किरात याक्थुङ चुम्लुुङको २४ औं राष्ट्रिय चुुम्लुुङका अवसरमा चितवन भरतपुरमा लिम्बूू सांस्कृतिक झाँकी


सेवारो खबर  258 पटक हेरिएको

भरतपुरः पूर्वका लिम्बूहरुले आइतबार चितवनमा सांस्कृतिक झाँकी देखाएका छन् । संख्याको हिसाबले थोरै रहे पनि आइतबार चितवनमा भएको किराँत याक्थुङ चुम्लुङ (कियाचु)को २४औँ राष्ट्रिय चुम्लुङका क्रममा झाँकी देखाइएको हो ।

अधिकांश मेला-महोत्सव तथा औपचारिक कार्यक्रम हुनुपूर्व थारु जातिको सांस्कृतिक प्रस्तुति देखिइरहने चितवनमा यसपटक लिम्बूको सांस्कृतिक झाँकी देखाइएको हो । देशका विभिन्न जिल्लाबाट आएका लिम्बूहरुले आफ्नो जातीय सांस्कृतिक पहिचानको संरक्षणका लागि विभिन्न खालका झाँकी प्रदर्शन गरेका हुन् ।

पहाडमा चेपाङ र तराईमा थारु जातिको मुख्य बसोवास रहेको चितवनमा आइतबार पूर्वेली लिम्बूहरुले झाँकीसहित भरतपुरको चौबीसकोठीबाट दूरसञ्चार रोड, जिल्ला प्रहरी कार्यालय हुँदै चौबीसकोठीसम्म र्‍याली निकालेका थिए । चुम्लुङको उद्घाटन सत्रमा पनि सांस्कृतिक झाँकी देखाइएको थियो ।

चितवन र उपत्यकाका तीन जिल्लासहित १४ वटा जिल्लाबाट चुम्लुङमा सहभागी हुन २२८ जना प्रतिनिधि चितवन आएका छन् । प्रदेश नं १ का पूर्वप्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङको विशेष उपस्थितिमा लिम्बूहरुले राष्ट्रिय चुम्लुङ आयोजना गरेका हुन् । चुम्लुङका क्रममा आदिवासी जनजाति समुदायले गरेको संघर्षअनुसार अधिकार प्राप्त गर्न नसकेका आवाजसमेत उठेका छन् ।

कार्यक्रममा चितवन जिल्लाबाट आफ्नो भनाइ राख्दै लिम्बूका नेता एवम् चितवनका पूर्वजनप्रतिनिधि नरेन्द्रकुमार कन्दङ्वा लिम्बूले प्रदेश १ को नामकरण गर्दा आदिवासी जनजातिको पहिचानसहितको नामकरण गराउन दबाब दिए । राज्यसत्तामा पुगेका दल तथा नेताहरुले आदिवासी जनजातिको इतिहास र पहिचान मेटाउने प्रयास गरेकै कारण हालसम्म प्रदेशको नामकरण हुन नसकेको भन्दै उनले भने, ‘प्रदेशको नामकरणमा आदिवासी जनजातिको पहिचान हुँदैन भने जस्तोसुकै आन्दोलन गर्न पनि तयार हुनुपर्छ ।

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् (नेफिन) चितवनका अध्यक्ष महेन्द्र दुराले पनि आदिवासी जनजातिको हकअधिकारमाथि खेल्ने प्रयास भइरहेको बताए । त्यसबाट जोगिनलाई उनले आग्रह गरे । ‘हामीमाथि विभिन्न बहानामा देशीविदेशी त¤वले खेल्ने प्रयास गरिरहेका छन्’, उनले भने, ‘त्यसबाट हामी सचेत हुन आवश्यक छ ।’

नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिकाका अध्यक्ष ईश्वर सापकोटाले देशमा समावेशी र समानुपातिक व्यवस्था लागू गराउनकै लागि माओवादीले सशस्त्र विद्रोह थालेको बताउँदै आन्दोलनकै क्रममा आफूले आँखा गुमाएको स्मरण गरे । तर, अहिले जातीय द्वन्द्व भड्काउन माओवादीले आदिवासी जनजातिलाई प्रयोग गर्‍यो भन्ने खालका आरोपको सामना गर्नु परेको उनले गुनासो गरे ।

बागमती प्रदेशसभा सदस्य उत्तम जोशीले हरेक परिवर्तनमा आदिवासी जनजातिको त्याग र बलिदानले विशेष भूमिका खेलेको बताए । प्रजातन्त्रदेखि लोकतन्त्र हुँदै गणतन्त्र ल्याउने बेलासम्ममा आदिवासी जनजाति समुदायको अहम् भूमिका रहेको उनको भनाइ छ । तर, त्यसका लागि सबैभन्दा पहिले हरेक जातिले नेपाल भनेर सम्झनुपर्ने उनले बताए । ‘पहिले नेपाल, त्यसपछि नेपाली । नेपालीपछि बल्ल क्षेत्री, बाहुन, राई, लिम्बू आदि जातिको अस्तित्व देखिन्छ’, उनले भने, ‘त्यसैले सबैभन्दा पहिले हामी सबै नेपाली हौँ । र, नेपाल भएकै कारण नेपाली भएको हो भन्ने कुरा बिर्सन हुँदैन ।’

भरतपुर महानगरपालिका वडा नं-१० का अध्यक्ष परमेश्वर खनालले लिम्बू जातिमात्र नभई समग्र नेपालका आदिवासी जनजाति समुदाय सांस्कृतिकरुपमा धनी समुदाय भएकोले संस्कार र संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं १ का पूर्वप्रमुख प्राडा तुम्बाहाङले पूर्वमा लिम्बू जातिको एकताको बाँध ज्यादै बलियो रहेको दाबी गरे । पहिचान र इतिहास मेटाउन विभिन्न खालका चेष्टा गरिए पनि त्यहाँका आदिवासी जनजाति समुदायको एकताकै कारण अहिलेसम्म जोगाउन सफल भएको उनले बताए ।

आइतबार उद्घाटन सत्रमा कियाचुलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा उत्कृष्ट जिल्लालाई सम्मानसमेत गरिएको थियो । संस्थाप्रति योगदान दिने व्यक्तिहरुको भूमिकालाई मूल्याङ्कन गरेर सम्मान गरिएको कियाचुको संघीय अध्यक्ष प्रेम एक्तेन लिम्बूले जानकारी दिए ।

लिम्बू जातिको मुख्य बसोवास नेपालको पूर्वी क्षेत्रमा पर्छ । सीमापारि भारतको दार्जिलिङ, सिक्किम, कालेम्पोङसम्म यो जातिको बसोवास फैलिएको छ । संघीय संरचनाअनुसार नेपालमा भने हालको प्रदेश नं-१ नै लिम्बू जातिको मुख्य बसोवास रहेको प्रदेश हो । त्यसैले, उनीहरुले प्रदेश नं १ को नामकरण पनि लिम्बू र राई जातिको पहिचानसँग जोडिने गरी राख्नुपर्ने माग गर्दै आइरहेका छन् ।

पूर्वमा जस्तो पश्चिम क्षेत्रमा लागेपछि लिम्बूको बसोवास नगन्य छ । चितवन जिल्ला देशकै मुख्य भाग मानिए पनि लिम्बूको संख्या ज्यादै न्यून छ । बसोवासका हिसाबले विसं २००८ साल ताकादेखि नै चितवनमा लिम्बूको बसोवास सुरू भएको किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति चितवनको दाबी छ । तर, अहिलेसम्म एक हजारको हाराहारीमा मात्रै जनसंख्या रहेको चुम्लुङको अनुमान छ । @echitwanpost.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार