लिम्बु जातिले सुधार र विकास गर्नुपर्ने केही प्रस्ताव


विश्वास दीप तिगेला  160 पटक हेरिएको

मंगोलियन वणर्का लिम्बु जाति अन्य आदिवासी जातिहरु झै साँस्कृतिक रुपमा धनी मानिन्छ । लिम्बु आफूलाई याक्थुङ भनेर पनि गर्व गर्ने गर्दछ । केही सय बर्ष अघिसम्म आफै शासन गरेका जाति भएकोले जेठो शासक पनि मानिन्छ । धेरै इतिहासमा लिम्बुहरु किरात हुन भनेर लेखिएका छन भने किरातले आज भन्दा करिब ५ हजार बर्ष अगाडी शासन गरेको र उनीहरुको शासनमा सभ्यताको चरम विकास भएको भनिएको छ । त्यसलाई नै आधार मान्ने हो भने ५ हजार बर्ष अगाडी नै त्यति सभ्य लिम्बु जाति अर्थात जेठो शासक अहिले ५ हजार बर्ष पछाडी त मानव जगतमै सबैभन्दा सभ्य र विकसित भईसक्नुपर्ने हो । अफसोस, अझै पनि लिम्बुले आफ्नो पहिचानकै निमित्त सघर्ष गरिरहनु परेको छ, अस्तित्व स्थापित गराउन अझै धेरै सङ्घर्ष गरिरहनु परेको छ, आखिर किन त्यसो भईरहेको छ? के कुराले असर गरयो र अब कुनकुन कुराहरु अबलम्बन गर्न जरुरी हुन सक्दछ भन्ने विषयलाई संक्षेपमा समेटने कोसिस नै यो लेखको उद्देश्य रहेको छ ।

विश्वमा मुख्यतया ३ बणर्का मान्छेहरु छौ । मंगोलियाको एक पोखरीमा उत्पति भएको मानिएको मंगोलियन बणर्, आर्मेनिया, अजरबैजान र जर्जियामा फैलिएको कोकेसेस माउण्टेन क्षेत्रमा उत्पति भएको मानिएको कोकेसियस बणर् र अफ्रिकी मुलुक ट्युनेसियामा उत्पति भएको मानिएको निग्रोइड । यि बणर्हरु मध्ये मंगोलियन बणर् भित्रको एक जाति लिम्बु मंगोलिया नजिक चीनको यालो रिभर, याङ्ता रिभर र यार्लाङ साङ्पो (ब्रम्हपुत्र) नदि हुदै भारतको असम, वर्मा हुदै नेपाल तिर धेरै पहिला आईपुगेको चर्चा पाइन्छ । नेपालमा निग्रोइडको उपस्थिती छैन भने कोकेसेस इरान, पाकिस्तान र भारत हुदै नेपालको पश्चिमबाट छैठौ शताब्दिमा खस र दक्षिण भागबाट १२ औं शताब्दिमा मात्र आर्य कोकेसेस भित्रिएको मानिन्छ । मंगोलियड कुन समयमा नेपाल आए एकिन नभएपनि कोकेसेस भन्दा धेरै अगाडी आएको मानिन्छ ।

मानव विकासको पहिलो चरण- उत्पति, दोस्रो चरण गोत्र/कबिला, तेस्रो चरण जनजाति, चौथो चरण आदिवासी पाचौ चरण जाति अनि राष्ट्र हुनेगर्दछ भने पतनको चरण पनि जाति, आदिवासी, जनजाति, गोत्र/कबिला हुदै पतन हुने गर्दछ । लिम्बु (राष्ट्र) यी चरणहरु मध्ये अहिले कहाँ छ, अर्थात छौ भन्ने चर्चा गर्नु अहिले आवश्यक छ । लिम्बु जाति चरणगत विकास हुदैछ की पतनको चरणमा छ अब निक्र्यौल गर्नुपर्ने बेला भएको छ । इतिहासमा त किरात सभ्य थिए भनिएको पाइन्छ भने त्यो बेलाको सभ्य जाति कसरी असभ्यमा रुपान्तरण भए त? त्यस्तो कुन कुराले भूमिका खेल्यो- संस्कृति, राजनीति वा दुवै या अन्य कुनै कुराले ?

मदमंसको संस्कृति जब भित्रियो तब त्यो बेलाको सभ्य लिम्बुहरु पनि चरणगत हिसाबबाट पतनमा गए र अहिले आदिवासीको चरणमा पुगेको मान्ने की ?
कुनै पनि जाति सभ्य र उन्नत हुनुमा सबैभन्दा प्रमुख भूमिका त्यो जातिको संस्कृतिमा निर्भर रहने गर्दछ र दोस्रोमा राजनीति । संस्कृतिमा विकृति र राजनीतिमा पहूँच गुमाउने बित्तिकै सिंगो समुदाय प्रगति होइन अद्योगतिमा बहन शुरु गरेको तथ्यलाई पनि स्वीकार्नुपर्ने हुनसक्छ । त्यसो हो भने उन्नति, प्रगति र सभ्य बनाउने शुत्र चाहि के हो त? सामान्यतया संस्कृति र संस्कारमा सुधार तथा विकास गरि मदमंस नगर्ने, शिक्षामा आकर्षण दिने, धार्मिक तथा नैतिक चेतना दिने र राजनैतिक संलग्नता एवं पहूँच प्राप्त गर्ने जाति विकसित अर्थात उन्नत जातिमा रुपान्तर हुदै गएको देखिन्छ भने सभ्य राष्ट्र बन्नुमा जातिको धर्म, साहित्यले पनि मुख्य भूमिका खेलेको हुन्छ ।

संस्कार, संस्कृतिको विकृतिमा सुधार नहुनु, आफ्नै मौलिक धर्ममा प्रतिबद्ध नहुनु भनेको चुरो बेगरको रुख जस्तै हुनु हो, गुभो बेगर केराको बोट जस्तै हुनु हो । चुरो नभएको रुखलाई सानै हावाले लडाईदिन्छ भँचाईदिन्छ, गुभो बेगरको केराको बोट हेर्दा गजबले फल्छ जस्तो देखिन्छ तर फल लाग्नै सक्दैन, हो त्यस्तै अहिले लिम्बुहरु पनि चुरो नभएको रुख र गुभो नभएको केराको बोट जस्तै पो भएका छौ की? सामान्य हावाले पनि लडाईदिने, भचाँईदिने र हेर्दा केराको बोट देखिने तर फल्दै नफल्ने, किन की गुभो नै गोबारोले खाईदिईसकेको छ तसर्थ लिम्बु जातिको अब समग्रमा समिक्षा र पूर्नमूल्याङकन गर्न आवश्यक छ । यदि लिम्बु जाति पतनकै चरणमा छ भने लिम्बु जातिलाई प्रगतिउन्मुख, सभ्य, बलियो र प्रभावकारी कसरी बनाउने त? लिम्बु जाति पतनउन्मुख हुदै गर्दा कान्छो शासक लगायत अन्य जाति चाहि कुनकुन कारणले प्रगतिउन्मुख बनि रहेका छन त? सो कुराको ख्याल गर्न आवश्यक हुन्छ । सामान्यतया शिक्षा, अनुसासन र नैतिकता सिकाउने साथै आत्माबल प्रदान गर्ने धर्म र समय सापेक्ष सुसंस्कृतिको विकासले गर्दा अन्य जातिहरु अगाडी गएको देखिन्छ भने लिम्बु जातिको उत्थानको निमित्त चाहिने धर्म र संस्कृतिलाई समयानुकुल सुधार र निर्माणमा कसले छेकेको छैन ।

विज्ञानको युगमा विद्यालय र विश्वविद्यालयहरुमा भगवान हुदैन, देवीदेवता अन्धविश्वास हो भनी पढाईन्छ त्यो सत्य नै हो तर मानिसको आत्माको शक्ति अर्थात सम्मोहन (हिप्नोसिस) ले राजनीति, प्रसासन, कला, संगीत लगायतमा कसरी काम भईरहेको छ? कान्छो शासकहरुले मात्र ठूठूला काम गर्न सक्छन भन्ने मनोविज्ञान कसरी विकास भईरहेको छ ? पुजाआज, सेवाभक्तिले शक्ति प्राप्त हुन्छ हुदैन बहसको विषय हुन सक्दछ तर पुजागर्ने ब्यक्ति स्वयंलाई प्राप्त हुने आत्माबल र आत्मा विश्वासलाई ख्याल गर्दे अनुसासनको मुख्य स्रोत मानिएको धर्म आफ्नै विरासत सुहाउदो निर्माणगरि हाम्रो समाजलाई शिक्षा किन नदिने? हाम्रो समाजमा कसरी हिप्नोसिसले काम गरिरहेको हुन्छ, हिप्नोसिस भगवानको शक्ति होइन भने त्यो शक्ति आर्जनको प्रकृया बारेमा जानकारी हुन वान्छानीय हुन्छ की हुदैन? सो कुराहरुको बारेमा पाठ्यक्रमहरुमा पढाई हुने हो भने तब मात्र ब्यक्ति र समाजले आत्मा शक्तिलाई बुझ्दछन । भन्नुको तात्पर्य पुजापाठ, अनुष्ठान, धर्मकर्ममा पनि शक्ति प्राप्त हुन्छ र पुजापाठ आदिमा लिम्बु समुदायलाई पनि प्रोत्साहित गर्नु अति जरुरी छ ।

केही रोचक संयोग पनि हेरौः सन् २०१५ मा बेईमानी कुराहरु लेखिएको नेपालको संविधान जर्बरजस्त लागू गरियो त्यसको विरुद्धमा नेपालका आदिवासी जनजातिहरुले सडक आन्दोलन पटकपटक गरे तर जुन दिन सडक आन्दोलन गरयो त्यहि बेला भूकम्प आईदिने, अति संवेदनशिल विषयलाई लिएर घोषणा गरिएको आन्दोलनको बखत दुईतिन पटक भूकम्प त्यसरी लगातार गईदियो । जनजातिहरु तुलनात्मक कम पुजाआजा गर्छन । कोकेसेसहरु धेरै पुजा गर्छन र सो घटनाले उनीहरुलाई नै प्रकृतिले पनि साथ दिएको हो की भन्ने भ्रम पनि हुन्छ । उसो त भूई ढोगेर पुजा गर्ने मुस्लिमहरुको देशमा नै धेरै तेल र ग्याँस भूइबाटै निस्कनु पनि अर्को संयोग लाग्दछ । यहा चर्चा गर्न खोजिएको कुरा चाहि हिप्नोसिस अर्थात सम्मोहन र देवीदेवता पुज्नु एउटै होइन तर कहिकतै सम्बन्ध छ की लाग्दछ । हिप्नोसिस एक वैज्ञानिक क्रिया हो र यसमा विश्वास गर्न सकिने आधार पाइन्छ, हामीले पुजाको प्रभाव र हिप्नोसिसलाई जोडन सकेको खण्डमा पुजाआजाबाट शक्ति आर्जन गर्न सकिन्छ भनेर विश्वास नगर्नेहरुलाई पनि समाहित गर्न सकिन्छ । पुजाआज र धर्मको अनुष्ठानहरुले प्रभाव र अर्थ राख्दछ भन्ने विश्वास दिन सकेको खण्डमा हाम्रा जाति पनि यसप्रति आकर्षित हुनेछन र प्रतिबद्ध हुनेछन । दैनिक पुजापाठ गर्ने र नगर्ने बीचमा तुलनात्मक धेरै फरक देखिन्छ त्यसैले बनेको हुनुपर्दछ विश्वका मुख्य धर्महरुः किश्चियन, मुस्लिम, बुद्धिष्ट, हिन्दु र किरात लगायतका धर्महरु ।

समाजशास्त्रीहरुको गहिरो अध्ययन र शासकहरुको अप्रत्यक्ष ठूलो लगानीमा उनीहरुले आफ्नो धर्मलाई प्रचारप्रसार र विस्तार गरिरहेका छन । हामीलाई चाहि धर्म केही पनि होइन भनेर पढाइन्छ तर उनीहरु चाहि किन ठूलो खर्च गरेर नियोजित रुपबाट हाम्रो समुदाय माथि धर्म लादी रहेका छन? धर्म स्वर्गकै लागि मात्र हो भने जो ब्यक्ति स्वर्ग जाने इच्छा गर्नुहुन्छ उनीहरुले पुजा मात्र गरेर बसे भईहाल्थ्यो नी किन सुनियोजित धर्म प्रचार र विस्तार गरिरहेका छन? के त्यो धार्मिक औपनिवेश निर्माण गर्दै, मनोबैज्ञानिक रुपबाट साम्राज्य फैलाउदै धर्मको आधार टेकि राजनैतिक प्रभुत्व कायम गर्न खोजेका होइनन र? हामी अझै पनि धर्मको महत्व किन नबुझ्ने? देशविदेशको अभ्यास अध्ययन गर्दा- जसले आफ्नो धर्मलाई विशिष्टीकरण गरेर अघि बढन सकेनन तिनै आदिवासीहरु आज प्रत्यक दिन क्षयीकरण हुदै लोपउन्मुख र अस्तित्वहीन बन्दै गएका छन । क्षयीकरण हुदै गएको जातिहरुको लिष्टमा लिम्बु जातिको पनि नाम लिनपर्ने समय आउदैछ ।

अन्य जातिको तुलनामा लिम्बु जाति अहिले हरेक क्षेत्रमा रक्षात्मक अवस्थामा पुगेको देखिन्छ । लिम्बु (याक्थुङ) हरुको याक्थुङलाजे खोसिए, लिम्बुवान राज्य खोसिए, किपट खोसिए, केही कित्ता जमिन छ त्यसको धनीपूर्जा पनि गरिबीको कारण अहिले बैंक वा कृषि विकास बैंकमा रिणको धितो बापत राखिए अब लगभग लिम्बुहरु जग्गाजमिन विहीन बनिसके र बन्नेक्रममा छन । रोजगारको अवसर छैन, शिक्षा लिम्बु समुदाय र लिम्बु भाषा मैत्री छैन, राजनीतिक पहूँच छैन समग्रमा भन्नुपर्दा लिम्बु जातिले ढुक्कसाथ टेक्ने सानो भूमि पनि लगभग अब छैन । त्यति मात्र होइन आस्था, इतिहास र मुन्धुमीे विरासत पनि खोसिए, खोसिनेक्रम जारी छ जस्तै मुक्कुमलुंगलाई पाथीभरा र तिम्बुङ पोखरीलाई विष्णुपोखरी बनाए आदि । विशेष गरि नेपालका लिम्बुहरुको राजनैतिक शक्तिमा ह्रास मात्र आएको छैन पतन कै चरणमा गुज्रि रहेको छ भन्न सकिन्छ, यस बर्ष सन् २०२२ को आम निर्वाचनमा कति लिम्बुहरु विजयी भएर आए त्यहि तथ्याङकले हालको अवस्थाबारे छर्लङ बनाउदछ । प्राप्त तथ्याङ्क अनुसार वि.स. २०४८ को आम निर्वाचनमा लिम्बुहरु प्रत्यक्षमा विजयी १४ जना साँसद थिए भने यसबर्ष वि.स. २०७९ मा जम्मा ४ जना मात्र प्रत्यक्षमा विजयी बनेका छन । लिम्बुहरुको इतिहासमा नै यो बर्ष सर्वाधिक कालो निर्वाचन हो । निजामति, सेना, प्रहरीको क्षेत्रमा पनि लिम्बुहरुको उत्साहजनक उपस्थिती छैन । लिम्बुवान राज्य प्राप्तिको आन्दोलन पनि रक्षात्मक मोडमा पुगेको छ । त्यस्तै लिम्बु बस्ति भएको गाँउघर घुमेर हेर्नेहो भने पनि आउने पुस्ताले समेत प्रगति गर्ने देखिन्न, मद्यमंस संस्कृतिबाट आएको विकृतिको कारण आउदो पुस्ताहरुको जीबन झनै अध्यारो देखिन्छ ।

लिम्बु बस्तिहरुमा परिवार नियोजकको कार्यक्रमहरु लागूभईरहेका छन, जसले लिम्बुको जनसंख्या नियन्त्रित बनाई रहेको छ । गरिबी र अन्य मुलुक (युके, हङकङ) मा पलायनको कारण नेपालमा लिम्बुको जनसंख्या स्वात्तै घटेको छ, जनसंख्या मात्र घटेको होइन, सोचमा पनि स्खलन भएको पाइन्छ । उसो त एक बृट्रिस अनुसन्धानकर्ता लियोन कप्लानले सन् १९६० देखि १९८० को दशकमा गरेको खिोज अनुसन्धानले लिम्बुहरु निरन्तर संख्यात्मक हिसाबबाट घटिरहेको, पलायन भईरहेको देखाएको छ । एकाध लिम्बुहरुले पिएचडी गरेको, एकाध ठूलो ओहोदामा पुगेकोलाई उपलब्धि ठानिएको पनि हुनसक्छ तर छिमेकी जातिबाट ५ सयले पिएचडी गरेको ठाँउमा एकदुई जना लिम्बुले गर्नुलाई उपलब्धि मान्न सकिन्न, उपलब्धि त छिमेकी जाति संग झण्डै बराबरीको संख्यालाई मात्र मान्न सकिन्छ । समग्रमा लिम्बुहरु राजनैतिक, साँस्कृतिक, आर्थिक, धार्मिक र सामाजिक हिसाबबाट सुरक्षित छैनन । राज्यको नीति र षयन्त्र यति बेईमान छः लिम्बुहरुले आँखा चिम्लिएर एकछिन मात्र बस्ने हो भने राज्यले नै सिध्याई दिन्छन । लिम्बुहरुले देश विकासको बारेमा सोच्ने भन्दा नेपाल सरकारले कुनबेला लिम्बु विरुद्ध बेईमान/आक्रमण गर्छ भनेर चनाखो बस्दै, प्रतिरोधको तम्तयारी बस्नुपर्ने विवशता छ, तसर्थ अहिले नै अगुवा लिम्बुहरुले नीति निर्माण देखि संस्कृति सुधार र विकासको निमित्त सोच्नै पर्ने अवस्था आएको छ । यदि समयमै सो काम गर्न नसके ढिला हुनेछ र चाडै पहाडमा लिम्बुहरु कमैयाकमलरी बन्ने विवशतामा पुग्नेछन तर भारतमा रहेका लिम्बुहरुलाई भने केही कुराको ग्यारेण्टि छ । अदर ब्याकवर्ड क्लास र सेडूयल क्लासको हक, अधिकार र समुदायको सुरक्षा भारतको संविधानमै प्रष्ट संग सुरक्षित छ तर नेपालको लिम्बु वा आदिवासी जनजाति विल्कुलै सुरक्षित छैनन ।

समुदाय र जाति बलियो बनाउनको निमित्त मस्जिदमै शिक्षा दिने मुस्लिमहरुको मदरसा शिक्षा, क्रिश्चियनहरुको प्रत्यक आइताबार पाठ सिकाउने चर्च र बुद्ध शिक्षा दिने बुद्धिष्टहरुको गुम्बा, ओमशान्ति, साइबाबा, कृष्ण प्रणामी लगायतका अनेक स्वादका हिन्दु शिक्षा चलाए जस्तै लिम्बुहरुको पनि माङहिम निर्माण गरेर ति माङहिमहरुमा लिम्बु नानीहरुलाई धर्म, मुन्धुम, संस्कृति र नैतिक शिक्षाको बारेमा ज्ञान दिनु अति आवश्यक छ । तब मात्र उच्च मनोबल भएका लिम्बुहरु हुर्कन्छन अनि प्रगतिउन्मुख हुनेछन । सत्यहाँङपन्थीले सत्यहाँङ विधिबाट, युमावादीले युमा शैलीमै धार्मिक शिक्षा र समाज सुधारको कामलाई तिव्रता दिन आवश्यक छ तर धर्मको नाम सबैलाई, धेरैलाई अटाउने र स्थापित भई सकेको नाममै सहमत भएर जानु वैज्ञानिक देखिन्छ । यसको अर्थ किरात भन्नु नै निर्विकल्प भन्न खोजेको चाहि होइन । हाम्रो मौलिकता माङहिम बनाउने होइन भन्ने हो भने सोचौ मस्जिद, चर्च, गुम्बा, हिन्दु मन्दिरको चलन पनि एकैचोटी आएका होलान त ? पक्कैपनि होइन एकएक गरि विकास र परिमार्जन गर्दै बनाउदै आए र त्यसैमा उनीहरुले मौलिकता भेटन थाले । यसर्थ युमा पुज्नुहोस वा किरात मुजोत्लुङ पुज्नुहोस तर जातिको अस्तित्वको लागि, राजनैतिक शक्ति आर्जन र सामाजिक प्रभाव बढाउनको लागि धर्म र धर्मका क्रियाकलापहरु आवश्यक देखिन्छन् । अर्को रोचक प्रसंगः महत्वपूणर् सन्देश फैलाउन नेपालमा पनि गाँउगाँउ, शहरशहरमा होमयज्ञ आदि लगाउने बहानामा निश्चित लक्ष्य प्राप्तिको कार्यक्रमहरु गरिएको पाइन्छ । देख्दा धार्मिक अनुष्ठान तर काम गोप्य उद्देश्य प्राप्तिको लागि हुनेगरेको पाइन्छ, विशेषतः चुनाव अघि यस्ता होमयज्ञ हुने गरेको घटनाहरु धेरै छन । यसले प्रष्ट के देखाउछ भने राजनीतिमा पनि धर्म र धार्मिक अनुष्ठानले पनि राजनीतिक भूमिका खेलेको हुन्छ । महात्मा गान्धीले भनेका छनः धर्मले राजनीतिमा केही गर्दैन अर्थात गर्नुहुदैन कसैले भन्छ भने उसले राजनीति बुझेकै छैन । तसर्थ धर्म र राजनीति एकअर्कामा परिपुरक हुन्छन । त्यस्तैगरि जाति बलियो, भरपर्दो र शसक्त बनाउन पनि धर्मको ठूलो भूमिका हुन्छ । धर्ममा कटिबद्ध मान्छे ढगमगाउदैन, अरुले सजिलै हल्लाउन सक्दैन, प्रभाव पार्न सक्दैन उ स्थीर हुन्छ, जुन मान्छेमा हुन पर्ने आवश्यक विशेषता हो ।

प्राप्त तथ्याङ्क अनुसार नेपालमा साढे ३ लाख र सिंगो भारतमा करिब एक लाख लिम्बुहरुको जनसंख्या रहेको देखाएको भएपनि वास्ताविकतामा त्यो भन्दा धेरै जनसंख्या रहेको विश्वास गरिन्छ तर अन्य जातिको तुलनामा लिम्बुहरुको जनसंख्या आवश्यक संख्यामा बढेको पाइन्न जुन चिन्ताको विषय हो । राजनीतिक आन्दोलन र महत्वपूणर् निणर्यको घडिमा जनसंख्याको पनि निणर्ायक भूमिका हुने गर्दछ जुन कुरा अहिले लिम्बुमा खासै भेटिन्न । जनसंख्यालाई नै मध्येनजर गर्दा असम, नागाल्याण्डका लिम्बुहरुले किरात धर्म भनेको खण्डमा त्यहाका आदिवासी नागा, कछारी, मनिपुरे लगायतलाई समेत अटाउन सकिने देखिन्छ तर युमा भनियो भने आंशिक लिम्वु बाहेक अरु अटाउने देखिन्न । किरात शब्दलाई झण्डै मंगोलियन शब्दको पर्यायीवाचीको रुपमा समेत बुझ्ने गरिएकोले त्यो सुविधा हुनसक्दछ । त्यसैले पनि किरात धर्म भन्दा विशाल सम्भावना सहितको धर्म बनाउन सकिन्छ । धर्म सधै ठूलो संख्याको हुनु फाइदाजनक हुन्छ । सानो संख्या रहने प्रकृतिको धर्मको खासै अर्थ रहन्न किन की सानो संख्याको राजनैतिक र सामाजिक शक्ति खासै हुदैन । भारतमा हिन्दुको संख्या थोरै हुनु हो त नरेन्द्र मोदी प्रधानमन्त्री हुने थिएनन् सायद । नेपालमै पनि लिम्बुहरुले किरात धर्म भनेर वा सत्यहाँङ वा सत्य धर्म भनेर अगाडी जाँदा अन्य जातजाति समेत सजिलै अटाउन सक्दछ । धर्म केवल आत्मा शान्ति र मोक्ष प्राप्तिको लागि मात्र होइन । धर्म सामाजिक शक्ति आर्जनको मुख्य स्रोत हो, यस्तो कुराको पनि ख्याल हुन आवश्यक देखिन्छ ।

लिम्बुहरु तुलनात्मक कम धर्मकर्म गर्नेगर्दछन । विशेषतः लिम्बु जातिमा अरुको प्रगति र उन्नतिमा आहरिस (नाहेन) प्रवृति अलिबढि हुन्छ की भन्ने पनि तर्क गर्न सकिन्छ, ईश्या धेरै हुने कारणले नै लिम्बुमा नाहेन पुजा गर्ने चलन छ, अन्य जातिमा नाहेन पुजा देखिन्न । आहरिस आफैमा नकरात्मक आत्मा हो, नकरात्मक शक्ति हो, नकरात्मक सोचले मानिसलाई साँघुरोसाँघुरो बनाउदै लैजान्छ त्यसको बदला धर्म र शिक्षाले सोचमा परिवर्तन ल्याउने, आत्माबल बढाउने भएकोले लिम्बुमा हुने नाहेनलाई घटाएर धार्मिक क्रियाकलापहरुमा जोडबल गर्नु आवश्यक देखिन्छ ।

लिम्बुहरुले आफ्नो भाषा, साहित्य आदिको क्षेत्रमा सामान्य ठिकै गर्दैछन, छोरीचेलीको सोतरित खाने, हात समाएर गैर लिम्बुहरु संगको धाननाच आदिले विकृति ल्यायो भनेर धेरै सुधार गरयौ, बन्द गरयौ भने अरु सुधारहरु पनि लिम्बुहरुले गर्न सक्दछन यद्यपी लिम्बु जातिमा धर्म, संस्कृति र राजनीतिको सवाल भने अति चिन्ताजनक अवस्थामा रहेको छ । मनोविज्ञानको हिसाबबाट लिम्बुहरु औपनिवेशीकरण भईसकेको देखिन्छ । लिम्बुहरु माथि लादिएको चाडपर्व जस्तै दशैं, तिहार, क्रिसमस त्याग्न नसक्ने, राजनीतिमा आत्माबल राख्न नसक्ने अवस्थाको हुनुको मुख्य कारण खकुलो धर्म संस्कृति हुनु हो । त्यसैले आफ्नै धर्मको विकास र विस्तार गर्न नसक्ने हो भने लिम्बुहरुको भविश्य झनै अन्धकारमय देखिन्छ । माङहिम, युमाहिम जेजे भनेपनि धेरै भन्दा धेरै लिम्बुहरुलाई धार्मिक बनाउने र मंदमस छोडाउने अभियान अबिलम्ब चलाउन आवश्यक देखिन्छ । धार्मिक नै बनाउन सकेको खण्डमा लादिएको दशैं जस्ता चाडपर्व संस्कृति स्वतः छोड्दै जानेछन अन्यथा लिम्बुहरुलाई दासी मनोवृतिको बनाउने अनेक कारण मध्ये एक दशैं संस्कृति हो । राजनीतिले भन्दा बढि शोषित र दासी संस्कृतिले बनाउने गरेको निक्र्यौल गर्दै नेपालमा बहूदलीय ब्यवस्थाको स्थापना लगतै २०४६/४७ तिर दशैं बहिष्कार तथा परित्यागको अभियान चलाएका थिए, वास्तवमा जसले त्यो बेला अभियान चलाएका थिए उनीहरु दुरदर्शी थिए । दशैं बहिष्कार प्रभावकारी ढंगले अघि बढिरहेको बखत लिम्बु, जनजातिको आन्दोलन पनि शसक्त थियो, पछिल्लो समय दशैं बहिष्कारको अभियान सुस्त हुदा लिम्बु तथा सिंगो जनजातिको आन्दोलन पनि निष्प्रभावी बनेको देखिन्छ त्यसैले सन्दर्भवस भन्ने हो भने राजनीति भन्दा संस्कृति क्रान्तिको बढि खाँचो हो की? यी यावत कुरा लिम्बुवानको आन्दोलन बखत सडकमा सहभागी हुन आउने लिम्बुहरुको संख्याले पनि दर्शाउछ, त्यसैले लिम्बुहरुले जातिय जनसंख्या बृद्धिमा पनि प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

लिम्बु जातिको सभ्यता संग जोडिने ८ ग्रहहरुको गतिको गणना अर्थात किरात क्यालेण्डरको बहसलाई पनि निष्कर्षमा पुरयाउन यलम्बर संवतको अध्ययन गर्न आवश्यक छ । सन् २००९-२०१३ सम्म किरात अर्थात यलम्बर संवतको बारेमा धेरै काम भए तर किरातजन्य संघसंस्थाहरुमा जिम्मेवारी बोध अभावको कारण अन्तर्राष्ट्रिय सम्मेलनबाट प्राप्त हुन आएको यलम्बर सवंतलाई प्रयोग नगर्दा क्यालेण्डरको काम पछाडि धकेलिएको छ । भोली अकाटय प्रमाण सहितको नआउन्जेल, भेटिएको तथ्याङ्ककै आधारमा यलम्बर संवत ३७३९ (२०२२) लाई प्रचलनमा लैजान आवश्यक हुन्छ तर पाँच हजारवाला संवत चलाउन चाहि प्राज्ञिक हिसाबले लाजमर्दो मानिन्छ कारण त्यसको आधारै छैन र विश्वमा मानव सभ्यताको समयावधि संग पनि मेल खादैन । यलम्बर फाउन्डेशनको प्रसंसनीय कामलाई सहयोग गर्दै क्यालेण्डरको विषयमा पनि खुलेरै चाडै बाँकी कामहरु गर्नु आवश्यक छ । जब क्यालेण्डरको काम सम्पन्न हुन्छ नी तब न्वारानको लागि पंडितकोमा जानुपर्ने परनिर्भरता हटछ । पात्रो हेरेर न्वारान र साईतको लागि पंडितकोमा जाँदा अरु मनोविज्ञानको कुराहरु पनि जाने भएकोले आफैले गर्नुको अर्थ हुन्छ । पात्रो, साईत, न्वारान सबै ग्रहहरुको गतिको गणना अर्थात गणित हो हामी जो कसैले हिसाब गर्न सक्दछौ ।

अन्तमा, लिम्बु थोरै जनसंख्या भएको जाति हो । लिम्बुको जनसंख्या बृद्धिमा नीतिगत ध्यान पुरयाउन आवश्यक छ । समग्रमा लिम्बु जातिको प्रगति भन्दा अद्योगति तर्फ गईरहेको तथ्याङले बोल्दछ त्यसैले लिम्बुजन्य संघसंस्थाहरु कर्मकाण्डी गतिविधिलाई मात्र निरन्तरता दिदै सिंगो समाजको अध्ययनमा रनभुल्लमा पर्नुहुदैन । लिम्बु जाति प्रति उत्तरदायी संस्था किरात याक्थुङ चुम्लुङ, असम लिम्बु महासभा लगायतले जाँडरक्सीमा प्रतिबन्ध वा न्यूनीकरण गर्ने कार्यक्रम अनिवार्य ल्याउनुपर्ने देखिन्छ । जाँडरक्सी लिम्बुको संस्कृति भएपनि यसको प्रयोगलाई निरुत्साहित गर्ने, अर्थात जाँडरक्सी पहिचानमा गर्व गर्दै कालन्तरमा सिद्धिने की, जाँडरक्सी पहिचानलाई एतिहासिक सम्मान दिदै बन्देज गरि प्रभावकारी लिम्बु समाज निर्माण गर्ने सम्बन्धमा स्पष्ट नीति बनाउनु पर्ने अहिलेको आवश्यकता हो । यी संस्थाहरुले ससाना कुरामा अलमलिनु हुदैन र समाज अध्ययनगरि लिम्बु समुदायलाई धार्मिक बनाउने अर्थात धर्म निर्माण गर्ने र जाँडरक्सीमा बन्देज तथा न्यूनिकरण गर्नु अहिलेको प्रमुख दायित्व हो । जुनसुकै धर्मले पनि लिम्बुहरुलाई चोरेर, खोसेर उनीहरुको धर्म अनुसरण गर्ने बनाएका छन जसले गर्दा लिम्बु पहिचान र अस्तित्व दिनानुदिन क्षयीकरण भईरहेको छ त्यसलाई अविलम्ब रोक्नु पर्दछ, लिम्बुको सामाजिक शक्ति आर्जन गर्न बलियो आफ्नो एकै धर्म निर्माण गर्न अपरिहार्य देखिन्छ । राजनैतिक पार्टीहरुले पनि आआफ्नो पार्टीमा लिम्बुहरुलाई लगि रहेका छन, सो कुरालाई समेत रोक्न राजनैतिक चेतना दिने शिक्षामा जोडबल गर्नुपर्दछ । लिम्बुहरु बेरोजगार, राजनैतिक पहूँच गुमाएको, दरिद्रतामा पिल्सिएको यो विशेष परिस्थितीमा युमा, किरात भनेर विभाजित नभईकन, लिम्बुवान र लिम्बुको हकअधिकारको सवाल बोक्ने म मात्रै ठेकेदार नसम्झि सबैको अस्तित्वलाई स्वीकार्दै, आफ्ना वालबच्चालाई माङहिममा अनुसासन, नैतिक शिक्षा र धार्मिक शिक्षा दिने गरि माङहिमहरुको ब्यवस्थापन गरि अन्य हिन्दु, मुस्लिम, क्रिश्यियन र बुद्ध धर्म मान्नेहरु झै आत्माबल बलियो भएको, चुरो भएको रुख र गुभो भएको केराको बोट झै मजबुत र भरोसिलो लिम्बु जातिको विकास गर्न आवश्यक छ । यथासक्दो लिम्बुहरुलाई धार्मिक बनाउने, मदमंस सेवन छोडाउने, लादिएको दशैं संस्कृति परित्याग गराउने र दशैं जस्तै आफ्नो चाडपर्वको विकास गर्न ढिला गर्नुहुन्न अन्यथा लिम्बुहरु अझ धेरै पछाडी धकेलिने देखिन्छ तसर्थ सबै संचेत रह्रौ, नत्र महागुरु फाल्गुनन्दले भन्नु भएजस्तै भाषा, संस्कार र धर्म हराए आफै हराउदछौ । पतन भई विलय हुनु अगावै अहिले नै लिम्बु जातिको उद्धार, सुधार तथा विकासको निमित्त सहि निणर्य गरौ र सिंगो समुदायको भविश्य उज्वल बनाउन सामुहिक प्रयत्न गरौ ।@biswas.com.npबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार