सिख र नेपालको सम्बन्ध


सुनिल उलाक  59 पटक हेरिएको

बि.सं. १५७३ मा सिख धर्मका प्रमुख गुरू नानकको नेपाल आगमन भएको थियो । तत्कालीन समयमा उदासी सम्प्रदायको अनुयायीका रुपमा अन्य उदासीहरुका साथ नेपाल प्रवेश गर्नुभएका गुरु नानक बालाजु नजिकै एक वर्ष भन्दा बढी बिताएका थिए, सो स्थानलाई हाल नानक मठ भनिन्छ । सिख गुरूले ध्यान गरेको पिपलको चौतारा सिख धर्मावलम्बीहरुका लागि महत्वपूणर् तिर्थस्थल पनि हो ।

बालाजुमा एक वर्ष बिताए पछि फर्कनु भएका गुरु नानक जनकपुर पुगे, त्यहाँबाट कोशी । कोशीबाट त्याङबोचे पुगेको प्रमाण गुरु नानक सम्बन्धि अध्ययन गरेका डा. दलविन्दर सिंहको सोधमा भेटिन्छ । त्याङबोचे गुम्बामा केही समय बिताएका वहाँलाई स्थानियले गुरु रिम्पोछेका रुपमा सम्मान गरेका थिए ।

बि. सं. १८६३ मा कांगडाका शासक संसार चन्दलाई हराई गोरखालीले विजय गरेको नजिकबाट नियालेका शेर-ए-पञ्जाव रणजीत सिंहले गोर्खालीलाई आफ्नो सेनामा भर्ति हुन लालच देखाए । नेपालका महान योद्धा बलभद्र कुँवर नालापानीको पराजय पछि देश फर्केर केही नेपालीको जमातको साथ यिनै पंजाव केसरी रणजित सिंहको सेनामा गोर्खा सैनिक कम्पनीका गठन गरि सोहि कम्पनीको नायक भएका थिए । उनको यो सैनिक अड्डा लाहोरमा थियो । त्यसबेला पश्चिम नेपालमा लाहोर जाने चलन नै शुरू भएको थियो । यसपछि बिदेशमा जाने हरेक नेपालीले लाहुर जाने भन्न थाले । साथै त्यसरी जानेहरूलाई लाहुरे भन्न थाले ।
तर अफसोस पंजावी सेनाको तर्फवाट लड्ने समयमा पेशावरमा बि.सं. १८७९ चैत्र २ गते बलभद्र कुवरको मृत्यु भयो । एक बहादुर गोर्खाली योद्धाको बिदेशी भूमीमा बिदेशी सैनिकका रुपमा बिदेशीका हातबाट मारिए । यसरी लाहुरे परम्पराको बिजारोपण भयो । वीर नेपालीहरु बिदेशी भूमीमा बिदेशी सैनिकका रुपमा लड्ने परम्पराको थालनी भयो ।

यसरी सिख शासक तथा सिख जनताहरुका नजिक भएका नेपालीहरुमा अझ नजिकिने अर्को मौका मिल्यो । बलभद्रलाई एक वीर योद्धाका रुपमा लाहोरमा स्वागत गरेका शेर-ए-पंजाव रणजितसिंहका रानी जिन्दा कौरलाई नेपालमा स्वागत गर्ने अवसर तिनै बलभद्र कुँवरका भतिजा जङ्गबहादुरले पाएका थिए । यसरी आफ्ना काका बलभद्र कुँवरका अन्नदाता रणजितसिंहको रानी जिन्द कौरलाई शरण दिएर काकाको ऋण चुक्ता गरे ।

भीमसेन थापाको समयमा पंजाव केशरी रणजित सिंहलाई मिलेर अंग्रेज बिरुद्ध युद्ध गर्ने उद्धेश्यले अनुरोध गरे पनि सहयोग नगर्दा नेपालले निकै ठूलो पराजय झेल्नु परेको थियो । भीमसेन थापाले बाध्य भएर अंग्रेजसंग सुगौली सन्धि गरि नेपालको ठूलो भूभाग गुमाउनु परेको थियो । तिनै रणजित सिंहले गोर्खाली योद्धा बलभद्र कुँवरलाई फकाएर आफ्नो सेनामा राख्न सफल भएका थिए । समयकाल परिवर्तन हुँदा शक्तिशाली शेर-ए-पञ्जावका रुपमा चर्चा कमाएका रणजीत सिंहका कान्छी रानी जिन्द कौर भागेर जोगिनीको भेषमा भिक्षाखोरी (अमलेखगञ्ज) आइपुगेपछि शरणको मरण गर्नुहुदैन भनेर जंगबहादुरले बैशाख २१, १९०६ मा काठमाडौ ल्याई थापाथली दरवार भित्र नै शरण दिएर राखेका थिए । मासिक २५०० रूपैया समेतको ब्यबस्था गरिदिएका जंगबहादुरले पछि रानी जिन्द कौरका लागि घर नै बनाइदिए । घरको माथी चारवटा बुर्जा राखिएकोले यस घरलाई चारबुर्जा महल पनि भन्न थालेको थियो ।

बि.सं १९१२ मा नेपाल छोडेर बेलायत फर्कने बेला सो महल रानी जिन्द कौरले एक ब्राम्हणलाई दान दिएर गए । ब्राम्हणलाई दान दिएको खोस्नु हुदैन भनेर ब्राम्हणबाट जंगबहादुरले किनेर फिर्ता लिए ।

जङ्गबहादुरले बहिनीको रूपमा सम्मानित रुपमा राखेको हुँदा सिखहरुले काठमाडौलाई मामाघर र नेपालीहरुलाई मामाको रुपमा सम्मान गर्दथे । सिखहरूले नेपाल र नेपालीलाई माया गर्नुको कारण यहि नै थियो । योगिनीको रूपमा भिच्छाखोरी (अमलेखगञ्ज) हुदै नेपाल पस्दा उनको साथमा धेरै सिखहरू पनि आएका थिए । जो नेपालमा नै बस्न थाले ।

यसरी पञ्जावका सिख र नेपालको सम्बन्ध दरिलो हुँदै गयो । पञ्जावबाट नेपाल आउने सिखहरुको संख्या बढ्दै गयो । यसरी नेपाल आउने अनगिनत सरदार (पञ्जावी)हरुमा २०१४ सालमा २२ वर्षे केटो प्रितमसिंहको पनि आगमन भयो । उनको आगमनले नेपालको ढुवानी तथा यातायात क्षेत्रमा ठूलो परिवर्तन आयो ।

काठमाडौ असनका दाजुभाइ करुणारत्न तुलाधर तथा लुपौरत्न तुलाधरले २०१६ सालमै नेपाल ट्रान्सपोर्ट सर्भिस नामको कम्पनी खोलेर सार्वजनिक यातायातको शुभारम्भ गरेका थिए । यि दाजुभाइले खोलेको नेपाल ट्रान्सपोर्ट सर्विसले २०१६ सालमा “विलिजको स्टेशन वागन“मा रानीपोखरीबाट पाटनढोका सम्म यातायात सेवा दिएर पहिलो सार्वजनिक यातायातको शुभारम्भ गरेका थिए ।

बि.सं. २०१४ सालमा जम्मुबाट २२ बर्षे केटो सरदार प्रितमसिंह उनका बुबाको साथ काठमाडौमा बिहेको निम्तो मान्न आइपुगेका थिए । जम्मुमा ट्रान्सपोर्टकै ब्यबसायमा जमेका यिनको परिवार थियो । यसैले काठमाडौमा केही दिनको बसाइमा उनलाई यातायातको लागी केही गर्न राजा महेन्द्रबाट अनुरोध भयो । भर्खर मात्र त्रिभुवन राजपथ बन्दै गरेको हुँदा केही सम्भावना देखेपछि २०१५ सालमा तीनवटा ट्रकको साथ ट्रक ड्राइभर र खलासी गरि ६ सिखलाई लिएर बाबुछोरा फेरी नेपाल नै फर्किए । यसपटक भने व्यापार ब्यबसाय गर्ने ध्येयले यतै बस्ने गरि आएका थिए ।

नेपाल सरकारले चिनी, नुन लगायत वस्तु बिस्तारै भारतबाट आयात गर्न थालेको हुँदा उनको ब्यबसाय बढ्न थाल्यो । जसले गर्दा “नेपाल पब्लिक मोटर सर्विस“को जन्म भयो । केही साथीहरुसंग मिलेर शुरु गरेको “नेपाल पब्लिक मोटर सर्विस“ बिस्तारै सिखहरुको पहिचान बन्न थाल्यो । बिस्तारै प्रगती हुदै गयो एक समय राजमार्गमा ल्एःक् लेखिएका ट्रकहरु र त्यसमा सरदार (सिख)हरुले चलाएको मात्र देखिन्थे ।

बाल्यकालमा हामी पनि ल्एःक् लेखिएको सरदारले चलाएको ट्रकहरु मात्र देख्थ्यौ । ल्एःक् को अर्थ थाहा थिएन, हामी अन्जानमा “नेपरेको पञ्जावी मात्तेको सरदार“ भनेर भन्थ्यौ । यो सुन्दा ट्रक चलाउने सरदारजी रिसाउनु हुन्थ्यो ।
सिखहरूको नेपालमा यातायातको बिकासमा निकै महत्वपूणर् भूमिका छ । NPMS अर्थात नेपाल पव्लिक मोटर्स सर्विस नेपालको यातायात क्षेत्रमा निकै महत्वपूणर् नाम हो । निकै ध्यान पुर्वक यातायातका साधन चलाउने सरदारजीहरुले नेपालमा ठूलो दुर्घटना गराएको बिरलै भेटिन्छ ।@सुनिल उलाकको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार