‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न

प्रदेश नम्बर १ मा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग


सेवारो खबर  90 पटक हेरिएको

चितवनः किरात याक्थुङ चुम्लुङको ‘२४औं राष्ट्रिय चुम्लुङ २५ बुँदे प्रस्ताव पारित गर्दै चितवनको भरतपुरमा सम्पन्न भएको छ ।

चुुम्लुुङले प्रगति, आर्थिक प्रतिवेदनसँगै समसामयिक विषयका प्रस्ताव पारित गरेको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।

चुम्लङले प्रदेश नम्बर १ मा लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न निर्माण भएको मस्यौदा विधेयकलाई प्रदेश सरकारले अविलम्ब पारित र कार्यान्वयन गराउन विज्ञप्तीमा माग गरेको छ ।

संविधानले मातृभाषा शिक्षाको व्यवस्था गरे अनुसार सरकारले लिम्बु/याक्थुङ मातृभाषा शिक्षक दरबन्दीको अबिलम्ब व्यवस्था गर्न सरकारसँग चुम्लुङले माग गरेका विज्ञप्तीमा उल्लेख छ ।

नेपाली भाषा सो सरह मातृभाषामा अध्ययन अध्यापनका लागि पाठ्यक्रम, पाठ्यपुस्तक, पाठ्यसामग्री आदि स्रोत साधनको व्यवस्था गर्न, शिक्षा नियमावली परिमार्जन गरी लिम्बु/याक्थुङ आदिवासीका लागि पाठ्यक्रम पाठ्यपुस्तकमा एकरूपता ल्याउन समेत भनिएको छ ।

आदिवासी लिम्बु/याक्थुङहरूको पुख्र्यौली भूमिमा अवस्थित मुन्धुमी, सांस्कृतिक तथा आध्यात्मिक पवित्र स्थलहरुमाथि अतिक्रमण भएको, पूर्व सूचना र स्वीकृतिबिना ती स्थानहरुको नाम परिवर्तन गरिएका ेप्रति चुम्लुङले आपत्ति प्रकट गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्थामा याक्थुङहरूको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक स्थलका रूपमा रहेका समाधिस्थल, माङ्गेन्नायक, माङ्युक्ना, ऐतिहासिक स्थल, पवित्र स्थलहरूमाथि राज्य र गैह्रराज्यबाट भइरहेका अतिक्रमणलाई तुरुन्त रोक्न र संरक्षण गर्न यो राष्ट्रिय चुम्लुङ माग गर्दछ ।’

ऐतिहासिक पृष्ठभूमिको आधारमा अरूण-कोसीपूर्व मेचीसम्मको भू-भाग लिम्बुवान नामांकन हुनुपर्ने पूर्व अडान तथा निणर्य कायम राख्दै वर्तमान प्रदेश नं. १ को वस्तुस्थिति अनुसार पहिचान जनित ‘लिम्बुवान, किरात’ नाम तत्काल राख्न माग गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै बागमती प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ पुनस्थापना गरिनु पर्ने पनि चुम्लुङको माग छ ।

आदिवासी/जनजाति तथा स्थानीय समुदाय र धार्मिक सम्प्रदायप्रति अन्याय भएको उल्लेख गर्दै ‘भारतीय हिन्दू सन्त मोरारी बापुले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रामकथा वाचन कार्यक्रम गरी बौद्ध धर्ममा गरेको धार्मिक हस्तक्षेत्र प्रति यो राष्ट्रिय चुम्लुङ विरोध गर्दछ,’ महासचिव निरन्ती तुम्बापोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘शंखारापुर नगरपालिकाको बोझेनीमा तामाङ आदिवासीलाई उठिबास गरेर विद्युत सबस्टेसन निर्माण गर्न लागिएको विरुद्धमा तामाङ आदिवासीहरूले गरिरहेका आन्दोलनप्रति एक्यबद्धता जनाउँदै विकासका नाममा आदिवासी तामाङलाई आफ्नो भूमिबाट विस्थापित गर्ने कार्य नगर्न यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।’ यसका साथै टीकापुर घटनाको आरोपमा जेलजीवन बिताइरहेका रेशम चौधरीलाई रिहाइ गर्न पनि चुम्लुङले सरकारसँग माग गरेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार