आज ग्याल्पो ल्होछार तथा अन्तर्राष्ट्रिय मातृभाषा दिवस


सेवारो खबर  200 पटक हेरिएको

ल्हो अर्थात् वर्ष अनि छार अर्थात् नयाँ, यो ग्याल्पो ल्होसारलाई हर्षका साथ स्वागत गरौँ । हुन त यो ग्याल्पो ल्होसार कुनै समुदाय विशेषसँग मात्र सम्बन्धित चाड त हैन, एउटा साझा उत्सर्गको साटासाट हो आज।

नयाँ वर्ष २१ ५० क्षु-फो-ताक्लोको उपलक्ष्यमा सम्पूणर् दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दछौ ।
यस वर्षको ग्याल्पो ल्होसारको सबैलाई शुभकामना दिएर सुरु गर्न चाह्यौ आज ।

बाह्र वटा वर्षहरू
ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ ।

पानी खरायोको वर्ष
मुसाबाट सुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ । यो वर्षचाँही पानी खरायोको वर्ष हो ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ-आफ्नो घर रङ्गाउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्ट मङ्गलका चिन्हहरूले घर सजाउने गर्दछन् ।

तिन प्रकारका ल्होसारहरू मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायको यो एउटा साझा ल्होसार हो ।
खाप्से र गुथुकु
आजको ल्होसारको सबैभन्दा महत्त्वपूणर् कुरा भने खाप्से हो । मैदाको पिठोबाट बनाइएको एक प्रकारको यो मिठाई आजको दिन विशेष परिकार हो, खाप्से खान नभुल्नु होला नि । हिमाली हावापानीको कुशल आङ्कलन गरेर आजका दिन उम्रिने गरी गहुँको बिउँ छरिएको हुन्छ, जसलाई लोपूलु भनिन्छ, यसरी उम्रिएको गहुँको टुसालाई आज नयाँ वर्षको नयाँ वाली का रूपमा लिइन्छ । यस वर्षभरि हिमालको हावापानीले हाम्रा हिमाली दाजुभाइ अनि दिदीबहिनी लाई साथ दिनेछन्, यी लोपूलहरुले सबैको कल्याण गरुन् ।

ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएको हुन्छ त्यसलाई गुथुकु भनिन्छ । यो परिकारलाई आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेर पकाइएको हुन्छ । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्‍यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रापर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरू सफल हुने मान्यता शेर्पा समुदायमा रहेको छ ।

आँगन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरूमा भएका पुराना ध्वजाहरूलाई आज परिवर्तन गरिन्छ । हिमालका हावाहरूले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरूलाई हल्लाउँदा एउटा अदभूत सङ्गीत भर्दछ । यी झन्डाहरूले संसार भरी शान्तिको एउटा अद्वितीय कामना अभिव्यक्त गर्दछन् । यस्ता झन्डाहरूका बारेमा केही थप जानकारी प्रस्तुत गर्‍यौँ । लामो लट्ठी या आडमा राखिएका एकनासको तलदेखि माथीसम्मको एउटै झन्डालाई दार्चोर भनिन्छ । अनि लामो डोरीहरूमा ससाना चारकुने झुन्डाइएका झन्डाहरूलाई भने लगंता भनिन्छ, तिब्बतीय भाषामा यसको अर्थ हवाई घोडा हो ।
लगंता घरघरमा टाँगने प्रचलन सुरु भएको किंवदन्ती
एक किंवदन्ती अनुसार भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरूबिच लडाइँ भइरहेको थियो । तर लडाँईमा देवताहरू असुर सँग पराजित हुन्छन् । त्यही बेला भगवान् बुद्धले ल्हयी ओङ्बु ग्याचेन भगवान इन्द्रु का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात् ग्याल्जेन चेमु दिन्छन् । त्यही मन्त्रको प्रभावले देवताहरूले असुरहरूलाई पराजित गर्छन् । यस विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगंता घरघरमा टाँगने प्रचलन सुरु भएको मानिन्छ ।

ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो । आज नयाँ लुगा लगाउने र पानीका मुहानहरूमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ । पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवताकलाई चढाउने गरिन्छ । साथै यस अवसरमा मिठो मसिना खानेकुराहरू खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपाल सहित चीन, मङ्गोलिया, बर्मा सिक्किम, भुटान लगायतका देशमा पनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्व भएकाले आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

खाप्सेको स्वाद झैँ गज्जब अनि ध्वजाहरूजस्तै शान्त र रङ्गिन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष बास गरोस्, ग्याल्पो ल्होसारको शुभकामना ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस

पृष्ठभूमि
हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बङ्गलादेश) मा बङ्गाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरू मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बङ्गलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरूको विविधतालाई स्वीकार गरी बहु भाषा र बहु संस्कृतिलाई संरक्षण प्रदान गरिएको छ । मातृभाषाकै संरक्षणका लागि जागरण स्वरूप संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्ष रूपमा मनाइएको थियो ।
वर्ष २०२३ को मातृभाषा दिवसको नारा चाहिँ  ‘multilingual education – a necessity to transform education’ हो । बहुभाषिक शिक्षाको महत्त्वलाई उजागर गर्दै शिक्षाको रुपान्तरणमा भाषाको भूमिकालाई वर्ष २०२३ मा विशेष ध्यान दिइएको पाइन्छ ।

नेपालमा बोलिने भाषाहरू
नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको छ । भाषा आयोगको प्रतिवेदन अनुसार २०७६/७७ अनुसार थप दुई भाषा नयाँ थपिएसँगै नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १३१ पुगेको हो । हाल नयाँ थपिएका भाषामा मारेक(याक्खा) र नावा शर्पा रहेका छन् ।

यसअघि भाषा आयोगको २०७५/७६ को अध्ययन प्रतिवेदन अनुसार ६ वटा भाषा थपिएका थिए । राना थारु(कञ्चनपुर), नार फु (मनाङ), चुम (स्यार) गोरखा, पाइके(डोल्पा), सेराके(सेके) (मुस्ताङ), नुब्री, लार्के रगरी ६ भाषा थपिएका थिए ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ वटा थियो । त्यो सङ्ख्या बढेर अहिले १३१ पुगेको हो ।

सबै भाषाको रक्षा र संवर्द्धनमा सरोकारवालाको ध्यान पुगोस्, अर्थपूर्ण शुभकामना ।@hamropatro.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार