गएको फागुन ७ गते आइतबार दिनको २ः३० वजे । मानव अधिकार मञ्च नेपाल इलामको सभाहल पुुग्दा सुनसान थियो । हलभित्र प्रजातन्त्र दिवस र मानव अधिकार विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लेखिएको व्यानर । अगाडि टेबलसँग नमिलाइएका कुर्सीहरू एक्लै थिए ।
हलमा पुुग्दा कसैले कार्यपत्र वा छलफल पत्र प्रस्तुत गर्छन् । त्यसपछि कार्यपत्र वा छलफल पत्रमा समेट्न नसकिएको विषय राख्ने । बहस गर्ने । छलफल पत्रमा थप गर्न लगाउँने । र कार्यपत्रको विषयमा आफूूले देखेको जानेको समसामयिक विषयमा बोल्नु पर्ने । जो कोहीको मनमा यो सोचाई आउँथ्यो । तर त्यसो भएन ।
गैर सरकारी संस्था महासंघ इलाम र मानव अधिकार मञ्च नेपाल इलामले अयोजना गरेको कार्यक्रम थियो । एकै छिनपछि आमन्त्रित अतिथि र सहभागीले हल भरियो । अतिथिका लावा लस्कर थिएनन् । स्वागतको कुनै पनि तामझाम देखिएन ।
मानव अधिकार मञ्चकी सूचना अधिकारी उर्मिला राईले छोटो औपचारिक कार्यक्रम थालिन । सभाध्यक्ष र केही अतिथिको नाम वाचन गर्दै सबैलाई आसनग्रहणको अनुरोध गर्दै, मञ्चको कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्मालाई अतिथिको स्वागत तथा कार्यक्रमको विषयमा प्रष्ट पार्न लगाइन् । राष्ट्रिय गान, प्रजातन्त्र र मानव अधिकार प्राप्तिका लागि ज्यान आहुँति दिने सहीदको सम्झनामा मौन धारण गराइन् ।
विषयबस्तुमा आफ्नो कुरा राखिदिन क्रमशः बोलाइन् । कार्यक्रममा बरिष्ठ अधिबक्ता, प्रमुख जिल्ला अधिकारी, सरकारी कर्मचारी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनीधि, नेपाल पत्रकार महासंघ, सञ्चारकर्मीले विषयवस्तुु यसले पारेको प्रभाव, किन यस्तो भयो र अवस्थाको बारेमा क्रमैसँग आ-आफ्नो धारणा राखे र अब के गर्न सकिन्छ भन्ने विषयसम्म सुुझाए ।
करिब डेढ घण्टामा सम्पन्न कार्यक्रममा ‘प्रजातन्त्र र मानव अधिकारसँग सम्बन्धित उपलब्धीको रक्षा गर्दै अवसरमा बदल्नु पर्छ’ । यसका लागि सरोकारवालाले सर्वसाधारण नागरिकसम्म, नीति निमाणर्देखि व्यवाहारिक कार्यान्वयन गर्न आग्रह गर्दै कार्यक्रमका अध्यक्ष गैर सरकारी संस्थ महासँघ इलामका अध्यक्ष कमलप्रसाद नेपालले कार्यक्रम सकिएको घोषणा गरे ।
करिब ढेड घण्टा परम्परागत धारणा भन्दा फरक सहभागीको खुल्ला विचारले कार्यक्रमलाई नेतृत्व प्रदान गरेको थियो । छलफल तथा अन्तरक्रिया कार्यक्रमको नयाँ प्रयोग, विधि र निष्कर्ष निकाल्ने सीप सिकायो । हामीले पनि यस्तो प्रयोग गर्ने हो की ?