इलाम : विश्वभर मनाइएको किरात याक्थुुङ चुुम्लुुङ इलामले स्थानीय तहको जनप्रतिनीधिलाई सम्मान र छात्रबृति वितरण गर्दै मनाएको छ ।
चुुम्लङको स्थापना भएको ३४ वर्ष पुुगेको अवसरमा १४ जनप्रतिनिधि र ५ जनालाई छात्रबृति वितरण गदै दिवस मनाएको हो ।
स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित लिम्बू समुदायका नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यह सहित८ जनालाई सम्मान गरेको चुुम्लुुङले जनाएको छ ।
सम्मानित हुनेमा माई नगरपालिका नगरप्रमुख खम्बसिंह लिम्बू योङहाङ, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ र उपाध्यक्ष दिलकुमारी लिम्बू (योङहाङ), माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवे र माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङ रहेका छन् ।
उनीहरुलाई किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मी र किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार मोहनसिंह थेवेले खदा र सम्मानपत्र प्रदान गरी सम्मान गरे ।
यस्तै चुम्लुङ इलाम नगर शाखाबाट सम्मानित हुनेमा इलाम नगरपालिका ११ का वडाअध्यक्ष टासी जवेगू, १२ का वडा अध्यक्ष लाखमान लिङदम, कार्यपालिका सदस्य धनमाया लिङदम र विवीमाया लिम्बू, वडा नम्बर ४ का वडा सदस्य विष्णु सुब्बा, वडा नम्बर ५ की महिला सदस्य वसन्ती लिम्बू, वडा नम्बर ६ की महिला सदस्य विनादेवी लिम्बू र वडा नम्बर १२ का वडा सदस्य टिकाबहादुर एक्तेन रहेका छन् ।
जनप्रतिनीधिलाई चुम्लुङ नगर अध्यक्ष राम लिङदम र संघीय सल्लाहकार थेवेले खदा र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए । यसै अवसरमा चुम्लुङले विभिन्न साँस्कृतिक अभियानमा सहयोग पुर्याएको भन्दै किरात याक्थुङ फक्ताङलुङ साप्थिम्गेन मान्जुम्भो इलाम नगरपालिका ११ सोयाकलाई समेत सम्मान गरेको छ ।
पाँच जनालाई छात्रवृत्ति वितरण
स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङ इलामले ५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट प्रदान गरिने १० हजार रुपैयाँको एसईई सर्वोत्कृष्ठ छात्रवृत्ति अन्तरगत छात्रतर्फ खान्द्रङ माध्यमिक विद्यालय दउमाईका दिपेन लिम्बू र छात्रातर्फ जनता मावि चुलाचुलीका मौलिका जवेगूले पाएका छन् । २०७८ को एसईईमा सहभागी देशभरका लिम्बू विद्यार्थीमध्ये सर्वोत्कृष्ठ छात्र र छात्रा दुवै छात्रवृत्ति इलामले पाएका छन् ।
किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट कक्षा ९ र १० मा अध्ययरनत विद्यार्थीलाई प्रदान गरिने ५ हजार रुपैयाँको गरिब तथा जेहेन्दार छात्रवृति खान्द्रङ मावि दउमाईकी दिपिका फागो (कक्षा १०) र महेन्द्रोदय मावि माङसेबुङका अप्पसन योङहाङ लिम्बू (कक्षा ९) ले पाएका छन् ।
किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषबाट नियमित रुपमा प्रदान गरिने १० हजार रुपैयाँको गरिब तथा जेहेन्दार छात्रवृति बालकन्या मावि इलामकी श्रेया येक्तेन लिम्बू (कक्षा ९) ले पाएकी छन् ।
कार्यक्रममा चुम्लुङका संघीय सल्लाहकार थेवे, चुम्लुङका संघीय सदस्य एवम् आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानकी कार्यकारिणी सदस्य निर्मला तावा लिम्बू, चुम्लुङ इलामका सल्लाहकार यामप्रसाद लिम्बू, इलाम नरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवे र माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङले मन्तव्य राखेका थिए ।
चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राम योङहाङ र स्वागत चुम्लुङ इलामका अध्यक्ष राम लिङदमले गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले आफ्नो समुदायको भाषा, लिपी, धर्म, संस्कार, संस्कृतिको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन, विस्तार र विकासमा सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाले पनि आफ्नो पालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुलाई सम्मान गरेको छ ।
शुक्रबार किरात याक्थुङ चुम्लुङको स्थापना दिवसका अवसरमा चुम्लुङ केन्द्रीय समिति, लिम्बुवान र नेवा तामसालिङ प्रदेश समितिसहित १३ वटा जिल्ला समिति र विभिन्न विदेश शाखाहरुले समेत विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् ।
लिम्बू समुदायको भाषा, लिपी, धर्म, संस्कार, संस्कृतिको खोज, अनुसन्धान, संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन, विस्तार र विकास गर्ने उदेश्यले २०४६ सालमा किरात याक्थुङ चुम्लुङको स्थापन भएको थियो ।
हाल केन्द्रीय समितिसहित दुईवटा प्रदेश समिति, १३ वटा जिल्ला समिति र विभिन्न विदेश समिति क्रियाशील छन् ।