इलामः महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूपान्तरण हुन नसकेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।
उनिहरूले ११३ औं अन्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित ‘महिला अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषायक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै महिला अधिकारको नीतिगत व्यवस्था भएपनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको दुखेसो गरे ।
जिल्ला समन्वय समिति इलामको संयोजनमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले महिला अधिकारको बारेमा नीतिगत व्यवस्था भएपनि समाजमा रहेको मूल्य, मान्यता र सोचले कार्यान्वयनमा समस्या देखिएको बताए ।
प्रमुुख राईले नीति निर्माण गर्दा सामाजिक सांस्कृतिक व्यवहारलाई समेत ध्यान दिनु पर्नेमा जोड दिदै महिलाले अधिकार पाउँनु भनेको पुरूष विरूद्व नभएको जानकारी गराए ।
कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख बिष्णुु दाहालले महिलाहरूको सवालमा कानुनहरू निर्माण भएपनि प्रभावकारी कार्यान्वयनमा समस्या भएको बताइन् । उनले महिला हिंसाको घटना नघटेको बताउँदै, पीडकलाई कानुनी कारबाहिका सवालमा प्रभावकारी कार्यान्वयन नभएको गुनासो गरिन् ।
नेपाली कांग्रेसकी निर्मला सञ्जेलले पितृसतात्मक संस्कारले नै महिलाहरू पछाडि पर्नुपरेको बताइन् । उनले पुरूष र महिलामा समानता कसरी कसले ल्याउँछ भन्ने प्रश्न गर्दै प्रत्येक व्यक्तिको सोचमा परिवर्तन हुनु पर्नेमा जोड दिइन् ।
माओवादी केन्द्रकी बुुद्वमाया सोङ्मीले महिला अधिकार स्थापना गर्न महिला र पुरूष दुबै मिलेर सहकार्यले मात्र हुँने बताइन् । उनले अधिकार कार्यान्वयनका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।
उच्च अदालत बार एसोसिएनका अध्यक्ष उत्तम पौडेलले महिला अधिकार राजनीतिक प्रतिनीधित्वले मात्र स्थापित नगर्ने बताए । उनले प्रत्येक व्यक्तिमा समानताको सोच हुनु पर्ने बताउँदै अधिकार प्राप्तिका लागि एक्लै हिडेर नपुगिने बताउँदै पुरूषको पनि उत्तिकै जिम्मेवारी रहेकोमा जोड दिए ।
इलाम अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की सविता श्रेष्ठले हिंसामा पीडितको निशुल्क उपचार भएपनि लामो समयसम्म अस्पतालमा राख्ने ठाउँ नहुँदा समस्या हुने गरेको जानकारी गराइन् ।
उनले सरोकारवालाले हिंसा पीडितको उपचारसँगै सुरक्षित आवास गृह, सीप सिक्ने अवसरको समेत व्यवस्थापन हुँन सके समाजमा पुनस्थापना हुन सहज हुनेमा जोड दिइन् ।
मावन अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेले महिला तथा बालबालिकाको सवालमा स्थानीय सरकारले प्रभावकारी रूपमा काम गर्नुु पर्नेमा जोड दिए । उनले अझै पनि स्थानीय सरकारले महिला तथा बालबालिकाको क्षेत्रमा सोचे अनुसार काम नर्न नसकेकोमा दुःख व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय महिला सेल, जिल्ला अस्पताल ओसिएमसी, उद्योग वाणिज्य संघ, अमेरिकन कर्नर र मानव अधिकार मञ्च नेपाल इलामले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य संघकी उपाध्य दिव्य भट्टराइले स्वागत गरेकी थिइन् ।
मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता विद्या सापकोटाले महिला अधिकारको अवस्था र सरोकारवालाहरूको भूमिका विषायक छलफल पत्र प्रस्तुत गरेकी गरिन ।