थेबा र पेभाकुम नेम्बाङहरू

इतिहास


विरही काइँला  833 पटक हेरिएको


याक्थुम (लिम्बु) मुन्धुम भन्छ- संसार नसुहाएपछि सृष्टिकर्ता तागेरा नीङ्वाफु माङले पोरोक्मिबा यम्भामिबा सृष्टि गरि मानव बनाउनु लगाए । पोरोक्मिबा यम्भामिबाले अनेक जुक्तिसँग वहुमूल्य वस्तुको मानव बनाए तर प्राण हाल्न भने सकेनन् । त्यसपछि खरानी र सुली मुछेर बनाएको मानवमा पोरोक्मीबा यम्भामिबालाई थाहा नदिइ तागेरा नीङवाफु माङले सातु हुलिदिए । पोरोक्मिबा यम्भामिबाले यसलाई बोलाउँदा ह्ये..जबाफ दिने थेबा हुन भनी नेम्बाङहरू विश्वास गर्दछन । यिनै विश्वास भित्र मुजिङना खेयेङनाले हावाको सहयोगमा थेबाको वीर्य प्राप्त गर्न सकिन भइन र सुसुवेन लालावेन जन्माइन ।
(केसामी नु नामसामी लुङ हेलाङ)

भनिन्छ कि ‘केसामी नामसामी’ मुन्धुममा वणर्ित केसामी नु नामसामी लुङको खोपिल्टोमा मूत्रसँग जमिएको वीर्य थेबाको थियो । त्यस ठाउँमा तिनी शिकारीको रूपमा अवतरण भएका थिए । यसरी समय समयमा अवतरण हुने(केथान्छिङबा) थेबालाई आफ्नो प्रथम पुर्खा मान्ने नेम्बाङहरू मृत्यु संस्कार सम्पन्न गर्ने क्रममा केसामी नामसामी मुन्धुमी आख्यान अनुसार तुम्याहाङसँग ‘युम्सा’ माग्छन । ‘खाउमा’ गर्दा उनीहरू ‘घामको सन्तान रहेछ र घामले लग्यो है । जुनको सन्तान रहेछ र जुनले लग्यो है ।’ भन्दै फाराक्लो गर्छन । जसरी बिहान घाम उदाएर बिलुकी अस्ताउँछ । जुन उदाएर अस्ताउँछ । त्यसरी नै मानिसको आत्मा पनि अल्पिने हुनाले घरदेखि पश्चिमतिर ‘साम्दाखो’ निकालेर ‘ताकतेन’ -मा वंशहरूले मृतात्मालाई अन्तिम पटक खानपिन दिएर बाँच्नेहरू मर्नेसँग छुटिन्छन । अरू लिम्बुहरूले जस्तो साम्बाद्वारा मृतात्मालाई नाम मेन्दा इङलेप्पे, लाःमेन्दा इङलेप्पे पाङभे अर्थात घाम आइ नपुग्ने, जुन आइ नपुग्ने गाउँमा पुरयाइ पुर्खाको जिम्मा लगाउनु ‘साम्सामा’ गर्ने परम्परा नेम्बाङहरूमा पाइन्दैन ।
(हेलाङ यक)

वंशावली अनुसार हेलाङ यकमा सिदेइङहाङका १३औं पुस्ताका मुगुपाहाङको देहमा पनि थेबाले प्रवेश गरेका थिए । यसैकारण मुगुपाहाङलाई मुक्केगुबा भनिन्थ्यो । मुगुपाले छल कपटका कारण आफ्नो कपाल काटेपछि उनी शक्तिहीन बनेका थिए । त्यसपछि निभु खोलामा तिनको विभत्स हत्या गरियो । यसै घटनाको साछीको रुप साप्सु, चेप्लुङ, स्याङबा र निभुखालाको नाकरण रहन गएको छ ।
प्राप्त हस्तलिखित नेम्बाङ वंशावलीहरुमा मुगुपाहाङ पछिको वंशवृक्ष यसप्रकार पाइन्छ-
१४ खात्राहाङ
१५ साङधुङ
१६ कान्धुङ
१७ तोनो
१८ चोनो
१९ नाम्गे
२० वान्धे
२१ तुम्याङसे
२२ पाथोङ उर्फ पाङबो,पाप्सोङ ।

यस वंशका २२औं पुस्ताका पाथोङ उर्फ पाप्सोङ-को समय हेखाम्देन(फेदेन)-मा पापोहरूले विद्रोह गरे । यसलाई कतिपय इतिहासकारहरूले दस सरदारहरूको विद्रोह मानेका छन ।

हेखाम्देन भनेको रातो माटो भएको ठाउँ हो । हेखाम्देनको रातोमाटो शरीरमा टाँसिए यो हत्तपत्त जाँदैन यसको रङ्ग ।
उसबेला हेखाम्देनको पश्चिम तर्फबाट बग्ने तमर नदीलाई पूर्ब र पश्चिमका भूमिमा उम्रिएका गुलियो बेत,तीते बेतहरू झाँगिएर नदीलाई ढाकेको थियो । तमर नदी देखिन्दैन थिए । नदी वारिका बेतहरू नदी पारि अनि नदी पारिका बेतहरू नदी वारि सम्म निहुरिएर पुल जस्तो बनिएको बेतहरूबाट एउटा वीर सुँगुर कहिलेकाँहि तमर तरेर हेखाम्देनको रातो माटोबाट बग्ने सानो थाङसा खोलामा आहाल बस्न आइ पुग्थ्यो अनि जीउमा रातो माटो दलिएर खेक्लेसो गाउँ फर्कन्थ्यो ।

एकदिन तमर नदी पश्चिम खेक्लेसो गाउँका पाखुरे पापो पनि वीर सुँगुरको पछि लागेर हेखाम्देन आइपुगे । हेखाम्देनका मानिसहरुले पाखुरेलाई ‘योपातापा’ अर्थात वीर सुँगुरले ल्याएको भने । उनीले चापखुरेसँग मिलेर आफ्नै बोजुलाई तमर नदीमा बगाएपछि खेक्लेसो गाउँ त्यागेका रहेछन ।
योपातापा उर्फ पाखुरेका छोरा मुदाहाङ पापो र उनका भाईहरूले हेखाम्देनमा विद्रोह गरे । विद्रोह सामना गर्न नसकेपछि हेखाम्देन त्यागेर तुम्बाङदेन (तमाखे) तर्फ भागेका पाथोङलाई पिछा गर्दै आएका पापोहरुले बाटोमा फेला पारि हत्या गरे । पाथोङलाई हत्या गरिएको स्थान कतिले सल्लेरी हो भन्छन भने कतिले तुम्बाङदेनको दुङदुङगे डाँडामा त कतिले इथुङयकको साधुटार हो भन्दै आएका छन ।

हेखाम्देनको विद्रोहमा पापोहरूलाई मद्त गर्न तमोर पश्चिमबाट आएका माक्युहाङ (मुसाहाङ)-का छोरा तिरहाङ र फरहाङलाई पनि पापोहरूलाई भनिए जस्तै ‘योपातापा’ अर्थात सुँगुरको वीरले ल्याएको भन्ने गरिन्छ । यी दुईका सन्तानहरू पान्थरको हाङगुम, आरूबोटे, आङसराङ आदि गाउँहरूमा कुरूम्बाङ थरले प्रसिद्ध छन ।

पाथोङको हत्यापछि यिनका श्रीमती कुनाहाङ्मा एउटै छोरा लथिक्पा र सानो देवर चुक्मेपालाई साथमा लिएर माइती घर इलामको आङदाङ यकमा आएर बसिन । आङदाङ यकमा पनि शत्रुहरू पछिलाग्न थालेपछि चुक्मेपा र लथिक्पा त्यहाँका विभिन्न स्थानमा गएर बसे ।

(इथङयक)
आखिर देउमी (देउमाइ) खोलै खोला कुहिभिर भएर इथङयक आए । यहाँ पनि सुरक्षित नभएपछि यी दुईले पाथोङको हत्या भएको ठाउँ तुम्बाङदेन जाने सल्लाह गरे । त्यतातिर जान अघि शत्रुहरूले पिछा नगरून भनि यी दुईले तुम्बाङदेनको थाप्लोमा अवस्थित इथङ यकमा सोला-पासो थापे । यही बाटो भएर तुम्बाङदेन जानु पर्दथ्यो ।

चुक्मेपा र लथिक्पा कहिले तुम्बाङदेन र कहिले इथङयकमा बस्ने गर्थे ।

चुक्मेपा र लथिक्पा इथङ यकमा नभएको समयमा त्यहाँ थापिएका सोलाहरू उखालेर फ्याँकिएका अनि पासोहरू भत्काइ दिएका हुन्थे ।
एक पटक यी दुई भाइले एउटा सेतै केश फुलेको बुढो मान्छे पासोमा परेर लडिरहेको देखे । पासो भत्काउने मान्छे यिनै रहेछ भनेर समाउनलाई चुक्मेपा र लथिक्पा छेउमा पुग्दा पासो आफै चुडिए । त्यसपछि बुढो मान्छेले उठेर भन्यो – ‘ ए मेरा नातीहरू हो ! म तिमीहरूको थेबा(बाजे) हुँ ! मद्त गर्न आएको ।’

चुक्मेपा र लथिक्पालाई विश्वास भयो कि बुढो मान्छे यिनीहरूका पुर्खा नै हुन । हेखाम्देनमा पराजित भइ गाउँ छोडेर कतै गएर बसेका थिए । अब घर फर्कन लागेका रहेछन ।


(तुम्बाङ्देन आजको तमाखे)
तुम्बाङदेन जाने बाटो अप्ठ्यारो थियो । शारीरिक रूपले कमजोर बुढो थेबालाई लथिक्पाले आङ्मा बोकेर चुक्मेपाको पछि ओरालो लागे । घाम अस्ताउन लागेको थियो । घामको किरण भुइँमा रातो देखिन्थे । तुम्बाङदेन आइपुग्न लाग्दा लथिक्पा सारै थाके । केहीक्षण विश्राम गर्न भनेर थेबालाई बिसाएर पछि फर्केर हेर्दा त्यहाँ थेबा थिएन । बोलाए आवाज आएन । घामको रातो किरणले ढाकेको भुइँमा थेबा अल्पिए । थेबालाई नदेखेपछि चुक्मेपा र लथिक्पाले यता उता खोजे तर थेबालाई भेटेनन् । त्यस ठाउँलाई नामहेला अर्थात रातो घाम भएको भनियो ।

(थेबा अल्पिएको नामहेला,तमाखे)
चुक्मेपा र लथिक्पा तुम्बाङदेन पुगे । राति सपनामा इथङयकमा पासोमा परेको बुढो मान्छे आएर -‘म तिमीहरूको थेबा हुँ ! मेरो पूजा गर,तिमीहरूलाई मेरो शक्ति प्राप्त हुनेछ ।‘ भनेर अल्पिए । विहान चुक्मेपा र लथिक्पाले एकअर्कालाई सपना बताए । दुवै जनाले एउटै सपना देखेका रहेछन । आफ्ना वंशका पिचवा र लोरिङदेन (लोवा) लाई पनि उनी दुई माथि घटेको घटना र सपना सुनाए । त्यसपछि उनीहरु भेला भएर हिजो वेलुकि जतिबेला थेबा अल्पिएका थिए त्यही समयमा घरको बाहिरपट्टी दैलोमा थेबालाई स्वागत (लाम्दाक) गरे । शत्रुहरूले चाल नपाउन भनी ढोका बन्द गरेर घरभित्र साङ्बे गाडेर धनु काँड ,भाला वर्षा, ढाल तरवार भिरेर युध्दको लागि तयार रहेर थेबाको पूजा -अर्चना गरे । करवाँ पितको भोग दिए । करवाँ पितको छालाले हङगेसिङ(खमारी) को काठलाई मोरेर के (च्याब्रुङ) बनाइ ति या हा भन्दै नाचे । आज पनि च्याब्रुङ बनाउदा पित (गाई)-को छाला प्रयोग गरिन्छ ।

चुक्मेपा र लथिक्पाको देहमा थेबा साम (बाजेको आत्मा)-ले प्रवेश गरयो । दुई भाईलाई शक्ति प्राप्त भयो । यिनी दुईले शक्ति परिक्षण गर्दा केराको पातले काटेका ढुङ्गाका गीडहरू तुम्बाङदेनमा अझै देख्न पाइन्छ ।


(चुक्मेपा र लथिक्पाले काटेका ढुङ्गाका गीडहरू)
थेबा अल्पिएको ठाउँ नामहेला देखि अलिक तलतिर तुम्बाङदेनमा चुक्मेपा र लथिक्पाले नेम्बाङहरू आफ्ना पूर्वज थेबाको पूजा गरेर शक्ति प्राप्त गरेका ठाउँलाई माङगेना लुङधुङ मान्दछन र यसलाई पनि उनीहरूले संरक्षण गरेर राखेका छन ।

(नेम्बाहरूको माङगेना लुङधुङ)
चुक्मेपा र लथिक्पा उफ्रेर कुल्चेका ठाउँमा कुर्कुचा गाडिन्दा उत्पन्न भएको पानीको उद्गम स्थल आप्तँवा-तिदँवा इथोङयकमा पर्दछ । इथोङयक साधुटारको थेबा पोखरी पर्यटकहरूका लागि आकर्षक थलो बनेको छ ।
(साधुटारको थेबा पोखरी,इथङ यक)
चुक्मेपा र लथिक्पा हिडेको अरूले उडेको देख्थे र यी दुईलाई पेभाकुम नेम्बाहाङ (उड्ने नेम्बाङ राजा) भन्दथे । यिनै पेभाकुम नेम्बाहाङ नामले चुक्मेपा र लथिक्पा प्रख्यात भए ।
(नाम्फु यक)
पेभाकुम नेम्बाहाङ चुक्मेपा र लथिक्पाले इथोङयक पछि नामपुन यक निर्माण गरे । नामपुन यक अप्रभंश भइ नाम्फु यक भएको छ । नाम्फु यकवासीहरू नाम्फाङबाट नेम्बाहाङ हुदै आजका नेम्बाङहरू हुन् ।

हेखाम्देनबाट लोरिङदेन चारखोलाको केवाबुङमा गएर बसे । त्यहाँबाट पनि जेठो दाजु लाहाङगे पाँचथरमा गएर बसेको जगह लोवाफु हो । लोवाफुबाट लोरिङदेन लोवा भएर लुवाफु, याङनाम हुदै भारपा सम्म फैलिएका छन । कान्छा भाई पेतिहाङ केवाबुङमा नै बसे । पेतिहाङका वंशहरूलाई लोरिङदेन भनिन्छ । पिचक्वा चाहिँ आफ्नो पुरानो घर हेखाम्देनमा नै बसे ।

पेभाकुम नेम्बाहाङ चुक्मेपा र लथिक्पा माफाराको डाँडै डाँडा उत्तरतर्फ जादा पुधामलुङ-वधिनलुङमा थार, घोरल, कालिज आदिको शिकार गर्थे ।
इवानागी-तावानागीमा कस्तुरी र फक्ताङलुङ,केवालुङ,छेन्छेलुङमा पुगेर डाफे-मुनाल पक्रन्थे ।

सन १६०४ मा जन्मेका फुन्छो नामग्याललाई सुखिमका भोटे-लेप्चा र चोङ(लिम्बु) मिलेर नयाँ राजा बनाए । तर कतिपय चोङ र लेप्चाहरू भने फुन्छो नामग्याललाई राजा मान्न तयार भएनन् । तिनीहरूलाई भोटेहरूले पाताङले काटे । काँडले तारो हानेर मारे ।

यसरी चोङ र लेप्चाहरू काटिएको जगहमध्ये ग्येजिङ बजार नजिकको छोर्तेनहरू खडा गरिएको ठाउँ एक हो । भोटेहरुको डरले इलाम पसेका चोङ र लेप्चाहरूको पिछा गर्दै सुखिमे भोटे सेनाहरू इलाम आएर त्यहाँका मानिसहरूलाई पनि दुःख दिन थाले । भोटेसेनापति ल्वाछेन अत्यचारी थिए ।
आफूहरूलाई सेन वंश कहलाउने इलामको योङहाङहरू पेभाकुम नेम्बाहाङको प्रसिद्तासित परिचित थिए । तिनीहरू नेम्बाहाङसँग सहयोग माग्न नाम्फु यक आए र नेम्बाहाङ, चुक्मेपा र लथिक्पालाई इलामको फाक्फोक भन्ने ठाउँमा लिएर गए । भोटे सेनापति ल्वाछेन र तिनका सेनाहरू देउमी खोलाको किनारमा बसेका थिए । पेभाकुम नेम्बाहाङ चुक्मेपा र लथिक्पा त्यही पुगेर ल्वाछेनलाई फर्केर जाउ भनी सम्झाए । नेम्बाहाङको कुरा सुनेर भोटे सेनापति ल्वाछेन साह्रै रिसाए ।

‘मलाई फर्केर जाउ भन्ने तिमी दुई को हौ ?’ भन्दै आफ्ना सेनाहरूलाई यिनीहरूलाई मार भनी आदेश दिए । हातमा पाताङ बोकेका भोटे सेनाहरू चुक्मेपा र लथिक्पामाथि खनिए । दुईभाईले भोटे सेनाको टाउको तरवारले भुइँमा झार्न थालेपछि भोटे सेनाहरू ज्यान जोगाइ भाग्न थाले ।

(देउमी खोला)

देहमा थेबाको प्रविष्टले शक्तिशाली चुक्मेपा र लथिक्पाको सामु भोटे सेनाहरू टिक्न नसकेपछि भाग्दै गरेका ल्वाछेन मागाइ(बलढेङ्ग्रा)-को लहरामा अल्झिन्दा चुक्मेपाले ल्वाछेनको टाउको छिनाए र तरवारलाई फित्कौली बनाइ फुँयेतप्पा भन्ने ठाउँमा फ्याँकि दिए । लथिक्पाले ल्वाछेनको शरीरलाई घोडा चडेर देउमी खोलाको बगरमा वरपर कुदाए । त्यस ठाउँलाई अनलोङ अर्थात घोडा कुदाएको भनिन्छ । गाउँवासीहरूले चुकमेप्पा र लथिक्पाको स्मरणार्थ फाक्फोक र देउमीखोलाको दोभाननिर एक जोर आँपको बोट रोपेर राखे ।

इलामको योङहाङहरूलाई नेम्बाहाङले सहायता गरेको कुरा पुरानो योङहाङ वंशावलीमा उल्लेख पाइन्छ । देवनागरी लिपिमा हातले सुन्दर अक्षरमा लेखिएको यो वंशावली फाकफोकको योङहाङहरूसँग सुरक्षित छ । लिम्बु इतिहास अनुवाद गर्ने लेफ. कर्नेल इ. भ्यान्सीटार्टले आफ्नो प्रसिद्ध पुस्तक ’गुर्खा’(१९१५)-को पृष्ठ १०८ मा थेबा लिम्बुहरूका शक्तिशाली राजा थिए भनी लेखेका छन् ।

तीन राते थेबा थेप्मा गर्दा गाइने मुन्धुम अनुसार शिरमा ओखलको टोपी, हातमा मुसल बोकेका चुक्मेपा र लथिक्पा पुवाखोलाको बेँसीमा एक थुम्को देखि अर्को थुम्कोमा उफ्रे । भोटे सेनालाई लखेट्दै यी दुई रंगित खोला पश्चिम पुगे । खोलाको पूर्वतर्फबाट भोटे सेनाहरूले हानेको काँडहरूको चाङ लाग्यो । त्यहाँ घमासान लडाइँ चल्यो । भोटे सेनाहरूलाई यी दुईले मुसल प्रहार गरेर मारे । त्यस जगहको नाम ‘चोङथङ’ अर्थात लिम्बु लडाइँ (Chongtong tea Gaeden,Darjeeling)  रहनगयो ।


(सन् १८८२-८३ तिर अङ्ग्रेजले रोपेका चिया, चोङथङ, दार्जीलिङ)

चोङथङ (लिम्बु लडाइँ) पछि भोटे,लेप्चा र लिम्बु बीच सम्झौता भयो । यसलाई ‘ल्हो-मेन-चोङ सुम’ सन्धि भनिन्छ । भोटे-लेप्चा र चोङ मिलेर सुखिममा शासन गर्ने कबुल गरिएको यस सन्धि-पत्रमा नेम्बाङलाई चोङ सुभा नाम्फाङ भनी सम्बोधन गरिएको छ ।

पेभाकुम नेम्बाहाङको शक्तिबाट प्रभावित भइ सुखिमपति राजाले राजकुमारी पेमाला नेम्बाहाङलाई दिए । अर्को कथन पनि छ, जस अनुसार कन्चनजङ्घा हिमालयको फेदिमा बस्ने सेतो हिम भालु गाउँ पसेर मान्छे खानु थालेपछि सुखिममा आतङक फैलियो । राजाका सिपाहीहरूले सेतो भालु मार्न सकेनन् ।

त्यसपछि सुखिमपति राजाको अनुरोधमा नेम्बाहाङ चुक्मेपा र लथिक्पा भाला,वर्सा बोकेर सेतो भालुको खोजीमा हिडे । यिनी दुईले मानिसहरूलाई भनेका थिए -“ तिमीहरूले डाँडामा बसेर हेर्नु, धुँवा आएको देख्यौ भने भालु मरेछ ठान्नु । सात दिन सम्ममा पनि जङ्गलबाट धुँवा आएको देखेनौ भने हामी दुईभाईलाई सेतो भालुले खाएछ भनेर जान्नु ।”

चिवा भन्ज्याङ उत्तरेदेखि फालेलुङ सम्मका जङ्गलमा धुँवा आएको हेर्न मानिसहरू गाउँको डाँडामा जम्मा भएर बसे । छैटौं दिन सम्म जङ्गलमा धुँवा देखिएन । मानिसहरू निराश हुन थाले । सातौं दिनको विहान लोधोमा खोलाको ओढारबाट आगो बालेको धुँवा आएको देखेर गाउँलेहरू हर्षले नाच्दै गाउँदै लोधोमा खोलाको ओढारमा पुगे । नेम्बाहाङ चुक्मेपा र लथिक्पाले ओढारमा सुति रहेका दुई वटा सेतो भालुलाई भालाले घोचेर मारेका थिए ।
आफ्ना प्रजाहरूलाई सेतो भालुदेखि बचाइ दिएकोमा सुखिमपति राजाले राजकुमारी पेमाला नेम्बाहाङलाई दिए । चुक्मेपाले जीवनभर विहे गरेनन् । लथिक्पाले राजकुमारी पेमालालाई विहे गरेर नाम्फु यक लिएर आए । सुखिमपति राजाले छोरी पेमालालाई धनसम्पत्ति दिएका थिए ।

(आजको याङनाम)
पेमालाले रूपियाको भारी बोकाएर लावा लस्करका साथ सुखिमबाट नाम्फु यक आउदा बाटोमा रूपियाको भारी बिसाएको ठाउँको नाम ‘याङनाम्मा’ अपभ्रंश भएर याङनाम भएको छ । राणाकाल सम्म याङनाम्माको बाटो भएर सुखिमतिर जाने मुख्य नाका रहेको थियो ।
पेमलाको अथाह सम्पतिको कारण उनीपट्टीको छोरा मिखेक्पाका खलकलाई याङ +केदेम्बा = याङदेम्बा (रूपैया – पैसा समाउने वा रूपैया-पैसाको धनी ) भनिएको हो । अहिले पनि थेबासाम थेप्मा गर्दा गहना रूपिया राखिएको थुन्से बिसाएको ठाउँदेखि बोकेर सह उठाउने कार्य गर्दा फेदाङबाले “ ह्ये…याङनाम्मा याङसा कुन्धे ।। ह्ये… पखुम्लो मेन्वेत्ते, वेत्ते ।।”… भन्दै मुन्धुम गाउने गर्छन ।
नेम्बाहाङ लथिक्पाका पहिलो श्रीमतीसँग पेमालाको मेल नभएपछि आङदाङको बाटो भएर सुखिमतर्फ हिडेकी थिइन। पेमालालाई नेम्बाहाङ लथिक्पाले सिदि खोला माथिको डाँडोबाट फर्काएर ल्याए । पेमला बसेको ठाउँ अझसम्म देख्न सकिन्छ । त्यस डाँडोलाई आज अन्तु भनिन्छ । त्यसपछि नेम्बाहाङ लथिक्पा नाम्फुकको फेदमा आएर बसे । नेम्बाहाङलाई ठूलो राजा यम्बाहाङ पनि भनिन्थ्यो र यिनी बसेको ठाउँ हाङयक(राजाको गढी) नामले प्रसिद्ध छ ।

(ल्हो-मेन-चोङ सुम सन्धि)
ल्हो-मेन-चोङ सुम सन्धिपछि सुखिमका भोटे सेनाहरू इलाम प्रवेश गरेनन् । तर तिनीहरू तमर खोला तरेर अरूण खोला सम्म पुगेका थिए । सुखिमको यो सिमाना बि.स.१८३० सम्म कायम रह्यो । सुखिमपति राजाको अस्थायी दरवार सेखाथुम भन्ने ठाउँमा थियो । यसरी नै सुखिमको साङ्गाचोलिङ गुम्बाका ठासाङ लामाहरूले लिङखिममा एउटा गुम्बा पनि निर्माण गरेका थिए । भनिन्छ यही गुम्बामा सिरिजङ्गा सिंगथेबेले बौध दर्शनका ग्यान लिए । यिनी आफूलाई “औतारी सिरिजङ्गा” भन्थे । सिरिजङगाले लामाहरुलाई आफनो गुरु माने तापनि याक्थुम्बाहरूलाई बौध ग्यान दिएनन् याक्थुम्बाको आफ्नै भषा लिपिको प्रचार गरे । लामाहरुलाई यो सह्य भएन । सिरिजङगाले उनीहरुलाई धोकादिएको ठाने । त्यसपछि लामाहरुले सिरिजङगा वध गरी रेशि र कलेज खोलाको दोभानमा डुबाइ दिए ।

औतारी सिरिजङ्गालाई याङरूपे दोर्जे लामा पनि भनियो । त्जभ नबशभततभभच या क्ष्पजष्m (ज्ञडढद्ध)अनुसार त्यसबेला याङरक भन्दा तमोर क्षेत्र अनि फेदाप भन्दा मेवा र मैवा खोला क्षेत्र बुझिन्थ्यो ।

पेभाकुम नेम्बाहाङ चुक्मेपा र लथिक्पाको देहमा प्रवेश गरेका थेबाको आत्मालाई ‘थक्लिगेनसाम’ अर्थात देहमा प्रवेश गर्ने आत्मा पनि भनिन्छ । थेबालाई एक थोकको लागि मात्र पूजा गरिन्दैन । प्राकृति प्रकोपबाट रक्षा देखि सन्तान प्राप्तिको लागि, सुखसमृद्धिको लागि र सङ्ग्राममा विजय प्राप्ति आदिको लागि पूजा-अर्चना गरिन्छ ।

थेबाको पूजा अर्थात थेबा थेप्मा गर्ने फेदाङबाले शिरमा यासापिपो (थारको जुरो)-को टोपी अनि घुडा सम्म ढाकिने तेगा (लुगा) लगाएको हुन्छ । फेदाङबाले कहिले धनुकाँड लिएर, कहिले तरवार भिरेर एक हातले भाला र अर्को हातले ढाल समाएर युद्धको अभिनय गर्दै ‘ ह्ये…’ भनेर लामो लेग्रो तानेर मुन्धुम गाउँने गर्छन् । प्रथम मानवको रूपमा थेबाले ह्ये.. भनेर आवाज निकालेका थिए । आज पनि थेबालाई सम्बोधन गर्दा ह्ये.. भनेर नै गरिन्छ । तीन राते थेबा थेप्मा गर्दा पहिलो दिनको साँझ थेबा अल्पिएको समयमा लाम्दाक (स्वागत) गरिन्छ भने तेस्रोदिन नारासेमा गर्दा ‘तियाहा’ भन्दै च्याब्रुङ नाचिन्छ ।@अमेरिका ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार