फुङ्लिङः मुक्कुमलुङ पक्षधर आन्दोलनकर्मी बीच सहमती भएपछि जारी ताप्लेजङ बन्दको कार्यक्रम स्थगन भएको छ ।
पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा मन्दिर संरक्षण, सम्बर्धन समिति र आन्दोलनकर्मी बीच ४ बुदे सहमति भएपछि आन्दोलन स्थगन भएको हो ।
पाथीभरा शब्दलाई नै प्रतिवन्ध लगाई ताप्लेजुङ महोत्सव सञ्चालन गर्ने आयोजकसँग सहमति भएपछि जारी आन्दोलन फिर्ता भएको बताइएको छ ।
१.महोत्सवको नाम पाथीभरा म्याराथुन तथा पर्यटक महोत्सवको सट्टामा ताप्लेजुङ भ्याराथुन तथा पर्यटक महोत्सव राख्ने । २.महोत्वसको सन्दर्भमा बनाइएका र उल्लेख गरिएको ब्यानर, गेट, शिल्ड, प्रमाण पत्र, आदिको भिडियो, जिङ्गल्स्, छाप र दस्तावेज लगायतका सबैमा सामग्रीहरुमा आयोजकले पाथीभरा हटाएर ताप्लेजुङ म्याराथुन तथा पर्यटक महोत्सव राख्ने परिवर्तन गर्ने । ३.आन्दोलन पक्ष किरात याक्थुङ चुम्लुङ, लिम्बु थरगत (याक्थुङ सयङ) सहजीकरण, मुक्कुमलुङ संयुक्त संघर्ष समिति सहित लिम्बु याक्थुङ जन्य अन्य संघ संस्थाहरुले २०७९ असोज ९ । १३ सम्मको बन्द स्थगन गर्ने । ४. यो सहमति संयुक्त कार्यान्वयन अनुगमन समिति बनाउने, सहमतिहरु दुवै पक्षले पालना गर्ने । पछि सहमति उलंघन भए आन्दोलन गर्ने हक हुने आयोजक तर्फ बाट तारानाथ घिमिरे (पाथीभरा देवी, रकि थेबे (पा. क्षे. वि. स. ता. अध्यक्ष) र थापा (उ. वा. सं., अध्यक्ष) र आन्दोलन तर्फ बाट इन्दिरा मेन्याङबो (कि.या.चु. जि.शा.ता., अध्यक्ष), बिबिहाङ वनेम ( सचिव) र दिपक ताप्मादेन (मु.सं.सं. समिति, अध्यक्ष)ले हस्ताक्षर गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ ‘विगत २ वर्ष देखि मुक्कुमलुङ पुनः स्थापीत गर्ने आन्दोलन गर्दै रहेको सबैमा अवगत छ । यस विषयमा सर्वोच्चमा समेत मुद्दा चिवाराधिन अवस्थामा रहेकोले हाल पाथीभरा म्याराथुन तथा पर्यटक महोत्सव २०७९ असोज ११ देअि १३ सम्म आयोजना गरिएको सन्दर्भमा आदीवासी याक्थुङ लिम्बुहरुको धार्मिक, सांस्कृतिक आस्थाको धरोहर मुक्कुमलुङ पुनः स्थापीत गर्ने घोषित आन्दोलन लाई स्थगन गरी ताप्लेजुङ म्याराथुन तथा पर्यटक महोत्सव २०७९ असोज ११ देखि १३ सभ्य र भव्य रुपमा सम्पन्न गर्न हामी दुवै पक्ष बिच निम्न सहमित भएको छ ।
सहमतिको अनुुगमन महोत्सव आयोजकका तर्फबाट रक्की थेबे, सुरेश लिम्बु र दावा शेर्पा आन्दोनरत पक्षबाट प्रदिप मादेन, नविन फुरुम्बो र सरोज कङलीबा गर्ने जनाइएको छ ।
पाथीभरा क्षेत्र विकास समिति र पाथिभरा मन्दिर संरक्षण, सम्बर्धन समितिको आयोजनामा पाथीभरा म्याराथन तथ पर्यटन महोत्सव-२०७९ आयोजना गर्ने भएपछि किरात याक्थुङ चुम्लुङ र मुक्कुमलुङ संयुक्त संघर्ष समितिले महोत्सव अवधिभर २०७९ असोज ९-१३ गतेसम्म ताप्लेजुङ बन्द घोषणा गरेको थियो ।