज) भएको कार्यक्रममा आदिवासी जनजाति योगदान पत्रकारिता पुुरस्कार जिल्लाका अग्रज सञ्चारकर्मी सटेन्द्र जबेगूलाई पुरस्कृत गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राई र इलाम नगरका प्रमुख केदार थापाले पत्रकार जवेगूलाई दोसल्ला, सम्मानपत्र र १० हजार रुपैयाँको चेक प्रदान गरे ।
अढाई दशकदेखि इलामे पत्रकारितामा क्रियाशील जवेगू नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य एवम् इलाम शाखाका पूर्व अध्यक्ष हुन् । हाल इलामबाट प्रकाशित इलाम पोष्ट दैनिकका सम्पादक र इलाम आवाज साप्ताहिकका प्रकाशक रहेका जवेगू फोनिज इलामका सल्लाहकार समेत हुन् ।
फोनिज इलामले स्थापना गरेको सो पुरस्कार पहिलो पटक वितरण गरेको हो । पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले गतवर्ष आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष स्थापना गरेको थियो । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी कोष स्थापना गरेको जनाइएको छ ।
पुरस्कार कोषमार्फत बर्सेनि एक जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ । फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक/लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख/आलेख, वहस/पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूणर् योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गरिने फोनिजले जनाएको छ ।
सोही अवसरमा फोनिज इलामले फोनिजका पूर्व अध्यक्ष र सदस्यहरुलाई सम्मान गरेको छ । फोनिमा आवद्ध भई हाल जनप्रतिनिधिमा निर्वाचित दुई र निजामति सेवामा प्रवेश गरेका दुई गरी चार जना पूर्व फोनिजकर्मीलाई सम्मान गरेको हो ।
इलामको सूर्योदय नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित फोनिज इलामका पूर्व अध्यक्ष ख्याम भुजेल र सन्दकपुर गाउँपालिका ५ मा वडा सदस्यमा निर्वाचित फोनिजका पूर्व सदस्य कुमार गुरुङलाई सम्मान गरेको बताइएको छ ।
त्यस्तै निजामति सेवामा प्रवेश गरेका फोनिजका पूर्वसदस्यहरु सुमन लावती र अशोक लिम्बूलाई सम्मान गरेको हो ।
फोनिज इलामका अध्यक्ष राम योङहाङको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका सहभागीहरुले मर्यादित र व्यवसायिक पत्रकारितामा जोड दिएका थिए । पछिल्लो समय प्रविधिको विकासँगै पत्रकारहरुका लागि सामाजिक संजाल मुख्य चुनौती रहेको उल्लेख गर्दै वक्ताहरुले सत्यतथ्य र निश्पक्ष पत्रकारितामा जोड दिएका थिए ।
कार्यक्रममा इलाम गरप्रमुख थापासहित पुरस्कृत पत्रकार जवेगू, सम्मानित जनप्रतिनिधि भुजेल, फोनिज प्रदेश सदस्य अतित योङहाङ, नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई लगायतले मन्तव्य राखेका थिए ।