इलाम: मंसिर ४ मा हुँने प्रतिनीधि सभा सदस्य निवार्चनमा इलामको प्रतिनीधि सभा तर्फ पुरानै उम्मेद्वार दोहोरिएका छन् ।
प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा
जिल्लाको क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल लगातार सातौं पटक उम्मेद्वारी दिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ लगातार छैटौं पटक उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को समर्थनमा एकीकृत समाजवादीका खनालले वारेसनामा मार्फत मनोनयन दर्ता गराएका छन् ।
एमालेका नेम्बाङले भने र्याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएको जनाइएको छ ।
छैटौं पटक लगातार एमालेबाट उम्मेद्वार बन्दै आएका खनालले सातौ पटकमा नेकपा एकिकृत समाजवादी पार्टीबाट उम्मेद्वार बनेका छन् । उनले छवटा चुनावमध्ये पाँच जित र एक पटक पराजित बनेका छन् ।
खनालले २०४८, ०५१ र ०७४ को प्रतिनिधिसभा निर्वाचन एवम् ०६४ र ०७० को संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट इलाम १ बाट निर्वाचित भई संसदमा प्रतिनिधित्व गरिसेकेका छन् ।
उनि ०४८ र ०५१ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तोयानाथ भट्टराईलाई पराजित भएका थिए । ०५१ मा खनालले भट्टराईलाई २ सय १० को झिनो मतले मात्र पराजित गरेका हुन ।
०५६ को संसदीय निर्वाचनमा भने खनाल सोही क्षेत्रबाट नेपाली कांग्रेसका वेनुपराज भट्टराईसँग पराजित भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा भने खनालले कांग्रेसका वेनुपराज प्रसाईलाई अघिल्लो हारको बदला लिदैं विजय हासिल गरे । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै हिमालय कर्माचार्यलाई पराजित गर्दै संसदमा चौथो पटक विजयी बनेका थिए ।
त्यस्तै ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १ सय ७० मतान्तरले पराजित गर्दै खनाल पाँचौं पटक निर्वाचित भएका थिए । माओवादी केन्द्रको समर्थनमा बाम गठबन्धनका साझा उम्मेद्वार खनालले ३६ हजार ८ सय ७ मत पाउँदा कांग्रेसका कट्टेले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका थिए ।
यसपटक सत्ता गठबन्धन दलको साझा उम्मेद्वार भएकाले खनालको जित सहज हुनसक्ने धेरैकोे अनुमान छ ।
खनाललाई चुनौती दिन सो क्षेत्रमा कुनैबेला खनालकै कार्यकर्ता महेश बस्नेतले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । एमाले इलामका अध्यक्ष समेत रहेका बस्नेत इलाम नगरका निवर्तमान नगरप्रमुख समेत हुन् ।
प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा
प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेम्बाङको संसदीय चुनावी यात्रा लगातार पाँचौं पटक हो । ०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेद्वार बन्दै आएका नेम्बाङले सबै निर्वाचन जित्दै आएका छन् ।
०५६ को संसदीय निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा प्रवेश गरेका नेम्बाङले नेपाली कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए ।
मुलुकको राजनीतिक परिवर्तनपछि भएको ०६४ मा भएको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै भेषराज आचार्यलाई पराजित गर्दै निर्वाचित संसदको यात्रा तय गरेका हुन ।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै थापालाई दोश्रो पटक ९ हजार ६ सय ५४ मतान्तरले पराजित गर्दै पराजित गर्दै संसदमा चौथो पटक निर्वाचित भए ।
माओवादी केन्द्रको समर्थनमा बाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेम्बाङले ३६ हजार ५ सय १४ मत प्राप्त गरेका थिए । निकटतम् प्रतिष्पर्धी कांग्रेसका पूर्व सांसद केशव थापाले २६ हजार ८ सय ६० मत मात्र प्राप्त गरेका थिए ।
यस पटकको निर्वाचनमा नेम्बाङलाई सत्ता गठबन्धन मुख्य चुनौती बन्ने छ । सो क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्का चुनावी मैदानमा छन् ।
प्रदेशसभा सदस्यका इलाम क्षेत्र नम्बर १ (१) मा
प्रदेशसभा सदस्यका निर्वाचन क्षेत्र नम्बर १ (१) मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकै नेतृ खिनु लङवा लिम्बू र एमालेकी सोभा पराजुलीबीच प्रतिष्पर्धा हुन भएको छ ।
लिम्बू प्रदेश १ की संस्कृति तथा पर्यटन मन्त्री हुन् भने पराजुली सन्दकपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् । बाम गठबन्धनकी उम्मेद्वार लिम्बूले अघिल्लो निर्वाचनमा कांग्रेसका देवेन्द्रकुमार राईलाई पराजित गरेका थिए ।
क्षेत्र नम्बर १ (२) मा गठबन्धनका तर्फबाट कांग्रेसका समशेर राई र एमालेका दीपककुमार थेवे बीच प्रतिष्पर्धा हुने भएको छ । राई रोङ गाउँपालिकाका निर्वातमान अध्यक्ष हुन् भने थेवे माई नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् ।
प्रदेशसभा सदस्यका इलाम क्षेत्र नम्बर २ (१) मा
प्रदेशसभा सदस्यका इलाम क्षेत्र नम्बर २ (१) मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरी र एमालेका गणेशप्रसाद बरालबीच प्रतिष्पर्धा हुने भएको छ ।
गिरी पहिलोपटक संसदीय राजनीतिमा आएका छन् भने बराल जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख हुन् ।
प्रदेशसभा सदस्यका इलाम क्षेत्र नम्बर २ (२) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्क लावती (कान्छा) र एमालेका रामबहादुर मगर रानाबीच प्रतिष्पर्धा हुने भएको छ ।
लावती ०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन सभामुख एमाले नेता सुवासचन्द्र नेम्बाङसँग क्षेत्र नम्बर २ मा प्रतिष्पर्धा गरी पराजित भएका थिए । राना भने प्रदेश १ का पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन् । राना अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर २ (१) बाट कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए ।